एक्काईसौं शताब्दीको सबैभन्दा विकसित चरणमा आइपुग्दा समेत हाम्रो समाज कति सम्म पुरुष प्रधान मानसिकताले ग्रसित छ भन्ने कुरा प्रस्तावित नागरिकता विधेयकमा समावेश गर्नको लागि छलफल गरिएका विषयहरुलाई सम्झिदिए पुग्छ ।
आज बिहानै राजनीतिक विश्लेषक ‘आहुति’ को अन्तर्वार्ता सुनें । त्यो अन्तर्वार्तामा आहुतिले उठाएका विषयहरु समावेश भएनन् अथवा समावेश गर्न सकिएन भने यो नागरिकता विधेयकले समान हक र अधिकारको लागि महिला आन्दोलानलाई अर्को चरणमा प्रवेश गराउने निश्चित देखिन्छ ।
साधारण किसिमले सोच्दा पनि एउटै घरका दाजु र बहिनी, एउटै बाबु र आमाको कोखबाट जन्म लिएका छोरा र छोरीबीच राज्यले यसरी विभेद गर्न पाउँछ ? आजको मुल मुद्दा यहि हो । जस्तै कुनै पुरुषले विदेशी महिला बिहे गरेर ल्याउने बित्तिकै ति महिला (जो बुहारी भएर नेपाल आउछिन) ले तुरुन्तै नागरिकता प्राप्त गर्ने छिन् ।
जस्तै अस्ति एकजना पाकिस्तानी युवती नेपाली युवकसँग विवाह गरेर नेपाल आईन्, एक महिनामै उनको नागरिकता बन्यो । त्यहि घरमा त्यहि युवककी बहिनीले कुनै पाकिस्तानी पुरुषलाई श्रीमान बनाएर नेपाल ल्याएर तुरुन्तै नागरिकता दिन सक्छिन् ? यदि सक्दिनन भने नेपालको संविधानमा ‘महिला र पुरुषलाई लिंगको आधारमा विभेद गरिने छैन’ भनेर किन लेखिएको ?
यदि नागरिक हक बराबर हो भने एकजना पुरुषले आफ्नो नाममा कुनै बिदेशी महिलालाई नागरिकता प्रदान गरेजस्तै कुनै महिलाले अर्को देशको पुरुषलाई नागरिकता प्रदान गराउन किन नपाउने ? हक बराबर हो भने आफ्नो हक दुबैले बराबर उपभोग गर्न पाउनुपर्ने होइन र ? कि राज्यले विदेशी महिलाबाट असुरक्षाको महसुस गर्दैन ? अथवा राष्ट्रिय सुरक्षामा खलल पुरुषहरुले मात्र पार्छन ? वा अर्को तरिकाले सोच्दा नेपाल भन्ने देश पुरुषहरुको मात्र हो ?
