बाह्य चलखेलको भूमरीमा सभामुख पद

बाह्य चलखेलको भूमरीमा सभामुख पद

केन्द्रबिन्दु
0
Shares

यही पौष ४ गतेदेखि प्रतिनिधिसभाको बैठक हुँदै छ । पूर्व सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएकाले सभामुख पद रिक्त छ । यस अवस्थामा प्रतिनिधि सभाले सर्वप्रथम सभामुखको निर्वाचन गर्नु पर्नेछ । अहिले भावी सभामुख को बन्ने हुन् ? जिज्ञासाको विषय बनेको छ । प्रतिनिधि सभामा नेकपाको बहुमत रहेकोले भावी सभामुख पनि यही पार्टीबाट हुने प्रायः निश्चित छ । अहिले सभामुखको लागि नेकपाभित्र म्याराथुन दौड सुरु भइसकेको छ । यस दौडमा नेकपाका नेताहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, दीनानाथ शर्मा, देव गुरुङ, पम्फा भुषाल र डा. शिवमाया तुम्बाहाम्फे अग्रपंक्तिमा रहेको चर्चा छ ।

एमाले र माओवादीबीच एकता हुँदा सभामुख पद माओवादीका भागमा परेको थियो र यही भागवण्डाका आधारमा कृष्ण बहादुर महराले सभामुख पद प्राप्त गरेका थिए । एकता प्रक्रियाले पूर्णता प्राप्त गरिनसकेको अवस्थामा सभामुख पद आफ्नो दलले नै पाउनु पर्ने पूर्व माओवादी नेता कार्यर्ताको दावी रहेको छ । यही आधारमा पूर्व माओवादी नेताहरू अग्नी सापकोटा, दिन नाथ शर्मा, देव गुरुङ्ग र पम्फा भूसालले सभामुख पदमा विशेष चाख देखाएका छन् । दुई पार्टीबीच एकता भई एउटै पार्टी बनिसकेको अवस्थामा भागवण्डाको पूर्व नीति लागू गर्नु नहुने तर्क केही पूर्व एमाले नेताको रहेको छ । यस क्रममा उनीहरूले पूर्व सभामुख सुवासनेम्वाङ र वर्तमान उप–सभामुख डा. शिवमाया तुम्बाहाम्फेको नाम अघि सारेका छन् ।

एउटै पार्टीको तर्फबाट सभामुख र उपसभामुख हुन नपाउने व्यवस्थाका कारण उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो पद गुमाउनुपर्ने निश्चित छ । पूर्व सभामुख कृष्ण बहादुर महराको गल्तीको सजाय आफूले पाउन नहुने जिकिर गर्दै डा. शिवमाया तुम्बाहाम्फेले सभामुख पदको लागि दरो दाबी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ र सहयोग रहेकाले उनी भावी सभामुखको लागि वजनदार उमेद्वार मानिन्छिन् । महिलालाई विशेष प्राथमिकता दिइनु पर्ने महिला जगतको आवाज र दवावले पनि उनको लागि उपयुक्त वातावरण बनेको छ ।

पार्टी एकता हुँदा दुई पार्टीको नेतृत्व बीच भएको सहमति र समझदारी अनुसार सभामुख पदका लागि पूर्व माओवादीको दावी न्यायोचित देखिन्छ । पार्टी अध्यक्ष पुष्प कमल दाहालले दरो अडान लिँदा सभामुख पद लिन पूर्व एमाले नेतालाई अप्ठेरो हुने स्थिति छ । तर सभामुख पूर्व एमालेबाटै हुनु पर्ने प्रधानमन्त्री ओलीको कसरतबाट पूर्व माओवादीले यो पद पाउन निकै गाह्रो हुने परिस्थिति बन्दै छ । पूर्व माओवादीका नेताहरूलाई अन्य औसर दिएर भए पनि सभामुख आपूmले नै भनेको व्यक्ति हुनु पर्ने प्रधानमन्त्री ओलीको दावीले पनि यही कुराको संकेत गर्दछ । सभामुख पदका लागि पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्री ओलाीसँग त्यत्ति जिद्दी नगर्ने मुडमा देखिन्छन् विकसित यस्ता घटना क्रमहरूबाट अबको सभामुख पूर्व एमालेबाटै बन्ने लगभग निश्चित छ ।

