रक्सी पिएर दुःख दिएको भन्दै फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

रक्सी पिएर दुःख दिएको भन्दै फुलचोकी जंगलमा लगेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

केन्द्रबिन्दु
0
Shares

रक्सी पिएर दुःख दिएको भन्दै एक महिलाको ललितपुरस्थित फुलचोकी जंगलमा पुर्‍याइ हत्या भएको खुलेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–३  स्थित फुलचोकी जंगलमा सोमबार मृत अवस्थामा भेटिएकी महिलाको हत्या भएको खुलेको हो । उक्त शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति घ्याल्मो लामालाई पक्राउ गरेको छ ।

ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले पत्रकार सम्मेलन गरेर रुपालाई उनकै पति घ्याल्मो लामाले हत्या गरेर जंगलमा फालेको जानकारी दिए । ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका–९ का स्थानीय हुन् । काठमाडौँ उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जीविकोपार्जन गर्दै आएका घ्याल्मोले पत्नीलाई योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लगातारको घर झगडाले हत्याको रूप लिएको देखिएको एसएसपी पोखरेलले बताए । 

घ्याल्मोकी तेस्री पत्नी हुन्, रुपा क्षेत्री । रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन् । भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे । गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे । गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । 

रुपासँग घ्याल्मोले २०७२ सालमा विवाह गरेका हुन् । रुपातिरका बच्चा छैनन् ।  हरिसिद्धिमा जेठीतिरका छोरीहरू बस्ने डेरा नजिकै बस्दै आएका घ्याल्मो हत्यापछि फर्किएर छोरीहरूले आमाबारे सोध्दा  उनले झगडा गरेर सोलुखुम्बु जान्छु भनेर गएको र ३ वर्ष आउँदिन नआउने बताएका थिए । स्थानीयले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेपछि १० दिनअघि हत्याको घटनाको रहस्य खुलेको हो । 

Skip This
Skip This
Logo