बागमतीमा साढे ३ प्रतिशत रोपाइँ

बागमतीमा साढे ३ प्रतिशत रोपाइँ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पर्याप्त पानी नपरेकाले बागमती प्रदेशमा शुक्रबारसम्म साढे ३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार गत वर्ष यस अवधिमा १६ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ भएको थियो।

मन्त्रालयका अनुसार यो वर्ष सबैभन्दा धेरै काठमाडौंमा ४० प्रतिशत रोपाइँ भएको छ। वर्षा नभएकाले मकवानपुरमा एक प्रतिशत खेतमा पनि रोपाइँ हुन सकेको छैन। बागमती प्रदेशको अन्नको भण्डारका रूपमा चिनिएको चितवनमा १ दशमलव ३ प्रतिशत मात्र रोपाइँ सकिएको छ।

चितवनमा वर्षे धान खेती २८ हजार ६ सय ८० हेक्टरमा गरिन्छ। मन्त्रालयका अनुसार नुवाकोटमा ३, रामेछापमा २, सिन्धुपाल्चोकमा ५ प्रतिशत रोपाइँ सकिएको छ। काभ्रेमा १६, रसुवामा ८, ललितपुरमा १० र भक्तपुरमा ११ प्रतिशत रोपाइँ सकिएको छ। धादिङमा शून्य दशमलव ४१, दोलखामा ४ र सिन्धुलीमा ४ दशमलव २ प्रतिशत रोपाइँ भएको छ।

नेपालको कुल आवश्यकता करिब ७० लाख मेट्रिक टन धान रहेकाले अझै वार्षिक १० लाख मेट्रिक टन अपुग हुने देखिएको छ। पछिल्लो समय उपभोक्तामा मसिना र बासनादार चामलको मोह बढ्दा आयात समेत उल्लेख्य भइरहेको कृषि विभागको विश्लेषण छ। राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार (करिब ६७ प्रतिशत) धान खेतीमा आबद्ध छन्। कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत भूभागमा धान खेती हुने गरेको छ।

२०७६/७७ मा प्रतिहेक्टर ३.८० मेट्रिक टन रहेको उत्पादकत्व वृद्धि भई २०८१/८२ मा ४.१९ मेट्रिक टन पुगेको छ। पछिल्लो वर्ष १४ लाख २० हजार हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

कृषि गार्हस्थ्य उत्पादनमा धानको हिस्सा १३ प्रतिशत र कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत रहेको छ। वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको योगदान धानबालीले मात्रै मुलुकको अर्थतन्त्रमा पुर्‍याउँदै आएको छ।

Logo