काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथाचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति बागमती र गण्डकी प्रदेश तथा कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षात् पछि ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।




















