काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिकाले १४ वटा विद्युतीय मोटर तथा साना होन्डा पम्पसेट जफत गरेको छ। तराई–मधेश क्षेत्रमा सुक्खा याममा देखिने खानेपानी तथा सिँचाइ अभावलाई दीर्घकालीन समाधान गर्न समुदायस्तरमा डिप बोरिङ जडान गर्ने सरकारको बजेटमै उल्लेख भए पनि नगरपालिका किसानप्रति अनुदार भएको टिप्पणी भइरहेको छ। नगरपालिकाले भने उपभोगका लागि साँझ–बिहान पिउने पानीकै समस्या हुन थालेपछि यस्तो निर्णय गर्नुपरेको तर्क गरेको छ।
कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सूचनाविपरीत बोरिङ प्रयोग गरेका कृषकहरूको जफत गरिएका मोटर र पम्पसेट लिन हिलाम्य हातखुट्टासहित आउन थालेपछि कतिपयलाई कागज गराएर फिर्ता गरिएको जानकारी दिइन्। नगरपालिकाले यसअघि अनुदानमा पम्पसेट र बोरिङ वितरण गरिरहेको बेला यस्तो निर्णय गर्नु केही अमिल्दो देखिए पनि खानेपानीको संकटका कारण बाध्य भएर यो कदम चाल्नुपरेको उनको भनाइ छ। ‘पिउने पानी नै नआउने भएपछि खेतका लागि जडित पम्पसेट जफत गरियो। पहिले पानी पिउन पाउनुपर्यो। पछि खेती गर्दै गरौंला,’ उनले भनिन्।
नगरपालिकाले ११ असारमा सूचना जारी गर्दै पर्याप्त वर्षा नभएसम्म धान रोपाइँका लागि बोरिङबाट पानी नतान्न तथा खानेपानीको स्रोतको अनावश्यक प्रयोग नगर्न कृषकलाई आग्रह गरेको थियो। भूमिगत जलस्रोतको संरक्षण गर्दै खानेपानीको अभाव हुन नदिन यस्तो निर्णय गरिएको कार्यवाहक प्रमुख हरिजनले बताइन्। उनका अनुसार लुम्बिनी आसपास क्षेत्रमा अत्यधिक मात्रामा बोरिङबाट पानी तान्दा भूमिगत जलस्रोतको सतह घटेको छ। ‘त्यसका कारण केही दिनयता बोरिङ र ह्यान्डपम्पमा पानी आउन छाडेपछि पिउने पानीको समस्या भएको छ,’ उनले भनिन्, ‘खानेपानीको स्रोत संरक्षण गर्न धान रोपाइँमा बोरिङ प्रयोग नगर्न बाध्य भएर आग्रह गरिएको हो।’
नगर कार्यपालिकाले अर्को सूचना जारी नभएसम्म निर्णय विपरीत काम गर्नेको विद्युतीय मोटरलगायत सामग्री जफत गरी १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णयसमेत गरेको छ। नगरपालिकाका अनुसार बीउबिजन तथा नर्सरी संरक्षणका लागि अत्यावश्यक अवस्थामा भने खानेपानी आपूर्तिमा न्यूनतम असर पर्ने गरी राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र पानी प्रयोग गर्न पाइनेछ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले पर्याप्त वर्षा नभएसम्म रोपाइँका लागि बोरिङबाट पानी नतान्न र पहिले नागरिकको दैनिक खानेपानीको आवश्यकता पूरा गर्न यस्तो कदम चाल्नुपरेको बताए।
नगर प्रहरी प्रमुख नितेशकुमार तिवारीका अनुसार सूचनाविपरीत काम गर्ने वडा नं. २, ७, ९, १० र ११ का १४ कृषकका १४ वटा विद्युतीय मोटर तथा साना होन्डा पम्पसेट जफत गरिएका हुन्। तराई–मधेशमा गर्मी याममा पर्याप्त वर्षा नहुँदा कृषकले बोरिङ तथा नजिकका नदी, ताल, खोला र पोखरीबाट विद्युतीय मोटर र पम्पसेट प्रयोग गरी पानी तानेर धान रोपाइँ गर्नुपर्ने बाध्यता छ।






























प्रतिक्रिया