डा. राजेन्द्र कोजु –
पूर्खाहरु लडेर गए, तर जीतेर गए ।
नेताहरु जितेर गए तर देश हारेर गए ।।
हो आज हाम्रो देश यो वेदनाको गीत गाईरहेको छ । देशले हार्ने र नेताहरु जित्ने यो अवस्था नेपालीको युगौं देखिको दुर्भाग्य हो । नेपालको स्वाधिनता बन्धकमा राखेर पद र पैसाका लागि मोलमोलाई गर्ने नेपाली राजनीतिको नयाँ रोग होइन, यो दीर्घरोग सावित भएको छ । अब कुनै बाद र नाराको वकालत गर्ने नेताको विश्वास गर्ने अवस्था रहेन । कुनै पद सत्ता र शक्तिको अगाडी लम्पसार परेर मेरो देश वचाइदेउ भनी अलापेर रोएर चिच्याएर केहि हुने अवस्था रहेन । कुनै चमत्कारिक र अलौकिक शक्ति र सोच भएको नेताको आश गर्नु पनि बेकार सावित भएको छ । नेताहरू ‘गाँसेगुँसे एकैनासे’ भन्ने उखान चरिचार्थ गदैछन् । सत्यको अभि अभिव्यक्ति दिन डराउने र शक्तिको मात्र अभिव्यक्ति दिँदै हुँकार देखाउने स्यालको हुँईया मचाउँदै देश दोहन गने नेताहरुको चँगुलमा नेपाल फसेको छ । फेरी पनि आफ्नो सोंच र विश्वासलाई नबदल्ने हो भने नेपालीहरुले अव फेरि दुःख भोग्न बाध्य हुने निश्चित छ ।
आज नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा छ । भारतीय साम्राज्यवाद सबैभन्दा बढी खतरनाक छ । भारतले नेपालका विभिन्न व्यक्तिलाई एक अर्काको विरुद्द उचाल्दै र झगडा पार्दै भारतको स्वार्थ अनुकुल प्रयोग गर्दै आएको छ । अतः जनता र राष्ट्रवादी हुन देशभक्त हुन् । जनस्तरबाटै भारतीय विस्तारबादको प्रतिरोध हुनुपर्छ । कुनै नेता र ठूला ओहदाका मान्छेका आशा भरोशा र विश्वासमा भारतलाई सिमानाबाट हटाउन सम्भव छैन । नेपाल र नेपालीको आजको चुनौती स्वाधिनताको रक्षा हो । स्वाधिनता खतरामा छ । जताततै पराधिन मानसिकता बोकेका नेताहरुको हावी छ । यसलाई जनस्तरबाटै परास्त गर्न जरुरी छ ।
हाम्रो आँखाले देखेको सत्य वास्तविक सत्य हुन सकेको छैन । हामीले इमान्दार मानेको व्यक्ति वास्तवमा इमान्दार नेता बनिरहेको अवस्था छैन । हामी जसलाई देशभक्त नेता मानिरहेका छौं, त्यो साँचो अर्थमा देशभक्त भइरहेको छैन । आज जताततै भ्रम छ । सबै तिर विश्वासघात छ । अन्तरघात छ । मौका नपाएसम्म इमान्दार देखिनेहरुको भीडभाड छ । सत्ता,शक्ति र सरकारबाट वाहिरिएपछि काटाकाट गर्ने प्रवृत्ति बोकेका नेताहरुलाई हामी नेता मानिरहेका छौं । यसकारण माही बाराम्बार धोका पाईरहेका छौं । तसर्थ देश हारिरहेको बेला कुनै एकाध नेताले जित्नुले कुनै अर्थ राख्ने अवस्था रहेन । नेपालीहरु अब काँधमा जिम्मेवारी मनमा समझदारी र आँखामा होसियारी वहन गर्दै भारतको विस्तारवादको विरुद्द हुँकारदिँदै सम्पूर्ण शक्ति लगाउनु पर्ने अवस्था आएको छ । मुलुक अत्यन्त कठिन मोडमा छ । नेपालको स्वाधिनताको सार्वभौम अखण्डताको धज्जी उडाउँदै भारतले नेपाल आमाको छातीमा परेड खेलेको हामीले कदापी सहनुहुन्न । अव भारतीय विस्तारवादी हिंस्रक बाघलाई पाट्टपुट्ट हानेर ढल्ने वाला छैन । सबै मिलेर एक ढिक्का भई बज्र मुक्का प्रहार नगरेसम्म याे ढल्नेवाला छैन । कसैले भाषण गरेका भरमा मुर्दावादको नारा लगाएको भरमा भारतकाे थिचोमिचो रोकिनेवाला छैन । तसर्थ अव रणमैदानमा आमनेसामने भीड्न हामी तयार हुनुपर्छ । यति नभएसम्म भारतीय विस्तारवाद पछि हट्ने अवस्था छैन ।
भारत नेपालकाे भूमी प्रति किन अनुदार बन्दैछ ?
