काठमाडौं । महोत्तरीमा अव्यवस्थित बसोबास खाली गराउन सूचनाका निम्ति परिचालित गाडी जलाइएको छ । सोमबार (जेठ ११) राति डिभिजन वन कार्यालय महोत्तरीको गाडी जलाइएको हो ।
महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार, सोमबार दिउँसो वन कार्यालयको टोली बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको थियो । त्यसपछि स्थानीयले राति बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।
बाटोको अवरुद्ध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले मंगलबार (जेठ १२) बिहान २ बजेसम्म घेराबन्दी गरेका थिए । सोहीक्रममा वन कार्यालयको गाडी जलाइएको डीएसपी भट्टले बताए ।
“रुख ढालेर, बाटो ब्लक गरेको थियो । हामी छलफलको लागि जाँदा झडपको स्थित भयो,” उनले बाह्रखरीसित भने, “जति प्रयास गर्दा पनि स्थानीय मानेका थिएनन् । राति २ बजेतिर दुई सेल अश्रुग्यास प्रहार गरेर अवरुद्ध खुलायौँ । अहिले समन्वय भइरहेको छ । सडक अवरुद्ध खुलेको छ ।”
डिभिजन वन कार्यालयका अनुसार, राजावास, कालापानी, वरडाँडालगायत क्षेत्रमा करिब एक हजार १०० हेक्टर वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण तथा खेतीपाती गरिँदै आएको छ । वन कार्यालयले उक्त क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
मंगलबार फेरि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा काठका मुढा राखेर बीपी राजमार्ग अवरुद्ध गरेका छन् । धर्ना जारी राखेका छन् । सरकारले लामो समयदेखि स्थानीयको माग बेवास्ता गरेपछि आफूहरू सडक आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् ।





























प्रतिक्रिया