काठमाडौं । चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले प्रधानमन्त्री कार्यालयसँग जोडेर आफ्नो नाममा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारहरू पूर्णतः भ्रामक र कपोकल्पित रहेको भन्दै खण्डन गरेका छन् ।
विगत केही दिनदेखि कलाकार घिमिरेले प्रधानमन्त्री कार्यालयमा ‘ब्रम्हलुट गरेको’ र ‘सरकारी गाडीहरू दुरुपयोग गरेको’ भन्ने खालका समाचारहरू सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत आरोपको खण्डन गरेका हुन् । यस विषयमा गम्भीर ध्यानाकर्षण भएको र आवश्यक परे आफूमाथि छानबिन गर्न समेत चुनौती दिएका छन् ।
आफू कडा मिहिनेत र इमानदारिताका साथ कलाकारिता क्षेत्रमा टिकेको उल्लेख गर्दै घिमिरेले भनेका छन्, “म एउटा कलाकार हुँ, आफ्नो काम, पेशा व्यवसाय गरेर जीवनयापन गरिरहेको छु। म २०७० सालदेखि १५० सिसिको बजाज पल्सर मोटरसाइकल चढ्छु र आज पनि मेरो साधन त्यही हो। यो बाहेक मेरो कुनै अन्य सवारीसाधन छैन, म माथि छानबिन होस्।”
देशमा युवा नेतृत्व र सकारात्मक परिवर्तनको पक्षमा आफूले सधैँ निःस्वार्थ सहयोग गरेको भन्दै उनले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले यस्ता भ्रामक हल्ला फैलाइएको दाबी गरेका छन् । अरूलाई बदनाम गरेर कसैलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले भनेका छन्, “यसरी गलत प्रचार र बदनाम कसैले कसैको नगरोस्, सत्य तथ्य र खोज पत्रकारिता होस्।”
कलाकार पाँडे प्रधानमन्त्री बालेन शाहका नजिकका पात्र हुन् । शाह प्रधानमन्त्री बन्नु अघि काठमाडौं महानगरपालिकाका मेयर बन्दा नै पाँडेले सारथी बनेर सहयोग गरेका थिए ।





























प्रतिक्रिया