काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँगै आफ्नो सचिवालयमा पनि हेरफेरको तयारी थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कार्यसमितिमा आएका सचिवालय सदस्यहरूलाई पार्टी काममै केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना रहेको उनको सचिवालयका एक सदस्यले बताए।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाह सह–महामन्त्री निर्वाचित भएका छन् भने नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्य बनेका छन्।
उनीहरूलाई सचिवालयबाट बिदा गरेर पार्टीको काममा केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना छ। उनले प्रमुख स्वकीय सचिव सुवास शर्मालाई पनि बिदा गर्न चाहेको सचिवालयका ती सदस्यले दाबी गरे।
राहदानी छपाइ ठेक्का प्रकरणमा असीम र सुदीपको भूमिकामाथि प्रश्नको उठेको छ भने सुवास शर्माको गतिविधि पनि प्रधानमन्त्री शाहलाई चित्त नबुझेको सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए। ती सदस्यका अनुसार मन्त्रालयमा सचिव भन्दामाथि स्वकीय टिम खडा गर्ने निर्णय गरेका प्रधानमन्त्री शाहले सचिवालयका लागि पनि योग्य टिम निर्माणको गृहकार्य गरिरहेका छन्।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म सचिवसरहका सल्लाहकार नियुक्त गर्न पाउन व्यवस्था गरिएको छ। २ वैशाखमा मन्त्रिपरिषद् बैठकले प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि मुख्यसचिव सुमनराज अर्यालले सम्बन्धित मन्त्रालयमा निर्णयको ब्यहोरा पठाइसकेका छन्।
‘सचिवालयमा अहिले भएकाहरूलाई हटाउने विषयमा मलाई जानकारी छैन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले सचिवालयमा पनि ८–१० जना विशिष्ट श्रेणीका व्यक्ति नियुक्त गर्नु खोज्नुभएको देखिन्छ। काम गर्ने हुटहुटी भएका मान्छेलाई जिम्मेवारी दिन सकिन्छ भन्ने प्रधानमन्त्रीको सचिवालयबाट संकेत आएको छ। केही मान्छेहरूसँग मैले पनि कुराकानी गरिरहेको छु।’
बहालवाला कर्मचारीमाथि निर्मम देखिएका प्रधानमन्त्री शाह अवकाशप्राप्त केही पूर्वसचिवलाई सचिवालयमा ल्याउन सकरात्मक देखिएको उनको भनाइ छ। ‘केही विज्ञहरू बाहिरबाट पनि आउनुहुन्छ होला। तर, केही पूर्वसचिव पनि सचिवालयमा ल्याउने तयारी देखिन्छ,’ उनले भने।
प्रधानमन्त्रीको सचिवालयमा आउने सम्भावित नाम भने उनले उल्लेख गर्न चाहेनन्। यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाका प्रमुखद्वय सहसचिव कविन्द्र नेपाल र शिवादेवी दाहालको टोलीले मन्त्रालयगत प्रगति विवरण संकलन गरिरहेको छ।
‘मन्त्रालयहरूबाट सरकारको सय बुँदे कार्यसूचीको प्रगति विवरण मागिराखेका छौँ। केही मन्त्रालयले पठाएका छन्, केही मन्त्रालयबाट आउने क्रमममा छ। अहिले हामी त्यसैमा लागिरहेका छौँ,’ एक सहसचिवले भने। असार मसान्तसम्म सरकारको कार्यसम्पादन मूल्यांकन रिपोर्ट सार्वजनिक हुने उनको भनाइ छ।
‘अहिले सय बुँदे सूची अनुसार के कति काम भयो, त्यसको रिपोर्ट लिइरहेका छौँ। त्यो आइतबार वा सोमबारसम्म सार्वजनिक होला,’ उनले भने, ‘असार मसान्तसम्म सरकारको कार्यसम्पादन मूल्यांकनको छुट्टै रिपोर्ट सार्वजनिक हुन्छ।’
सय बुँदे सूची र कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्री परिवर्तन हुने प्रधानमन्त्री शाहको सचिवालयका ती सदस्यले बताए। ‘सरकारको सय बुँदे कार्यसूचीमा खरो उत्रिन नसकेका र कार्यसम्पादन मूल्यांकन राम्रो नभएका मन्त्रीहरू बिदा गर्ने कुरामा प्रधानमन्त्री प्रस्ट हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका ती सदस्यले भने।
प्रधानमन्त्री शाहले हाल रक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हालेका छन्। यस्तै अर्थमा स्वर्णिम वाग्ले, परराष्ट्रमा शिशिर खनाल, गृहमा सुधन गुरुङ, पूर्वाधार विकासमा सुनिल लम्साल, ऊर्जामा विराजभक्त श्रेष्ठ, शिक्षामा सस्मित पोखरेल, विज्ञान प्रविधि तथा नवप्रवर्तनमा महावीर पुन, कानुनमा सोविता गौतम, सामान्य प्रशासनमा प्रतिभा रावल, श्रममा रामजी यादव, स्वास्थ्यमा निशा मेहता, कृषिमा गीता चौधरी, उद्योगमा गौरीकुमारी यादव, महिला तथा बालबालिकामा सीता वादी, पर्यटनमा खडकराज पौडेल र सूचना तथा सञ्चारमा विक्रम तिमिल्सिना मन्त्रीको जिम्मेवारीमा छन्।
बालेन क्याबिनेटमा रहेका १६ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादव, सूचना तथा सञ्चारमा विक्रम तिमिल्सिन, महिला तथा बालबालिकामा सीता वादी लगायतको कार्यसम्पादनमा प्रधानमन्त्री असन्तुष्ट छन्। मेहता, चौधरी र तिमिल्सिना चैत १३ मै मन्त्री बनेका थिए भने गौरीले चैत २७ मा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयसँग अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालको पनि टक्कर देखिन्छ। पार्टी सभापति रवि लामिछानेको बलियो ‘ब्याकअप’ पाएका वाग्ले र खनाल परिवर्तन हुने सम्भावना छैन।
रास्वपाको महाधिवेशनमा पदाधिकारीका आकांक्षीलाई ब्याक गराउन सभापति लामिछानेले केही सांसदहरूलाई मन्त्रीको वचन दिएको रास्वपाभित्र चर्चा छ। सांसद गणेश पराजुली, समीक्षा बास्कोटा लगायतलाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपाका नेताहरू बताउँछन्।
































