के हाे निपा भाइरस? नेपालमा संक्रमणकाे डर कति?, यस्ता छन् लक्षण र बच्ने उपाय

के हाे निपा भाइरस? नेपालमा संक्रमणकाे डर कति?, यस्ता छन् लक्षण र बच्ने उपाय


छिमेकी भारतका केही स्थानमा निपा भाइरसको सङ्क्रमण देखा परेको विवरण सार्वजनिक भएसँगै नेपालमा पनि सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

अहिलेसम्म नेपालमा कसैमा सङ्क्रमण भएको पुष्टि भएको छैन। तर देशका ११८ अस्पताल र स्वास्थ्य संस्थामा शङ्कास्पद बिरामीहरू देखिए बेलैमा जानकारी गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ।

भारतको केरलास्थित कोझिकोडेमा एक १२ वर्षे बालकको ज्यान गएपछि नेपालले पनि सतर्कता बढाइएको हो। बिज्नस स्ट्यान्डर्ड पत्रिकाका अनुसार भारतमा थप दुई जनामा निपा भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सन् २०१८ को मे महिनामा पनि केरलामा निपा भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। त्यस बेला त्यहाँ १७ जनाको उक्त भाइरसका कारण मृत्यु भएको थियो।

निपा भाइरस के हो?

एनआईभी भनिने निपा भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो।मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ।उक्त भाइरस प्राकृतिक रूपमा "फ्रूट ब्याट" जातको चमेरोमा पाइने बताइएको छ।

मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा सङ्क्रमण गराउँछ। सुरुमा यो भाइरसले श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ।

भारतको पश्चिम बङ्गाल र बाङ्ग्लादेशमा उक्त भाइरस देखा परिसकेको र पछिल्लो समय दक्षिण भारतको केरलामा भाइरस फेला परेसँगै नेपालमा पनि सतर्कता बढाइएको अधिकारीहरू बताउँछन्।

भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई "जूनोटिक" रोगको वर्गमा राखिएको छ। प्रायः सुँगुर, बङ्गुर र फलफूल खाने चमेरोमा सङ्क्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ।

यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा सर्न सक्छ। त्यसैले कोभिड महामारीमा जस्तै मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड महत्त्वपूर्ण मानिन्छ।

भारतको केरला राज्यमा चमेरोबाट मानिसमा निपा भाइरस सरेको बताइएको छ। सङ्क्रमित जनावरको तरल पदार्थसँग संसर्गमा आएका जुनै उमेर समूहका मानिसलाई प्रभाव पर्ने बताइएको छ।

भारतमा सङ्क्रमण फैलाउने चमेरो नेपालमा पनि पाइने, सुँगुरपालन कृषकको रोजाइमा परेको व्यवसाय रहेको र मानिसबाट मानिसमा सर्न सक्ने हुँदा नेपाल जोखिममा रहेको डा. शेरबहादुर पुन बताउँछन्। त्यसै कारण पनि नेपालमा भाइरस आउन सक्ने सम्भावना भएका ठाउँमा अहिल्यै सतर्कता अपनाउनु पर्ने विज्ञहरू बताउँछन्।

लक्षण के हुन्?

निपा भाइरसका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने र मानिसहरू छिट्टै बेहोस जस्तो गराउने र एकदमै छिटो गम्भीर अवस्थामा भाइरसले पुर्‍याउन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्।

त्यसबाहेक रिँगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलको सुजन पनि प्रमुख लक्षणमध्ये रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। भारतसँग नेपालको खुला सीमा रहेकाले यसको जोखिम नेपालमा रहेको बताइन्छ।

यसको उपचार छ कि छैन?

मन्त्रालयका अनुसार यो भाइरसको सङ्क्रमणको निश्चित उपचार छैन। यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन। तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ।

भाइरसबाट बच्नका लागि बिरामी पशुपक्षीनजिक नजाने र पशुपक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्ने हुन्छ। त्यस्तै तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खानुपर्ने हुन्छ। सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ।

गाईवस्तुका गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भिडभाडमा मास्क लगाउनाले भाइरसको रोकथाम गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ।

कोभिड र निपा भाइरस कसरी छुट्टाउन सकिन्छ?

