काठमाडौं । गत वर्ष २०८२ असारको अन्तिम साता तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने रसुवा-केरुङ मितेरी पुल चीनले बनाइदिने भएको छ। यसका लागि चीनले परराष्ट्र मन्त्रालयमार्फत पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पेस गरेको हो।
रसुवा-केरुङ मितेरी स्थायी पुल निर्माण गर्न चीनबाट परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव आएको पूर्वाधार विकास मन्त्रालयका सीडीई अमित श्रेष्ठले जानकारी दिए।‘सो प्रस्तावको अध्ययन गरेर कानुन मन्त्रालयको राय लिइसकिएको छ’, उनले भने, ‘त्यसमा केही सुधार गर्नुपर्ने देखिएको छ। उक्त विषय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गरिएको छ।’
पुलको नाम, ठाउँको नामलगायत केही प्राविधिक विषयमा सुधार गर्नुपर्ने देखिएकाले परियोजना कार्यान्वयन सम्झौता प्रस्तावमा सुधार गर्न अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको उनको भनाइ छ।
रसुवा-केरुङ मितेरी पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ। अहिले परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव मात्र आएकाले पुल कस्तो प्रकृतिको हुने भन्ने विषय डिजाइन स्वीकृत भएपछि मात्र भन्न सकिने उनले बताए।
बाढीका कारण अवरुद्ध रसुवा-केरुङ नाकालाई सडक यातायात मार्फत जोड्न चीनकै प्राविधि तथा आर्थिक सहयोगमा अस्थायी पुल ‘बेलिब्रिज) निर्माण भइ सञ्चालनमा आइसकेको छ। बेलिब्रिज गत पुसदेखि सञ्चालनमा आएको हो।
बाढीले सडक र पुलमा क्षति पुग्नु अघि यस नाकाबाट दैनिक सय वटा मालबहाक सवारी साधन सामान लिएर नेपाल भित्रिने र चीनतर्फ जाने गर्थे। सडकको भौगोलिक अवस्था र कम भारवान क्षमताको अस्थायी पुलका कारण हाल मालसामान ढुवानी ठूलो संख्याले घटेको छ।
रसुवागढी भन्सार प्रमुख राजेन्द्र ढुंगानाले यस नाका हुँदै दैनिक १० देखि १५ वटा मालवाहक सवारीसाधन मात्र ओहोरदोहोर गर्ने गरेको बताएका छन्। अहिले मानसरोवर जाने पर्यटकको संख्या बढ्नुका साथै साँघुरो बाटोका कारण मालवाहक गाडीहरू कम पास भइरहेको उनले जानकारी दिए।
बाढी अघि नेपाल र चीनबीच हुने ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाकाबाट हुने गरेको थियो। २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाका बन्द भएपछि रसुवागढी-केरुङ नाका नेपाल चीनबीचको प्रमुख व्यापारिक नाकामा परिणत भएको हो। त्यसैले पनि चीनले रसुवागढी-केरुङ जोड्ने स्थायी प्रकृतिको पुल निर्माण गर्न पहल थालेको हो।





























प्रतिक्रिया