धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान धनकुटा नगरपालिका वडा नं. ४ स्कुलडाँडा नजिकै धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को२५प१७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको झुम्का स्थायी घर भई विगत केही वर्षदेखि धनकुटामा बसोबास गर्दै फर्निचर तथा मिस्त्री व्यवसाय गर्दै आएका ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी, अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नं. १ हिलेका २८ वर्षीय श्याम तामाङ घाइते भएका छन् । तामाङ धनकुटा जिल्ला अस्पतालको डायलाइसिस वार्डमा कार्यरत कर्मचारी हुन् । तामाङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
दुर्घटनापछि घटनास्थल नजिकै शारीरिक प्रशिक्षण (पीटी) गरिरहेको नेपाली सेनाको भिमदल गणको टोलीले तत्काल उद्धार गरी घाइतेलाई जिल्ला अस्पताल पुर्याएको थियो ।
दुर्घटनामा दुवै मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।





























प्रतिक्रिया