नागरिकता भन्ने परिचय दिने या नदिने अधिकार पुरुषमा मात्र निहित रहेको छ ? यदि त्यसो हो भने यो कुरा संविधानमा स्पष्टसँग किटान गरिनु जरुरी छ । यो त भयो विवाह गरेर आउने महिला र पुरुषलाई नेपाली महिला या पुरुषले अपनाउने तरिकालाई राज्यले गरेको विभेद को कुरा अब चर्चा गरौँ ‘समान हक’ प्राप्त नेपाली नागरिकबाट जन्मिएका सन्तानको अधिकारको कुरा ।
कुनै पुरुषले विदेशी महिला विवाह गरेर ल्याई सन्तान जन्माएमा त्यसरी जन्मिएको सन्तान वंशजको आधारमा नेपाली नागरिक हुनेछ तर नेपाली महिलाले कुनै विदेशी पुरुषसँग विवाह गरेर नेपालमै बसेर नेपाल मै सन्तान जन्माएमा र त्यसरी सन्तान जन्माउने बाबुले विदेशी नागरिकता त्यागिसकेको हकमा समेत त्यसरी नेपाली आमाले जन्माएका सन्तान वंशजको आधारमा नेपाली नागरिक हुनेछैनन् ।
अब बुझ्नुपर्ने कुरा के भने यो नागरिकता सम्बन्धि अधिकार पनि “वंश” धान्ने, पिण्ड दान गर्ने, मलामी जाने दागवत्ती दिने जस्ता कर्मकाण्डी मानसिकता बाट प्रभावित भएको हो ? कि वंशज भन्ने शव्दावली नै पुरुषहरुको भागमा परेको बिर्ता हो ? नेपालको संविधानले बिर्ता जस्तै असाधारण अधिकारको परिकल्पना गरेको छैन ।
जन्मका आधारमा कुनै महिला र कुनै पुरुष दुवै नेपाली हुन भने उनीहरुले समान अधिकार पाउनु पर्छ । पुरुष भएकै नाताले उसको नागरिकतामा विशेष अधिकार हुने र महिला भएकै कारणले समान प्रकृतिको अधिकारबाट बन्चित हुने परम्पराको अन्त्य गर्नै पर्छ र त्यो समय यहि हो ।
पुरुष मानसिकताले नागरिकतालाई ‘राष्ट्रियता’ सँग जोडेर व्याख्या गर्ने गरेको छ । खुल्ला सिमानाको कारण असिमित भारतीयहरुले नेपाली नागरिकता लिन सक्ने र त्यसबाट हाम्रो राष्ट्रियता असुरक्षित् हुनसक्ने सम्भावनालाई मुख्य समस्या बनाउदै महिलालाई समान हक दिनु हुदैन भनेर वकालत समेत गरेको देख्न पाईन्छ । त्यसरी राष्ट्रियता संकटमा पर्थ्यो भने जन प्रतिनिधिहरुले घुस खाएर बेचेका नागरिकताको कारणले पर्नु पर्थ्यो । तर त्यसरी बेचिएका नागरिकताको कतै हरहिसाव गर्ने फुर्सद कसैलाई छैन ।
झापा जिल्लाको नागरिकता मात्र अध्ययन गर्ने हो भने त्यहा धेरै नागरिकताहरु फर्जी भेटिन्छन । आसामी मुलका नेपाली नागरिकहरु जो पुस्तौं पुस्ता आसाममा बिताए अनि उता परिस्थिति प्रतिकुल हुँदैं जाँदा अथवा यताको जीवन यापन अनुकुल हुँदै जाँदा फर्कदै गए उनीहरुको थात थलो कहाँ हो भनेर समेत खुलेको हुँदैन् । नेपालको कुन जिल्लाबाट आसामतिर बसाईं सरेका थिए भन्ने सम्म यकिन नभएका त्यस्ता हजारौं हजार मान्छेहरुले झापा, मोरङ र सुनसरीबाट नागरिकता प्राप्त गरेका छन् त्यो पनि फर्जी कागजात बनाएर ।
अर्कैको नचिनेको सन्तानलाई आफ्नो छोरा भनेर प्रमाणित गरेर नागरिकता बनाइदिने बग्रेल्ती बाबुआमा भेटिन्छन तरार्इका जिल्लाहरुमा । तर जब सम्म त्यस्ता नागरिकता पहाडे मुलका व्यक्तिले प्राप्त गर्दछन त्यसले राष्ट्रियतामा कुनै संकट ल्याउदैन तर जब कुनै मधेसी मुलकी महिलाले भारतीय पुरुषसँग जन्माएको सन्तानको लागि वंशजको नागरिकता माग्छिन त्यतिबेला हाम्रो राष्ट्रियता संकटमा पर्छ ।