प्रारम्भिक लक्षणले कोभिड वा निपा भाइरसमध्ये कुनबाट मानिसहरू सङ्क्रमित भएका हुन भन्ने कुरा थाहा नहुन सक्ने अधिकारीहरू बताउँछन्। तर निपा भाइरसले मस्तिष्कमा असर गर्छ र मानिसहरू छिट्टै बेहोस हुने सम्भावना रहन्छ। यो भाइरस सरेपछि बिरामीले काम्ने गरेको पनि पाइएको छ।

"कुन हो भनेर पत्ता लगाउने त फेरि पनि स्वास्थ्यकर्मी र अस्पतालहरूकै काम भयो,'' पौडेलले भने। ''सर्वसाधारणहरूलाई ज्वरो कम भएन, शरीर दुख्ने भयो, छिटै गम्भीर जस्तो अवस्था भयो भने छिटै अस्पताल जानुपर्‍यो।''

देशभरिका ११८ अस्पताल र स्वास्थ्यसंस्थालाई निदान गर्न गाह्रो छ भने नमुना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन भनिएको उनले जानकारी दिए।

नेपालमा यो भाइरसको परीक्षण गर्नका लागि आवश्यक पूर्वाधार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै उपलब्ध रहेको सरकारी भनाइ छ।

निपा भाइरस तीव्र गतिमा फैलिन सक्ने भनिए पनि कोभिडसँग तुलना गर्दा भने त्यो गति केही सुस्त रहेको डा. पुन बताउँछन्।

"आजको मितिसम्म एकदमै धेरै सर्दै गएर भूगोल पनि पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा गएको खासै देखिएको छैन। त्यो कारण कोरोनाभाइरसको तुलनामा आजको मितिसम्म सर्ने क्षमता देखिएको पुष्टि चाहिँ हुँदैन," पुनले भने।

यद्यपि यसको प्रकोप चिन्ताको विषय भने रहेको पौडेल बताउँछन्। सङ्क्रमित मानवबाट मानवमा भाइरस सर्न सक्ने हुँदा पनि सचेत रहनु जरुरी रहेको उनी बताउँछन्।

"किनभने यसको मृत्युदर उच्च छ। सङ्क्रमितमध्ये दुई जनामा एक जनाको मृत्यु हुन सक्छ। कुनै अध्ययनले त ७५ प्रतिशतसम्म मृत्यु हुनसक्ने भन्छ। त्यो भनेको उच्च हो," उनले भने।

सङ्क्रमितको मृत्यु हुनसक्ने सम्भावनाबाहेक यो भाइरसले लामो समयसम्म स्वास्थ्यसम्बन्धी समस्या पनि पार्न सक्ने अध्ययनहरूले देखाएको डा. पुन बताउँछन्। भाइरसबाट सङ्क्रमित भएका "२० प्रतिशतमा पछिसम्म कुनै न कुनै किसिमको समस्या देखा पर्न सक्ने" अध्ययनहरूले देखाएको उनको भनाइ छ।

त्यसमा नसा सम्बन्धी समस्या पनि देखिने गरेको अनुसन्धानहरूले देखाएको उनले बताए।

केही तथ्य

-मृत्यु दर ४० देखि ७५ प्रतिशत रहेको अनुमान गरिएको छ।
-भाइरस मानिसमा सुँगुर र चमेराजस्ता जनावरबाट सर्न सक्छ।
-दूषित खाद्य पदार्थबाट पनि यो भाइरस सर्न सक्छ र यो मानवबाट मानवमा पनि सर्न सक्छ।
-मानिस वा जनावरका लागि यो भाइरसबाट जोगिने उपचार वा खोप छैन।
-मानिसहरूका लागि प्राथमिक उपचार भनेकै हेरचाह हो।बीबीसीबाट

Logo