प्रहरीको केन्द्रीय साइबर ब्यूरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।
विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै गीतकार महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।
उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक गायिकासँग उनको विवाद देखिएको छ ।
‘प्रणय’ एल्बममा राखिएको गीत ‘मेरो दिल छ पोखरा मा’ लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो । गीतको रिमेकलाई लिएर खरेल र रेग्मीबीच विवाद चलेको थियो । रेग्मीले खरेलमाथि प्रतिलिपि अधिकारको कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने प्रमोदले पनि कानूनी प्रक्रियामार्फत उपचार खोज्ने जवाफ त्यतिबेला दिएका थिए । खरेलको उजुरीमा रेग्मीकी श्रीमती लिना रेग्मी पक्राउ परेकी थिइन् । उक्त मुद्दा हाल अदालतमा चलिरहेको छ ।
पछिल्लो समय थाइल्याण्डमा रहेका रेग्मीले सामाजिक संजालबाटै आफूहरुलाई लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ता आचार्यसहितको गुनासो रहेको छ ।































प्रतिक्रिया