राज्यका प्रमुख अङ्गहरूमा मात्र होइन सहायक अङ्गहरूमा पनि आफू अनुकूलको व्यक्तिलाई स्थापित गर्ने कसरतमा बाह्य शक्तिहरू रहेको कसैबाट छिपेको छैन । सभामुख पदमा पनि आफू अनुकूलको व्यक्तिलाई ल्याउन उनीहरूले पर्दापछाडि कसरत गरिहेको सतहमा देखिँदै छ । प्रधानमन्त्री ओलीले सभामुख पदमा विशेष चासो राखेको कारण पनि यही नै हो भन्ने आकलन तथ्यगत देखिन्छ । इण्डो प्यासिफिक रणनीति अन्तर्गतको मिलेनियम च्यालेञ्ज करपोरेसनको प्रस्तावलाई पारित हुन नदिने भूमिकामा पूर्व सभामुख कृष्ण बहादुर महरा रहेको आरोप प्रधानमन्त्री ओलीले लगाएको कुरा सार्वजनिक भइसकेको छ । महरामाथि लगाइएको यौन काण्डलाई पनि यसैसँग जोडेर हेर्ने गरिन्छ ।

प्रधानमन्त्री ओली जुनसुकै हालतमा यो अधिवेशनबाट मिलिनियम च्यालेञ्ज करपोरेसनको प्रस्ताव पारित गराई छोड्ने पक्षमा देखिन्छन् । अरबौ अरबको यो आकर्षित प्रोजेक्ट पारित गराउँदा आर्थिक रूपले मात्र होइन, अमेरिका जस्तो शक्ति राष्ट्रको आशीर्वाद पनि प्राप्त हुने विश्वास प्रधानमन्त्री ओलीमा रहेको देखिन्छ । यसको लागि आफूले भनेअनुसार काम सम्पन्न गर्ने व्यक्तिलाई प्रधानमन्त्री ओली सभामुख बनाउन चाहन्छन् भन्ने कुरा सहज रूपमा बुझिन्छ । पश्चिमाहरूको विश्वास प्राप्त र संसद संचालन गर्न अनुभवी पूर्व सभामुख सुवास नेम्वाङलाई अबको सभामुख बनाउन प्रधानमन्त्री ओली चाहन्छन् भन्ने कुरा पनि सार्वजनिक भइसकेको छ ।

सभामुख पदका लागि पूर्व माओवादीले हात धुनुपर्ने र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको सभामुख हुने चाहना पनि पूरा नहुने स्थिति बन्दै गएको छ । यो अवस्थामा सभामुख सुवासचन्द्र नेम्वाङ हुने सम्भावना प्रबल बन्दै गएको छ । हुनतः नेपाली राजनीतिमा पश्चिमा शक्ति मात्र होइन, अन्य शक्तिहरूको पनि सक्रियता र चलखेल निकै बढेको छ । सभाामुख प्रकरणमा पश्चिमा विरोधी शक्तिहरूले के भूमिका निर्वाह गरिरहेका छन्, त्यसका संकेतहरू भने सार्वजनिक भएका छैनन् । उनीहरू दर्शकका रूपमा मात्र रहेका होलान् भन्नु तर्कसंगत हुदैन ।

नेपाली राजनीतिमा ससाना कुराहरूमा पनि पश्चिमा र पश्चिमा विरोधी शक्तिबीच द्वन्द्व हुँदै आएको छ । यो प्रकरणमा पनि पर्दापछाडि उनीहरूका बीच द्वन्द्व भइरहेको अनुमान गर्न सकिन्छ । तर यो प्रकरणमा पश्चिमाहरू निकै अघि बढिसकेकोले वर्तमान अवस्थामा सभामुख सुवासचन्द्र नेम्वाङ नै हुने धेरैको अनुमान छ । तर दुई बाह्य शक्ति केन्द्रको द्वन्द्वमा पर्दामा देखा नपरेको व्यक्ति सभामुख भयो भने पनि अचम्म मान्नु पर्दैन ।

Logo