क) आफूलाई शक्तिशाली राष्ट्र देखाउन उद्दत भारत
ख) परनिर्भरताको फाईदा उठाउँदै भारत
ग) भारतीय हस्तक्षेपको मूल कारण
घ) सिमा क्षेत्रमा नेपालकाे बेवास्ता
ङ) भारत निकत नेता र कर्मचारीको बिगबिगी
च) कर्मचारी प्रशासकहरुको लापरवाही
एउटा उखान छ, घोडा घाँसके साथ दोस्ती करेगी तो आएगा क्या ? हो भारतले नेपाललाई घाँसे मैदान सम्झेको छ । त्यहाँका मालिकहरुले भोकाएका घोडाहरुलाई नेपालमा खुलेआम छोड्ने गरेका छन् । मालिकले ती घोडाहरुलाई छानी छानी चढ्ने गरेका छन् । भारतीय विस्तारवादका नाइकेहरुले नेपालमा घोडाहरुलाई फेरी चढ्दैछन् । नेपालको राष्ट्रिय, स्वाधिनतामाथि प्रहार गर्दै आएको पचासौं वर्ष भईसकेको छ । के जाती …खुवाएर कोखबाट निकाल्ने भारतीय परराष्ट्र नीतिदेखि हामी सचेत हुनैपर्छ ।
नेपालको राजनीति केहि दिन देखि तरंगित छ । ठुला नेता देखि स्कुले विद्यार्थी केटाकेटीहरु भारतीय साम्राज्यबाद र विस्तारवादको विरुद्ध नारा घन्काउँदै छन् । सचेत नेपालीहरु फेरी एक पटक भारतको हेपाहा प्रवृत्ति र विस्तारवादी नीतिको विरुद्ध आ–आफ्नो ताैर–तप्काबाट विरोध गर्न थालेका छन् । तर भारत “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ” भन्ने नेपाली उखान जस्तै बल मिच्याइँ गरिरहेको छ । भारतले नेपालको स्वाधिनता र सार्वभौमिकता को सम्मान गरेकै छैन । नेपालीहरुले जति विरोध गरे पनि विरोधीलाई कुनै असर परेको छैन ।
भारत नेपालकाे भूमी प्रति किन अनुदार बन्दैछ ?
क) आफूलाई शक्तिशाली राष्ट्र देखाउन उद्दत भारतः भारत आफूलाई शक्ति राष्ट्रको रुपमा उभ्याउन चाहन्छ । संयुक्त राष्ट्र संघको भिटो प्राप्त राष्ट्रको दर्ज गरी आफूलाई शक्तिशाली राष्ट्रको रुपमा देखाउन चाहन्छ । तसर्थ दक्षिण एसियाको सबै देशहरुलाई आफ्नो सूरक्षा छत्र अन्तर्गत राखेर संसारलाई शक्तिको प्रदर्शन गर्ने योजनामा तल्लिन भएर लागि परेको छ । तसर्थ उसले भुटान, फिजी, सिक्कीम, कस्मिर जस्तै नेपाललाई शिलशिलेवर ढंगबाट आफ्नो विस्तावादी तीर सोझ्याउँदै आएकाे छ ।
ख) परनिर्भरताको फाईदा उठाउँदै भारतः नेपालको अत्याधिक परनिर्भरताको फाईदा भारतले उठाउँदै आएको छ । नेपालको राजनीतिको ग्राण्ड डिजाइन भारतमा नै हुने गरेको तथ्य र प्रमाण पटक पटक सार्वजनिक भइसकेको छ । सरकार बदल्न दिल्ली जाने चुनाव जीत्न दिल्ली जाने, राजनीतिक परिर्वतन गर्न दिल्ली जाने, बजेट बनाउन दिली धाउने परम्परा नेपाली नेताहरुले स्थापित गरे । खाने लाउनेदेखि सोच्ने शैली अभ्यास सबै दिल्लीको रेडिमेड भएपछि भारतले नेपाललाई अधिनमा राख्न खाेज्नु कुनै आश्चर्य हाेइन । तर नेताहरु भारतको व्यवहार प्रति आश्चर्य प्रकट गरेको स्वाङ गरिरहेका छन् ।
ग) भारतीय हस्तक्षेपको मूल कारणः नेपालको अतिक्रमित भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी र टिङ्कर क्षेत्रलाई नेपालले र नेपाली शासकले कतिको महत्वदियो त ? यहाँको जमिन र जनतालाई नेपालले नेपाली हुँ भन्ने आभाष र अनुभूति गराउन सक्यो त ? नेपाल सरकार, नेपाली प्रशासन र सुरक्षा निकायको उपस्थिति कस्तो छ त ? यी सबैमा नेपालको कमजोर र शुन्य उपस्थिति नै भारतीय हस्तक्षपको मूल कारण हो । कालापानी र लिम्पियाधुरा भौगोलिक विकटता मौसम र वातावरण साथै भू बनावटलाई समस्या र अफ्ठ्यारोको रुपमा बुझेर तत् क्षेत्रलाई नेपाल र नेपाली प्रशासनले बेवास्ता गरेको, पहरेदारी गर्न र तालुकदारी गर्न खटाउने तर सीमा सुरक्षाका लागि नखटाउने नेपाली प्रशासनको कमजोरी हाे। परिणामतः आज हामी सीमा अतिक्रमणकाे चपेटा भाेगिरहेका छाैं ।