[के राष्ट्रियता भनेको पहाडियाहरुको मात्र संकट मा पर्छ ? कि मधेसीहरुको राष्ट्रियतालाई फरक किसिमले परिभाषित गरेको छ नेपालको संविधानले ? यो कुरा पनि प्रष्ट हुन आवश्यक देखिन्छ ।]
अझ त्यो भन्दा घिनलाग्दो तरिकाले टिप्पणी गरेको पनि पाइन्छ “देशमा छोराछोरीको भन्दा भान्जा भान्जीको बाहुल्यता हुनेछ” भन्ने किसिमका कुतर्कहरु माननीय सांसद ज्युहरुले नै गरेको सुन्न पाइन्छ त्यो भन्दा घिन लाग्दो तर्क अरु हुन सक्दैन । यहि देशको पुरुषले विदेशी महिलासँग सन्तान जन्माए ति सन्तान छोराछोरी ? अनि महिलाले जन्माए भान्जाभान्जी ? यो देश महिलाका सन्तानको लागि “मावाल” सरह हो ? यहि देशको वंशजको आधारमा नागरिकता प्राप्त गरेको महिलाले जन्माएको सन्तान बाबु विदेशी हो भन्दैमा आफ्नै देशमा पाहुना मात्र हुन पर्ने ? अनि बाबु नेपाली हो भने फेरि जन्मशिद्ध अंशियार या पिण्डदाता हुने ? यो विभेदकारी नियम कुनै मुल्यमा मान्य हुन सक्दैन ।
यदि त्यसो हो र विदेशीका सन्तानबाट देशले असुरक्षित महसुस गर्छ भने अथवा साँच्चै देशको अखण्डतामा आँच आउँछ भने विदेशी महिलामार्फत जन्मेका सन्तानलाई पनि दिनु हुदैन वंशजको नागरिकता तर संविधानमा उल्लेख भएको समानताको अधिकारलाई संस्थागत गर्न नागरिकता विधेयक ल्याउन लागिएको हो भने नेपाली महिलाहरुले विदेशी पुरुषसँग बिहे गरेर जन्मेका सन्तानले पनि वंशजको नागरिकता पाउनुपर्छ किनकी हाम्रो देश नेपाल र नेपालको संविधान कुनै पुरुषको निजि सम्पत्ति होइन ता कि पुरुषहरुले मात्र आफ्नो स्वार्थ अनुरुप परिभाषित गर्दै प्रयोग गर्न पाईरहुन ।
कुनै पुरुषले परिचय नै नखुलेकी कुनै महिलासँग अमेरिकामा सन्तान जन्माउँछ र त्यो सन्तान बोकेर नेपाल फर्केर निर्वाध आफ्नो सन्तानलाई वंशजको आधारमा नेपाली नागरिक घोषणा गर्दछ, नागरिकता बनाईदिन्छ तर महिलाको हकमा फरक किन ? जब नागरिकतामा आमाको नाम उल्लेख गर्नै नपर्ने हुन सक्छ भने बाबुको नाम उल्लेख नगरी नहुने बाध्यात्मक अवस्था किन ?
आमाको टुंगो नभएका सन्तान र बाबुको टुंगो नभएका सन्तान दुबैको हैसियत एकै होइन ? जन्मने उसरिनै होइन ? गर्भाधारण र प्रसव उस्तै होइनन ? फेरि विभेद किन ? यदि संविधान बमोजिम महिला र पुरुषलाई विभेद गरिने छैन भन्ने कुरामा राज्य सकारात्मक छ भने कुनै नेपाली पुरुषले विदेशमा जन्माएका बच्चाले समेत जति सजिलै नागरिकता प्राप्त गर्ने अवस्था हुँदाहुँदै नेपाली महिलाले नेपालमै जन्माएका सन्तानले वंशजको नागरिकता किन नपाउने ? यो प्रश्नको जवाफ राज्यले दिनै पर्छ नत्र हामीले बनाएको संविधानको कुनै औचित्य देखिदैन ।
नोटः लेखकका निजी विचार ।





























प्रतिक्रिया