भोलिदेखि वास्तविक सुकुम्बासीकाे पहिचान गरी अपार्टमेन्टमा सारिने

भोलिदेखि वास्तविक सुकुम्बासीकाे पहिचान गरी अपार्टमेन्टमा सारिने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले बागमती नदी किनारका अनधिकृत बस्तीहरू हटाउने अभियान अन्तर्गत थापाथली क्षेत्रको बस्ती शनिबार शान्तिपूर्ण रूपमा खाली गराएको छ । लामो समयदेखि विवादित रहँदै आएको यस क्षेत्रका बासिन्दाहरूले सरकारको कदमलाई सहयोग गरेपछि कुनै अवरोध बिना सौहार्दपूर्ण वातावरणमा बस्ती खाली गरिएको हो।

प्राधिकरणको तथ्याङ्क अनुसार काठमाडौँका विभिन्न स्थानमा कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्। जसमा शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ घरधुरी सूचीकृत छन्। अभियानको पहिलो चरणमा थापाथलीका ६८ परिवार हालसम्म सरकारको सम्पर्कमा आइसकेका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ।

सम्पर्कमा आएका परिवारहरूलाई तत्कालका लागि दशरथ रंगशाला पुर्‍याइएको छ। त्यहाँ उनीहरूको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। विवरण सङ्कलनपश्चात् उनीहरूलाई काठमाडौँका विभिन्न होटलहरूमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।

होटलमा राखिएका व्यक्तिहरूमध्ये को ‘वास्तविक सुकुम्बासी’ हुन् र को होइनन् भन्ने छुट्याउन भोलिदेखि नै विशेष छानबिन सुरु गरिने प्राधिकरणले उल्लेख गरेको छ।

छानबिनका क्रममा वास्तविक सुकुम्बासी ठहरिएका परिवारहरूलाई आगामी दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ। अपार्टमेन्टमा सारिएसँगै उनीहरूको जीवनयापनका लागि आवश्यक अन्य दीर्घकालीन व्यवस्थापनका कार्यहरू पनि तत्कालै अगाडि बढाइने सरकारको तयारी छ।

Skip This
Skip This
Logo