घ) सिमा क्षेत्रमा नेपालकाे बेवास्ताः नेपालले बेवास्ता गरेको यो क्षेत्रलाई भारतले रणनीतिक महत्वको क्षेत्र देख्यो । सन् १९६२ मा भारत र चीनविच युद्द हुँदा भारतको फाैजका लागि यो अत्यन्त महत्पूर्ण नाका बन्यो । राजा महेन्द्रले प्रजातन्त्रको कु गर्दाको बखत भारतीय फाैजले कालापानीमा क्याम्प खडा गरे । नेपालको राजनीतिक परिवर्तनको काँचो र कमजोर समय भएका कारण प्रतिरोध गर्न सक्ने अवस्था रहेन । तसर्थ कालापानी र लिम्पियाधुरा माथी अतिक्रमण कायम राखे ।
ङ) भारत निकत नेता र कर्मचारीको बिगबिगीः सिमा समस्या समाधान हुन नसक्नुकाे कारण नेपालको नेता र नेपालका कर्मचारीहरु भारत निकत रहनु पनि एक हाे । भारतले हुर्काएका बढाएका टाठा बाठा नेताहरु र जाली कर्मचारीहरुका कारण नेपालको सिमाना र भुमी साँघुरिँदै गएको हो । सीमा विवाद सुल्झाउन र समन्वय गर्न नेपालबाट खटाइएका सचिवहरु भारतीय सरकारको लोभ लालचामा फसे र विके । देशमाथि घातगर्दै आफू अनुकुल भारतीय प्रतिनिधी र भारतीय स्वार्थ अनुरुप दस्तखत र सहमती गरेको यथेष्ट प्रमाणहरु रतन भण्डारीले आफ्नो पुस्तकमा विस्तारमा चर्चा गरेका छन् ।
च) कर्मचारी प्रशासकहरुको लापरवाहीः भारतले कुटी, नावी, गञ्जी, नालापानी, लिपुलेक र लिम्पियाधुरा सहित ३७२ वर्ग किलोमिटर नेपाली भुमी कव्जा गरेको समाचार बाहिर आईरहेको छ । यसमा नेपालको पनि ठुलो कमजोरी छ । यथेस्ट ऐतिहासिक प्रमाण सन्धि सम्झौताका बाबजुत पनि नेपाल सरकार स्ययमले प्रकाशन गरेकाे नक्सामा संकुचन गरेकाे देखिन्छ । यो नेपालका कर्मचारी प्रशासकहरुको लापरवाही र गैर जिम्मेवारीपन को पराकाष्ठाको नमूना थियाे र हाे । नेपालको एक इन्च भूमि छोड्नुहुन्न आफ्नो भूमि माथिको अधिकार त्याग्नुहुन्न र पूर्खाले सिर्जेको सम्पत्ति र आर्जेको अखण्ड भूमिलाई हामीले बचाउनुपर्छ भनेर देशभक्ति प्रर्दशन गरेको भए सायद आज यो अवस्था आउने थिएन । भारतको नुन चामल र भातमा विक्ने नेपाली कर्मचारी सचिव र नेताहरु नै खराब भएपछि भारतप्रति मात्र द्देष राख्नुले अर्थ राख्दैन ।
आज नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा छ । भारतीय साम्राज्यवाद सबैभन्दा बढी खतरनाक छ । भारतले नेपालका विभिन्न व्यक्तिलाई एक अर्काको विरुद्द उचाल्दै र झगडा पार्दै भारतको स्वार्थ अनुकुल प्रयोग गर्दै आएको छ । अतः जनता र राष्ट्रवादी हुन देशभक्त हुन् । जनस्तरबाटै भारतीय विस्तारबादको प्रतिरोध हुनुपर्छ । कुनै नेता र ठूला ओहदाका मान्छेका आशा भरोशा र विश्वासमा भारतलाई सिमानाबाट हटाउन सम्भव छैन । नेपाल र नेपालीको आजको चुनौती स्वाधिनताको रक्षा हो । स्वाधिनता खतरामा छ । जताततै पराधिन मानसिकता बोकेका नेताहरुको हावी छ । यसलाई जनस्तरबाटै परास्त गर्न जरुरी छ ।































प्रतिक्रिया