बागलुङ। बागलुङको रेशगाउँमा वडाध्यक्ष प्रेम लामिछानेको पहलले गाउँको पहिचान नै बदलिएको छ। बसाइँसराइका कारण बाँझो बन्दै गएको जमिनलाई उपयोगमा ल्याउन उनले सुरु गरेको चियाखेती अहिले गाउँको मुख्य आयआर्जनको माध्यम बनेको छ। काठेखोला गाउँपालिका–७ स्थित रेशगाउँमा सात वर्षअघि परीक्षणका रूपमा सुरु गरिएको चियाखेती विस्तार हुँदै अहिले सयौँ रोपनी जमिनमा फैलिएको छ।
विसं २०७६ मा ताराखोला गाउँपालिकाबाट करिब ३० हजार चियाका बिरुवा ल्याएर जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जमिनमा रोपिएको थियो। सुरुमा धेरैले यसको सम्भावनामा विश्वास नगरे पनि विस्तारै उत्पादन बढ्दै गएपछि स्थानीयमा उत्साह थपिएको छ। अहिले गाउँका करिब २८० परिवार चियाखेतीमा आबद्ध भएका छन् भने टिङरिङ, बौर र फलायडाँडालगायत क्षेत्रमा करिब ३०० रोपनी जमिनमा चिया लगाइएको छ।
चियाखेतीले गाउँमा बसाइँसराइ रोक्न सहयोग पुर्याएको छ भने आर्थिक गतिविधि पनि चलायमान बनाएको छ। वर्षमा नौ महिना चिया टिप्न सकिने र प्रतिकिलो करिब दुई हजार रुपैयाँमा बिक्री हुने गरेको छ। यस वर्ष करिब २० लाख रुपैयाँ बराबरको चिया बिक्री हुने अपेक्षा गरिएको छ। बागलुङ, पोखरा र काठमाडौँसम्म यहाँको चिया पुग्ने गरेको छ।
यद्यपि, उत्पादन बढे पनि प्रशोधन गर्ने मेसिनको अभावले केही समस्या रहेको सहकारीले जनाएको छ। रेश साना किसान सहकारी संस्थामार्फत सुरु गरिएको यस अभियानले अहिले गाउँलाई ‘चिया गाउँ’का रूपमा चिनाउन सफल भएको छ। स्थानीयको सक्रियता र नेतृत्वको योजनाले बाँझो जमिनलाई उत्पादनशील बनाउँदै गाउँको भविष्यप्रति नयाँ आशा जगाएको छ।





























प्रतिक्रिया