काठमाडौं । रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा संविधानसभाका तीन सदस्य दोषी ठहर भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले २०६४ सालको संविधान सभाका सभासदहरू गायत्री साह, विश्वनाथप्रसाद यादव, नारदमुनी राना लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । साह नेपाली जनता दल, यादव तत्कालीन मधेशी जनाधिकार फोरम र राना एमालेबाट सभासद बनेका थिए ।
जिल्ला अदालत काठमाडौंले २१ जेठ, २०७१ मा उनीहरुलाई कसुरदार ठहर गरेको थियो । उनीहरुमाथि पाँच महिना कैद र पाँच सय रुपैंयाका दरले जरिवानाको फैसला भएको थियो ।
साथै डिलबहादुर घर्ती, गोपाल बानियाँ, पृथ्वी छन्त्याल, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि सरकारी कागजात किर्ते गरेको आरोपमा एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैंया जरिवानाको फैसला सदर भएको छ ।






























