काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक एवं सरकारी जग्गाहरूमा गरिएका अनधिकृत अतिक्रमण हटाउन कडा निर्देशन दिएको छ । नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै नदी कोरिडोर तथा सार्वजनिक जग्गामा निर्माण भएका भौतिक संरचनाहरू १५ दिनभित्र हटाउन भनेको हो।
नगरकार्यपालिकाको बुधबारकाे निर्णयानुसार जारी गरिएको यस सूचनामा अनधिकृत रूपमा अतिक्रमण गरी निर्माण भएका निजी उपभोगका संरचनाहरू स्वयं व्यक्ति वा संस्थाले नै हटाउनुपर्ने उल्लेख छ । तोकिएको १५ दिनको समयसीमाभित्र यस्ता संरचनाहरू नहटाएमा प्रचलित कानुन बमोजिम नगरपालिका आफैँले हटाउने र त्यसको प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईद्वारा हस्ताक्षरित सूचनामा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणमा सहयोग गरिदिनुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिएको छ । नगरपालिकाले “कला संस्कृति युक्त, स्वच्छ समुन्नत टोखा नगर” को अवधारणालाई साकार पार्न सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ।































प्रतिक्रिया