काठमडौं । मधेशमा सरकार कांग्रेस- एमाले-नेकपा गठबन्धन भएको केही दिनमै खटपट सुरु भएको छ । आइतबार अपराहन्न सरकार विस्तारको तयारी थियो । शपथ ग्रहण गर्न नेकपा एमालेबाट मन्त्री बन्ने तीन सम्भावित प्रदेश सांसद पनि मुख्यमन्त्री कार्यालयमा आइपुगेका थिए ।
एमालेले तीनजना मन्त्रीको नामसमेत दिइसकेको छ । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच्किदा सरकार विस्तार नै रोकिएको छ । अबेर साँझ मन्त्रीको शपथ लिन आएका प्रदेश सांसदहरु निराश भई रित्तै फर्किएका छन् ।
एमालेबाट मन्त्री बन्ने सम्भावित लिस्टमा प्रदेश सांसदहरु सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास आएका थिए । उनीसँगै गत बिहीबार विनाविभागीय मन्त्रीको शपथ लिएका मोहमम्मद समिर पनि आएका थिए ।
‘हामीलाई शपथ खान भनेर चार बजे नै बोलाएको थियो । हामी आएर मुख्यमन्त्री कार्यालयमा बसिरह्यौं । तर, नेकपाका नेता नै आएन । बाटो कुर्दाकुर्दा आज अबेर साँझ हामी फर्कियौं’, शपथ लिन आएका एक प्रदेश सांसदले सुनाए ।
एक प्रदेश सांसदका अनुसार तीन दलीय सत्ता गठबन्धन बन्दा नौं बुँदे सहमति भएको थियो । तर, त्यो सहमति पत्रमा हस्ताक्षर भने भएको छैन । नौं बुँदे सहमति पत्रमा हस्ताक्षर र कार्यान्वयनका बुँदामै मतभेद भएको छ । नेकपा उक्त सहमतिमा हस्ताक्षर र कार्यान्वयन पहिलो सर्त राखेको छ ।
सहमतिमा आगामी बजेट एक करोडभन्दा कमको नबनाउने, खुल्ला प्रतिस्पर्धामार्फत योजना कार्यान्वयन गर्ने, भौतिक पूर्वाधार तर्फ कम र शिक्षा, स्वास्थ्य र कृषि तर्फ बढी बजेट विनियोजन गर्ने, सुशासनमा जोड दिने लगायतको नौं बुँदे सहमति छ । तर त्यसमा हस्ताक्षर गर्न र कार्यान्वयन गर्न काँग्रेस र एमाले तयार नरहेको ती सांसदको दाबी छ ।





























प्रतिक्रिया