जाजरकोटका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

जाजरकोटका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । भेरी नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जाजरकोट शाखा र अकोराब कर्णाली प्रदेशको समन्वयमा स्थानीय महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।

भेरी नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो। तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले गरेका थिए।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा सञ्चार क्षेत्रमा महिला सहभागिता बढाउने, सञ्चार माध्यमको व्यवस्थापकीय पक्ष, नेतृत्व क्षमता विकास, लैङ्गिक संवेदनशील पत्रकारिता, समाचार लेखन, फोटो तथा भिडियो पत्रकारिता, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, सञ्चारमा महिलाको भूमिका, अनुसन्धानमूलक पत्रकारिता लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको दोस्रो दिन कर्णाली प्रदेश अकोराबका कोषाध्यक्ष बालकुमार शर्मा र गोर्खापत्र दैनिकका सहदेब बस्नेतले विकास पत्रकारीता र स्कृप्ट लेखन, भिडियो निर्माण, मिडिया एडिटिङ तथा सञ्चार सम्बन्धी विविध विषयमा सहजीकरण गरेकी थिइन् । तेस्रो दिन प्रशिक्षकहरूले आधारभूत तथा नवप्रवेशी पत्रकारितासम्बन्धी सीप विकासका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए।

त्यसैगरी चौथो दिन पत्रकारिताको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा प्रशिक्षक कल्पना शर्माले सहजीकरण गरेकी थिइन् । सहभागीहरूले पत्रकारिताको व्यावहारिक पक्ष, समाचार सम्पादन तथा पेशागत अनुभव आदानप्रदान गरेका थिए।
तालिमको अन्तिम दिन रिपोर्टिङ, समाचार लेखन, फिचर लेखन, समाचार सम्पादन, पत्रकारिताको आचारसंहिता तथा पेशागत मर्यादासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो पेशागत जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजकका अनुसार स्थानीय तहमा कार्यरत महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै पत्रकारितामा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। पाँच दिने तालिमलाई सहभागीहरूले उपयोगी र उपलब्धिमूलक भएको बताएका छन्। 

समापन कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसी, प्रमुख प्रशासकीय अधिकृत बिष्णुहरी बेल्बासेले तालिम निकै प्रभावकारी भएको र भविष्यमा पनि आवश्यक सहयोग गर्ने विषयमा जोड दिइन् ।

Logo