काठमाडौं । इटलीको उत्तरपूर्वी सहर ट्रिएस्टेको सेन्ट्रल रेल स्टेसनछेउको पार्कमा हरेक साँझ कम्तीमा १० नेपाली लिनिया दोम्ब्रा ओडीभी एसोसिएसनको मद्दत खोज्दै पुग्छन्। लिनिया स्थानीय गैरसरकारी संस्था हो।
जसले ट्रिएस्टे सेन्ट्रलको सडकमा बास लिन पुगेका नेपालीसहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य जाँच, खाना र लत्ताकपडा उपलब्ध गराउँदै आएको छ। ‘हरेक साँझ कम्तीमा १० नेपाली खाना र लत्ताकपडा खोज्दै आउँछन्,’ एसोसिएसनकी संस्थापक लोरेना फोर्नसरले कान्तिपुरलाई भनिन्, ‘यहाँको कमजोर प्रशासनका कारण आश्रय पाउनेहरूमध्ये नेपाली अन्तिममा पर्छन्।’
उनका अनुसार पछिल्लो वर्षमा ट्रिएस्टे स्टेसनको अगाडिको चोकमा नेपालीको दैनिक उपस्थिति उल्लेखनीय रूपमा बढिरहेको छ। त्यसरी खाना खोज्दै आउने नेपालीले इटली प्रशासनबाट आश्रय नपाएसम्म सडकमा नै बस्नुपर्छ। यो पार्कमा सयभन्दा बढी नेपाली अलपत्र छन्। यो संख्या नियमित जस्तै भइसकेको छ। यी नेपाली पश्चिम बाल्कन मार्ग हुँदै ट्रिएस्टे सेन्ट्रल स्टेसन आइपुगेका हुन्।
इटली–स्लोभेनियाको सीमा नजिकको ट्रिएस्टे बाल्कन मार्गबाट इटली प्रवेश गर्ने प्रमुख नाकामध्ये एक मानिन्छ। ट्रिएस्टेको पार्क संसारभरका आप्रवासी आइपुग्ने ठाउँ हो । यहाँ आइपुगेर लिनियाको सम्पर्कमा पुगेका नेपालीले खाना र कम्बल (कसै–कसैले टेन्ट) त जसोतसो पाउँछन्। त्यसैको भरमा सडक, पार्क र पुरानो बन्दरगाहको जीर्ण भवनमा उनीहरू महिनौंसम्म चिसो भुइँमा रात बिताउने गरेका छन्।
‘हामी पुरानो भवनभित्र टेन्ट लगाएर बसिरहेका छौं। दुई जना महिला छौं। बाँकी पुरुष छन्। यो भुइँमा सुत्दा धेरै पटक आँसु आयो। रोएँ पनि। तर फेरि आफैंलाई सम्झाएँ। यो मैले आफैं रोजेर आएको बाटो हो, सहनैपर्छ,’ संखुवासभाकी सीता राईले भनिन् ।
‘इटलीको हावापानी पनि साह्रै कठिन रहेछ । पानी पर्दा भवन चुहिन्छ भुइँभरि माटो नै माटो छ। हिलो हुन्छ। छाता ओढेर बस्नुपर्छ। कहिले त प्लास्टिकले पनि छेक्न सक्दैन। छोरी मान्छेलाई त झन् धेरै गाह्रो छ। राम्रोसँग शौचालय जाने ठाउँ छैन। नुहाउने ठाउँ छैन। न सुरक्षित रूपमा बस्ने वातावरण नै छ,उनले भनिन् ।’





























प्रतिक्रिया