सत्तापक्षको महत्वकांक्षाविरुद्ध युवा आन्दोलन

सत्तापक्षको महत्वकांक्षाविरुद्ध युवा आन्दोलन

केन्द्रबिन्दु
0
Shares

प्रजातन्त्रमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरिनुको मूल कारण भनेकै ‘शक्ति सन्तुलन’ नियमित भईरहोस भन्ने हो । जुनसुकै पार्टीका नेता हुन् अथवा जतिसुकै सर्वहारा व्यक्ति किन नहुन सत्तामा पुगेपछि महत्वाकांक्षी बन्न पुग्छ ।

मानवीय स्वाभाव नै हो महत्वाकांक्षी हुनु । त्यस किसिमले पलाएको महत्वाकांक्षले नेतृत्वलाई गलत दिशानिर्देश गरिरहेको हुन्छ । त्यसपछि त्यसरी महत्वाकांक्षी बनेको नेतृत्वले आफन्तलाई लाभको पद दिने, भ्रष्टाचार गर्ने, निजी सम्पत्ति प्रति मोहित भएर गलत निर्णय गर्न पुगी राष्ट्रलाई दिर्घकालिन नोक्सान पुर्याउने निर्णय गर्न सक्ने सम्भावनाहरु देखिन्छ ।

नेता व्यक्तिगत रुपमा महत्वकांक्षी हुन पुग्दा देशलाई जति क्षति हुन्छ त्यो भन्दा बढी सत्तामा रहेको पार्टी संस्थागत रुपमा महत्वकांक्षी हुँदै गयो भने देश र जनतालाई ठुलो नोक्सानी हुन्छ ।

सामान्य बहुमतको सरकार महत्वकांक्षी हुनुलाई सामान्य रुपमा हेरिएपनि दुई तिहाई बहुमत भएको सरकारको एकलौटी महत्वकांक्षाहरुलाई सामान्य रुपमा हेरिनु उपयुक्त हुँदैन् । दुई तिहाई बहुमतको शक्ति धेरै ठुलो हुन्छ ।

हामीले भर्खरै भोगीसकियो कसरि दुई तिहाइको आडमा चिकित्सा शिक्षा अध्ययन विधेयकलाई बलजफती पास गरियो । यो एक किसिमको राजनीतिक दम्भ मात्र होइन । निश्चित व्यक्तिलाई फाईदा पुग्नेगरी त्यसरी कानुन बन्नु र सदनबाट बलजफती पास गराईनु नीतिगत भ्रष्टाचार पनि हो ।

सदनमा शक्ति बराबर भएको अवस्थामा सदनबाटै शक्ति सन्तुलनको लागि आवाज उठाउनुपर्छ तर जब दुई तिहाई शक्तिको प्रयोगद्वारा सदनमा प्रतिपक्षको आवाज दवाईन्छ त्यो बेलामा प्रतिपक्षको जाने ठाउ भनेको जनता नै हो र जन आवाज सुनिने भनेको सडकबाट नै हो ।

प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै तटस्थ वस्नुपर्ने सभामुख समेत पूर्वाग्रही भएर प्रतिपक्षको आवाज दवाउन सक्रिय रुपमा लागेपछि प्रतिपक्षसँग सडक आन्दोलनको विकल्प रहदैन । अहिले सत्तापक्षको अति महत्वकांक्षालाई नियन्त्रण गर्नको लागि पनि सडकको विकल्प नरहेको कुरा छर्लंग छ ।

सरकार महत्वकांक्षी मात्र होइन निकै अभिमानी र स्वाँठ पनि हुदै गईरहेको छ । सत्याग्रह जस्तो अहिंसात्मक आन्दोलनलाई समेत बेवास्ता गर्दै एकतर्फी निर्णयहरु गर्नुलाई  साधारण रुपमा हेर्ने सरकारबाट अरुका मागहरुको सम्बोधन होला भन्ने कल्पना गर्न सकिदैन । खासगरी माफियाहरुसँग साँठगाँठ गरेर दिर्घकालिन महत्वका नीति नियम तर्जुमा हुन थालेपछि त्यसलाई रोक्नको लागि पनि सडक आन्दोलन अपरिहार्य भएको छ ।

हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप, राजनीतिक नियुक्तिहरुमा एकलौटी निर्णय, नीति निर्माणमा प्रतिपक्षको अस्तित्व स्वीकार नगरिनु दुःख लाग्दो कुरा हो । देश र जनताको हितमा काम गर्ने राजनीतिक दलले यी कुराहरुलाई ख्याल गर्नु पर्दछ । तर जसको उद्देश्य ‘अधिनायकवाद’ तर्फ उन्मुख हुनु हो उसले न प्रतिपक्षको सम्मान गर्दछ न प्रतिपक्षको आवाज नै सुन्दछ । खासगरी नेकपाको सरकारलाई अधिनायकवाद तर्फ उन्मुख हुनबाट रोक्नको लागि पनि नेविसंघको सडक आन्दोलन आवश्यक देखिन्छ ।

अहिले जारी रहेको आन्दोलनलाई लिएर जनमानस बाट केहि असन्तुष्टिहरु आईरहेका छन् । जुन असन्तुष्टिहरु जायज पनि छन् । जस्तै शान्तिपूर्ण रुपमा निस्केको जुलुशले सरकारी सम्पत्तिलार्इ क्षति पुर्याउनु नेपाली कांग्रेसको सिद्दान्त विपरितको कार्य हो । त्यो कार्य नेविसंघले तुरुन्त रोक्नु पर्दछ । अथवा आन्दोलनलाई सहि बाटोमा लैजानको लागी नेविसंघका युवाहरुले धैर्यता अपनाउनु अति आवश्यक छ ।

सरकारको तानाशाही रबैया हेर्दा उसले आन्दोलनलाई दबाउन जस्तोसुकै कठोर कदम पनि चाल्न सक्ने देखिन्छ। शक्तिको दुरुपयोग गर्दै प्रहरी र प्रशासनको गलत प्रयोग नगर्ला भन्न सकिदैन । त्यसको ज्वलन्त उदाहरण भनेको तोडफोडमा संलग्न भएको आरोपमा केहि युवाहरु पक्राउ गरि मुद्दा चलाउने तयारी सरकारले गरिरहेको छ त्यसबाट आन्दोलनकर्मीहरु थप आक्रोशित हुने निश्चित छ ।

पक्राउ परेकालाई छुटाउने माग राखेर गरिएको प्रदर्शनमा समेत प्रहरीले ब्यापक धरपकड गरेर आन्दोलनको नेतृत्व गरिरहेका युवाहरुलाई तर्साउने कोशिस गरेको छ । धारपकडबाट आन्दोलन साम्य नभए आन्दोलनलाई बदनाम गराउन सरकारले अन्य हतकण्डा न अपनाउला भन्न सकिदैन ।

अलिकति तलमाथि हुने बित्तिकै अथवा शान्तिपूर्ण आन्दोलनमा कतैबाट अराजक तत्वको घुसपैठ हुन गयो भने त्यसले निकै अप्रिय अवस्था ल्याउन सक्छ । त्यस्तो कुनै घटना भयो भने नेबिसंघ र तरुण दलको छबी धुमिल हुन सक्छ । नेपथ्यमा धेरै शक्तिहरु सक्रिय छन् जसको काम नेपाली कांग्रेसका नेतृत्वहरुको छबी बिगार्ने काम मात्र गर्दछन ।

सबैभन्दा बढी सजग सामाजिक संजालको दुरुपयोग गर्नेहरुसँग हुनु पर्दछ । प्रोपोगाण्डा फैल्याउनकै लागि सरकारले नै सामाजिक संजालमा त्यस्ता मान्छेहरुलाई रोजगारी नै दिएर राखेको छ ।

चियापानको तस्बिरमा मादक पदार्थको तस्बिर जोडेर नेतृत्वलाई बदनाम गराउन कोशिश गरेको सरकारी प्रोपोगाण्डा प्रचारकले आन्दोलनमा भएको सानो गल्तीलाई गलत प्रचार गर्न कुनै कसर बाँकी राख्ने छैनन् त्यसैले पनि आन्दोलनमा सरिक युवाहरुले अतिरिक्त सजगता अपनाउन पर्ने देखिन्छ ।

स्थापनाकाल देखि अहिले सम्म भएका सबै परिवर्तनहरुमा निर्णयकारी भूमिका खेल्दै आएको ईतिहास बोकेको युवाहरुको संगठन नेपाल विद्यार्थी संघ र तरुण दल जस्ता अनुशासित भातृ संगठनहरुको आन्दोलन मर्यादित र सन्तुलित बन्नुपर्दछ अनि ठोस उपलब्धि हासिल गर्नुपर्दछ, यतापट्टी पनि युवा नेतृत्व सचेत र सजग बन्नु पर्दछ ।

Logo