कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा च्याउ खोज्न भनी गएर सम्पर्कविहीन भएका १७ जनाको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ । हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–१९ बागफाँटा दशरथटोलका १४ जना आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका थिए । अबेरसम्म उनीहरू सम्पर्कमा नआएपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै खोजी अभियान सुरु गरेको थियो । सोमबार बिहानसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि खोजीकार्य जारी राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
बेलडाँडी गाउँपालिका–२ चवन्नीका तीन महिलासँग भने सोमबार बिहान टेलिफोन सम्पर्क भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए । उनका अनुसार मञ्जु क्षेत्री, लक्ष्मी थापामगर र सीता चौधरी रातभर निकुञ्ज क्षेत्रमै बसेका छन् । उनीहरूले आफूहरू सिमलको रुखको फेदमा सुरक्षित रहेको जानकारी दिएका छन् । तर आफूहरू रहेको स्थान यकिन रूपमा बताउन नसकेकाले उद्धार टोलीले सम्भावित क्षेत्रमा उनीहरूको खोजी तीव्र बनाएको प्रहरी निरीक्षक पार्कीले बताए ।
बेलडाँडीबाट नेपाल प्रहरीको टोली, रणसिंह दल गण (क) गुल्म बेलडाँडीबाट नेपाली सेनाको टोली तथा स्थानीयवासी संयुक्त रूपमा उद्धार अभियानमा खटिएका छन् । निकुञ्ज क्षेत्रभित्र कुनै–कुनै ठाउँमा मात्रै मोबाइल नेटवर्क आउने हुनाले पनि खोजीकार्य जटिल बनेको छ ।
प्रहरी चौकी बागफाँटाबाट प्रहरी वरिष्ठ हवल्दार प्रेमराज जोशीको कमाण्डमा ३ जना, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतको कमाण्डमा ७ जना प्रहरी परिचालन गरिएको छ ।
त्यसैगरी रणसिंह दल गुल्म मझगाउँबाट १५ जना, मालुमेला पोस्टबाट १८ जना नेपाली सेना तथा स्थानीयवासीसमेत खोजी अभियानमा खटिएका छन् । बागफाँटाका १४ जनासँग भने अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रमा वर्षायाममा कुनै पनि उद्देश्यले नजान, अन्य सामुदायिक वनमा जाँदा समूहबाट नछुट्टिन, पर्याप्त तयारीबिना जङ्गल प्रवेश नगर्न तथा सम्भव भएसम्म सुरक्षा निकाय वा वन कार्यालयको जानकारीमा मात्रै जङ्गल जान आग्रह गरेको छ ।































