सरकारी निकायको खरीद ढिलाईले देशभर रेबिज खोपको अभाव

सरकारी निकायको खरीद ढिलाईले देशभर रेबिज खोपको अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारी निकायको खरीद ढिलाईले देशभर रेबिज खोपको अभाव भएको छ । प्राणघातक यस्तो रोगबाट नागरिकलाई बचाउन सरकारले हरेक वर्ष करिब ३ लाख खोप खरिद गरेर सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो। तर जेन–जी आन्दोलनपछि सरकारले खोप खरिद प्रक्रिया टुंग्याउन नसक्दा देशैभर सरकारी स्वास्थ्य संस्थामा खोपको चरम अभाव छ।

निजीमा खोप त पाइन्छ तर चर्को मूल्य तिर्नुपर्छ। निजीमा खर्च गर्न नसक्नेले खोपका लागि टाढासम्म धाउनुपर्ने बाध्यता छ। काभ्रेपलाञ्चोक नालाकी ५५ वर्षीया गायत्री पाण्डे बुधबार झन्डै ३५ किलोमिटर दूरी छिचोलेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो– रेबिजविरुद्धको खोप लगाउनु।

पाण्डेलाई एक साताअघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिजविरुद्धको खोप लगाउन सुरुमा नजिकैको शिर मेमोरियल अस्पतालमा पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेलस्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा एक हजार रुपैयाँ तिरेर एक डोज खोप लगाइन्।

रेबिजविरुद्धको खोप २८ दिनभित्र चार पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक एक हजार रुपैयाँ तिर्दा जम्मा चार हजार रुपैयाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निःशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन्। ‘दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिएँ तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाएँ,’ टेकुमा भेटिएकी उनले सुनाइन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरूका अनुसार टेकुमा हरेक दिन कुकुरले टोकेका ५ सयभन्दा बढी मानिस खोपका लागि आउने गरेका छन्। अस्पतालका अनुसार सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवालगायत जिल्लाबाट समेत मानिस आउन थालेपछि यो संख्या झनै बढेको छ।

‘कुकुरले टोके या त निजी फार्मेसीमा पैसा तिरेर खोप लगाउनुपर्ने वा हाम्रो अस्पताल नै आउनुपर्ने अवस्था छ,’ शुक्रराज अस्पतालका वरिष्ठ अहेव शंकर पाण्डेले भने, ‘हामीसँग पनि अब केही सय डोज मात्र बाँकी छन्, त्यसले धेरै दिन थेग्दैन।’

वरिष्ठ अहेव पाण्डेले निजीमा खर्च गर्न नसक्ने र टेकु धाउन नसक्नेहरू जोखिम मोलेर बसिरहेको हुन सक्ने बताउँछन्। उनले भने, ‘खोप अभावका कारण रेबिजबाट हुने मृत्युदर बढ्न सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप उपलब्ध गराउन नसकेपछि टेकु अस्पतालले तत्काल खोप उपलब्ध गराउन आग्रह गर्दै बुधबार काठमाडौं महानगरपालिकालाई पत्र लेखेको थियो। यसअघि अस्पतालले गण्डकी प्रदेश सरकारसँग खोप मागेको थियो। गण्डकी सरकारले एक हजार डोज खोप उपलब्ध गराउने वाचा गरेको वरिष्ठ अहेव पाण्डेले जानकारी दिए। एक साताअघि बागमती प्रदेश सरकारले दिएको एक हजार डोज दुई दिनमै सकिएको उनले बताए। ‘अस्पताल विकास समितिमार्फत खरिद गरिएको दुई हजार डोज पनि सकिइसकेको छ। तत्काल आपूर्ति नभए कुकुरले टोकेका व्यक्तिहरू खोपबाट वञ्चित हुनेछन्,’ उनले भने।

टेकु अस्पतालले रेबिज खोपको सेवा चौबिसै घण्टा उपलब्ध गराउँथ्यो तर अभाव बढ्दै गएपछि खोपको दोस्रो मात्रा आकस्मिक कक्षबाट दिन बन्द गरिएको छ। त्यस्ता व्यक्तिलाई ओपीडीको समयमा मात्रै दोस्रो डोज लगाउन भनिएको छ।

संघीय सरकारले खोप उपलब्ध गराउन नसकेपछि एक महिनाअघि बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सात हजार डोज खोप खरिद गरेको थियो। केन्द्रका सूचना अधिकारी नेल्सन महतले केन्द्रमा पनि खोप सकिन लागेको बताए। ‘हामीसँग रेबिज खोप अत्यन्त न्यून मौज्दात छ। अस्पतालहरूले एक हजार डोज माग्छन् तर हामी ३०/४० मात्रै पठाउन सक्छौं, दैनिक दर्जनौं फोन आउँछ,’ उनले भने।

देशभरका स्वास्थ्य संस्थामा रेबिज खोप आपूर्ति गर्ने जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हो। तर महाशाखाले यो आर्थिक वर्षमा खोप खरिद गर्नै सकेको छैन । महाशाखाले खोप आपूर्ति गर्न नसक्ने भएपछि करिब दुई महिनाअघि प्रदेश सरकार र स्थानीय तहलाई आफैं खोप खरिद गर्न पत्राचार गरेको थियो । त्यसपछि बागमती र गण्डकी प्रदेश सरकारले खोप खरिद गरेका थिए।

महाशाखाका एक अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपाल कार्यालयसँग तत्काल खोप उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। ‘डब्लूएचओले ४ हजार ५ सय डोज उपलब्ध गराउने भनेको छ,’ उनले भने, ‘त्यतिले पनि धेरै दिन धान्दैन।’ रेबिज खोपको समस्या हुन थालेको गत मंसिरमै हो। तल बल्ल शुक्रबार (२९ जेठ) खोप खरिदका लागि टेन्डर आह्वान गरिँदै छ। त्यसपछि ठेकेदार छनोट हुन कम्तीमा एक महिना लाग्नेछ। छनोटमा परेका ठेकेदारले खोप ल्याउन फेरि केही समय लाग्नेछ। टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले खोप निःशुल्क नपाएसम्म धेरैले खोप नलगाउने जोखिम रहने बताए।

रेबिज संक्रमित जनावर, विशेष गरी कुकुर र स्यालको र्‍यालबाट सर्ने घातक रोग हो। नेपालमा हुने अधिकांश रेबिज रोगमा कुकुरको टोकाइ नै कारक देखिएको छ। डब्लूएचओले तय गरेको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने लक्ष्य राखेको छ।

डब्लूएचओका अनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष करिब ५९ हजार जनाको मृत्यु हुन्छ अर्थात् प्रत्येक ९ मिनेटमा एक जनाको ज्यान जाने गरेको छ। जसमा अधिकांश बालबालिका र गरिब समुदायका मानिस पर्छन्।

Logo