नेपालले सुस्तामा सुरक्षा उपस्थिति बढाउदा भारतले देखायो चासो

नेपालले सुस्तामा सुरक्षा उपस्थिति बढाउदा भारतले देखायो चासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीस्थित नारायणीपारिको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ। १९ असारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो।

निर्देशनलगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुस्तामा रहेको २५ जनाको टोलीलाई बढाएर ४० पुर्‍याइएको छ। तीन दिनपछि असार २२ मा जर्नेल यमबहादुर अधिकारी (प्रतीक्षा) को नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। ६ दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अन्जनी पोखरेलले समेत स्थलगत भ्रमण गरेका छन्।

सुस्तामा तटबन्ध निर्माणको काम भइरहेको छ। निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला डेढ महिनाअघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए। यसै पृष्ठभूमिमा सरकारले त्यहाँ सुरक्षा उपस्थिति बढाएको हो। यसलाई लिएर भारतीय पक्षले चासोपूर्वक नेपालसमक्ष प्रश्न गरेको अधिकारीहरूले बताएका छन्।

खासगरी सादा पोसाकमा नेपाली सेनाका वरिष्ठ अधिकारीसहितको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको हो। ‘नेपाली सेनाका जर्नेल यमबहादुर अधिकारीको टोली किन सुस्ता आएका हुन् भनेर परराष्ट्र मन्त्रालय र नेपाली सेनासमक्ष भारतले चासो राखेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले नेपाली सेनालाई बुझ्यौं, सेनाले विपद्को पूर्वतयारीस्वरूप अध्ययन गर्न गएको भन्यो, त्यही उत्तर भारतलाई दिएका छौं।’

नेपाली सेना सुस्तामा पुगेलगत्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीले उनीहरूलाई त्यहीं सोधखोज गरेको जिल्लास्थित एक सुरक्षा प्रमुखले बताए। औपचारिक जानकारीबिना सादा पोसाकका नेपाली सैनिक सीमावर्ती बस्तीमा पुगेपछि भारतीय पक्षले सोधखोज गरेका थिए। ‘भारतीय सुरक्षाकर्मीले तपाईंहरू को हो र किन आउनुभएको हो भनेर सोधेका थिए, नेपाली सेनाको टोली आउँदै छ भनेर हामीलाई पनि थाहा थिएन, एसएसबीले सोधेपछि सादा पोसाकमा गएका सेनाले हामीलाई खबर गरेपछि थाहा पायौं,’ ती सुरक्षा प्रमुखले भने।

सादा पोसाकमा पुगेका सैनिक अधिकारीहरूले सुस्ताका बासिन्दासँग सीमा क्षेत्रबारे बुझेका थिए। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मुलुकभर मनसुन र विपद्जन्य कस्ता घटना हुन सक्छन् र जोखिमको अवस्था के छ भनेर बुझ्न सेनाको टोली सुस्ता पुगेको हुन सक्ने जानकारी दिए। ‘मनसुन र विपद् जोखिमको अवस्था बुझ्न टोली मुभ भएको छ,’ उनले भने, ‘यही क्रममा उनीहरू पनि घुमेका होलान्। मनसुनजन्य जोखिमबारे बुझ्नेबाहेक अरू उद्देश्य केही होइन।’

जिल्ला प्रशासनले पनि नेपाली सेनाको भ्रमण औपचारिक नरहेको जनाएको छ। सुस्तामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ। डेढ महिनाअघि भारतीय सुरक्षाकर्मीले तटबन्ध निर्माणमा अवरोध पुर्‍याएपछि सशस्त्र प्रहरीले संख्या बढाएको छ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको टोली रहँदै आएकामा अहिले ४० पुर्‍याइएको हो।

स्थानीय बासिन्दाले पनि सुस्ताको सुरक्षा र आफ्ना आधारभूत माग पूरा गर्न दबाब दिइरहेका छन्। दुई साताअघि सुस्ता बचाउ आन्दोलनका अगुवा मुन्ना खाँको नेतृत्वमा ५२ स्थानीय बासिन्दाले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका थिए। त्यतिखेर गृहमन्त्री सुधन गुरुङलाई भेटेर सुस्तामा वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको ज्यादती रहेको भन्दै नेपाल सरकारले त्यहाँ नेपाली सेनाको कमान्डमा सुरक्षाकर्मीको पोस्ट राख्न माग गरेका थिए।

गृहमन्त्रीसित उनीहरूले भेटेलगत्तै असार १९ मा मन्त्रालयले जिल्ला प्रशासनलाई पत्र पठाएर त्यहाँ रहेका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। जिल्ला प्रशासनलाई लेखिएको पत्रमा दुई वटा निर्देशन छन्। मन्त्रालयले पठाएको पत्रको १ नम्बर बुँदामा सुस्ताभित्र सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने। बुँदा नम्बर २ मा सुस्तामा बसोबास गर्ने धेरै व्यक्तिको नागरिकता नरहेको गुनासो आएकाले नागरिकता प्राप्त गर्न योग्य व्यक्तिको विवरण संकलन गरेर प्रोफाइल तयार गर्न भनिएको छ। मन्त्रालयको परिपत्रअनुसार सुस्ताका बासिन्दालाई नागरिकता प्रदान गर्नेलगायत विषयमा स्थानीय वडाले काम थालिसकेको छ।

Logo