लगत संकलनमा आलोचना बढेपछि नेपाली सेनाले दियो स्पष्टीकरण

लगत संकलनमा आलोचना बढेपछि नेपाली सेनाले दियो स्पष्टीकरण

केन्द्रबिन्दु
156
Shares

काठमाडौं । विभिन्न सुकुम्वासी बस्तीहरूमा विवरण संकलन गर्न थालेकाे सामाजिक सञ्जालमा विभिन्न आशंका चुलिएपछि नेपाली सेना बाेलेकाे छ ।

जंगी अड्डाले जारी गरेको विज्ञप्तिअनुसार सुकुम्बासीको विवरण माग गरिनुको मुख्य उद्देश्य उनीहरूलाई विस्थापित गर्नु नभई आसन्न मनसुन र वर्षातका समयमा हुन सक्ने विपद्को पूर्वतयारी भएको उल्लेख छ। सेनाले विगतका वर्षहरूमा वर्षातको समयमा आउने बाढी, पहिरो, डुबान र नदी कटानका कारण ठूलो मानवीय र भौतिक क्षति हुने गरेको सन्दर्भमा यस वर्ष उच्च जोखिममा रहेका बस्तीहरूको पहिचान गर्न लागिएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “विपद्का घटनाहरूमा सुरक्षा फौज तुरुन्त तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउनका लागि सम्भावित जोखिम नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गरिएको हो।” सेनाले आफ्ना स्थानीय युनिटहरूले जिम्मेवारी क्षेत्रभित्र पर्ने जोखिमयुक्त ठाउँहरूको विवरण मात्र संकलन गरेको दाबी गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा सेनाको यो कदमलाई लिएर नकारात्मक टिप्पणीहरू बढ्न थालेपछि जंगी अड्डाले यसलाई ‘नियमित सुरक्षा पूर्वतयारी’ को संज्ञा दिएको छ । सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय क्षति न्यूनीकरण गर्नका लागि मात्र यो कार्य गरिएको भन्दै सेनाले भ्रममा नपर्न समेत आग्रह गरेको छ।

विज्ञप्तिमा स्पष्ट पारिए अनुसार, विपद्को समयमा कुन क्षेत्रमा कति जनशक्ति र स्रोतसाधन परिचालन गर्नुपर्ने भन्ने पूर्वजानकारी राख्नका लागि यस्तो तथ्याङ्क अनिवार्य हुने सेनाको तर्क छ। सेनाले सुकुम्बासी बस्तीको हकमा मात्र नभई अन्य जोखिमपूर्ण क्षेत्रको पनि अध्ययन र तथ्याङ्क संकलन गरिरहेको जनाएको छ।

Logo