दुर्घटनामा राप्रपा नेता श्रेष्ठको निधनपछि दिक्तेलमा सवारी चाप नियन्त्रण गरिँदै

दुर्घटनामा राप्रपा नेता श्रेष्ठको निधनपछि दिक्तेलमा सवारी चाप नियन्त्रण गरिँदै

केन्द्रबिन्दु
0
Shares

बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । 

गत २० जेठमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठमाडौंमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेलबजारमा सवारी साधन प्रवेशमा केही कडाइ गर्ने निर्णय गरिएको हो । 

जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले दिक्तेलबजारमा थप सवारी दुर्घटना हुन नदिनका लागि भन्दै दैनिक बिहान ९.३० बजेदेखि बिहान  १० बजेसम्म र दिउँसो ३.३० बजेदेखि ४.३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने र फर्कने बालबालिकालाई लक्षित गर्दै सवारी साधनको चाप नियन्त्रण गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । दिक्तेलबजारमा बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्किनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारी साधनले जुनसुकै बेला ठक्कर दिने खतरा बढ्दो छ । 

दिक्तेल बजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो । पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् ।

ट्राफिक प्रहरीले किरातचोकमा बसेर सवारी चेक गर्ने गरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने अभिभावक एवं जसपाका नेता नवीन राई बताउँछन् । सवारी दुर्घटना लगत्तै दिक्तेलबजारमा सवारी साधनको प्रवेशमा कडाइ गरिएको यो दोश्रोपल्ट हो । 

१ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउन्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भएको भोलिपल्टै उद्योग वाणिज्य संघको आव्हानमा बसेको यातायात व्यवसायी तथा तत्कालीन दिक्तेल गाविसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः फितलो हुँदै गएको थियो । 

Skip This
Skip This
Logo