काठमाडौं । मेडिकल विज्ञानको सबैभन्दा महत्वपूर्ण लक्ष्यहरूमध्ये एक ‘रिभर्स एजिङ’ अर्थात् बुढ्यौली प्रक्रियालाई उल्ट्याउने प्रविधिको पहिलो मानव परीक्षण सुरु भएको छ ।
पहिलोपटक उमेरका कारण कोषिकामा आउने असरलाई उल्ट्याउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा प्रयोग गरिएको छ । अमेरिकाको बोस्टनस्थित बायोटेक स्टार्टअप ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिइएको बताएको छ । परीक्षणअन्तर्गत यो इन्जेक्सन जलविन्दुबाट पीडित बिरामीको एउटा आँखाभित्र लगाइएको बिजनेस इन्साइडरले जनाएको छ ।
यस ट्रायलको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोषिकाहरूलाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउनु रहेको बताइएको छ । आगामी ६ महिनासम्म वैज्ञानिकहरूले यसको प्रभावकारिता र सम्भावित दुष्प्रभावमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ ।
यसअघि यो प्रविधिको परीक्षण मुसा र बाँदरमा सफलतापूर्वक गरिएको थियो । यो प्रविधि मानव शरीरका लागि सुरक्षित छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न अब डाक्टर र वैज्ञानिकहरूले आगामी कयौँ महिनासम्म बिरामीको सूक्ष्म निगरानी गर्ने बताइएको छ ।
यस थेरापीअन्तर्गत सबैभन्दा पहिले बिरामीको आँखामा ‘सिंगल जीन थेरापी’ इन्जेक्सन दिइएको छ । त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधिको कोर्स गराइनेछ ।
यो एन्टिबायोटिकले शरीरभित्र पुगेर उपचारमा प्रयोग गरिएका तीनवटा जीनका लागि ‘अन स्विच’को रूपमा काम गर्छ, जसले कोषिकाहरूलाई पुनः प्रोग्राम गरेर युवा अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु गर्ने बताइएको छ । यसअघि मुसा र बाँदरमा गरिएको परीक्षणमा यस प्रविधिले उनीहरूको दृष्टि सुधार गर्न सकारात्मक परिणाम देखाएको थियो ।
यस थेरापीका लागि आँखालाई छानिनुको कारण शरीरका अन्य भागको तुलनामा यसलाई निगरानी गर्न र सम्भावित दुष्प्रभावको मूल्यांकन गर्न अपेक्षाकृत सजिलो र सुरक्षित मानिनु रहेको बताइएको छ ।
लाइफ बायोसाइन्सेजका प्रमुख कार्यकारी अधिकृत जेरी म्याकलिनले यो उपलब्धि उनीहरूको कम्पनी वा एजिङ बायोलोजीका लागि मात्र नभई समग्र मेडिकल विज्ञानकै लागि सम्भावित रूपमा एउटा ठूलो र परिवर्तनकारी क्षण भएको बताएका छन् ।
यदि, यो क्लिनिकल परीक्षण सफल भयो भने एजिङ थेरापीको क्षेत्रमा नयाँ युगको सुरुआत हुन सक्ने बताइएको छ । यसको दीर्घकालीन लक्ष्य शरीरका कोषिकाहरूलाई फेरि युवा र सक्रिय बनाउने तथा उमेरसँगै डीएनएको कार्यप्रणाली र जीन अभिव्यक्तिमा आउने परिवर्तनलाई सुधार गर्ने हो ।
यस प्रविधिमा अमेजनका संस्थापक जेफ बेजोस र ओपनएआईका स्याम अल्टम्यानसहित कयौँ ठूला लगानीकर्ताहरूले लगानी गरेका छन् । एली लिली र मर्कजस्ता औषधि उत्पादक कम्पनीहरूले पनि यस क्षेत्रमा आफ्नो लगानी र अनुसन्धान बढाइरहेका छन् । मानिसमा परीक्षण सुरु हुनुअघि यो अनुसन्धान मुसा र बाँदरमा मात्र सीमित थियो, जुन अब पहिलोपटक मानव परीक्षणको चरणमा प्रवेश गरेको छ ।





























प्रतिक्रिया