पानी मरुवा !

पानी मरुवा !

केन्द्रबिन्दु
63
Shares

(दुर्गा पंगेनी)

गाउँ गाउँमा, घर घरमा चलन चल्तीमा रहेको गाली हो यो ‘पानी मरुवा’ भन्ने शब्द । पुरुषलाई होच्याउन र घोचपेच गर्न प्रयोग हुने उक्त शब्द ‘नामर्द’ को पर्याबाची संज्ञा समेत हो । ‘पानी’ र ‘मर्दाना शक्ति’ बीच के सम्बन्ध छ थाहा भएन । बढी मातेर उखरमाउलिएर हिड्नेहरुलाई ‘पानी उम्लेर मातेको’ भन्ने चलन पनि छ । कुन बेलामा पानी उम्लेर मान्छे मर्द बन्छ र कुनबेला पानी मरेर नामर्द बन्छ यो उसको नियतिमा भर पर्ने कुरा हो । केही न केही रहस्य त पक्कै छ त्यो पानीमा जसले मान्छेलाई कहिले उम्लेर मर्द बनाउछ र कहिले मरेर नामर्द पनि बनाइदिन्छ ।

पहिला पहिला लोग्नेसंग मनपेट मिल्न नसकेका महिलाहरु स्वाट्टै भागेर ‘पोईल’जान्थे। स्वास्नी भागेपछि त्यो ‘भगौड़ी’ महिलाको ‘हुतिहारा’लोग्ने ‘पानी मरुवा’मा गनिन्थ्यो। “स्वास्नीले खोजेको” पुर्याउन नसकेको नामर्द टाईपको ब्यक्तित्व बन्थ्यो उक्त पुरुषको । अचेल ‘बेसिक नीड’ भन्छन क्यारे, त्यहि पुरा नभएपछि जता गएर आवस्यकता पुरा हुन्छ त्यतै जानु प्राकृतिक नियम नै होला । त्यसैले महिला आवश्यकता पच्छ्याउदै पोइला गईदिन्थे अनि पुरुष पानीमरुवामा दर्ता हुन पुग्थ्यो ।

श्रीमती भागेपछि पानीमरुवाको जिन्दगीमा अनेक मोड आइपर्छन । बरु श्रीमतीको मृत्यु भएर बिदुर भएका पुरुषको दोश्रो विहे गराउन सजिलै हुन्छ तर श्रीमती पोईल हिडेर एक्लिएको फुस्राको विहे गराउन साह्रै गाह्रो । अझ जायजन्म नहुदै स्वास्नी भाग्दिई भने त्यो पुरुष माथी हजार शंका उपशंकाहरु गरिन्छ । कसैले छोरी दिन मान्दैनन ।

पहिलेकी आइमाई के भएर भागीछे ? जायजन्म गराउन नसकेर भागेकी त हैन? भनेर सबैभन्दा पहिला पुरुषको ‘सामर्थ्य’माथि प्रश्न उठाइन्छ । नामर्द भएर नै पुरानी स्वास्नी भागेकी हो भने त्यस्तालाई क्यारी छोरी दिनु? छोरी दिनेको शंका पनि गलत त होइन त्यसैले एउटी आईमाईले छाडेको पुरुषलाई अर्की खोज्न हम्मेहम्मे नै पर्छ ।

अझै साँच्चैको बेईज्जत त त्यतीबेला हुन्छ जतिबेला चार चार वर्ष संगै वस्दा दुईजिउकी हुन नसकेकी आईमाई पोईल जाने वित्तीकै दुई जिउकी भएर अर्को साल छोरो काखमा लिएर हिड्न थाली भने त्यो पुरुष कतै मुख देखाउन लायकको रहदैन । ए ठुल्कान्छाले नसकेरै हो रैछ भनेर गाउलेहरुका हल्लाले उसलाई नपुंसक नै करार गर्दिन्छन ।

त्यसैले गाँउतिरका बुढाहरुले कुनै केटाको श्रीमती भागी भने छिटो भन्दा छिटो विहे गराईदिन्छन । त्यो समयमा जति बिहे गर्न ढिलो हुन्छ उति हल्ला बढी हुदै जान्छ। जति बढी हल्ला हुन्छ पानीमरुवा नामर्दको बिहे गर्न उती गाह्रो हुदै जान्छ । साह्रै अफ्ट्यारो पार्थे पोईल हिड्नेहरुले। त्यसमाथीबाट “जार काट्ने” रन्को बेग्लै । सके त जार नै काट्ने हो नसके जारिसम्म फिर्ता ल्याउन सके पनि अलिकति सम्पत्ति आउथ्यो तर त्यो ल्याउने बेलासम्म खेप्न पर्ने आरोप सम्झदा पानीमरुवाहरु त्यसै बिरक्तिनु पर्ने आवस्था हुन्छ ।

एक त स्वास्नी पोइला गएकालाई छोरी कसैले नदिने । दिईहाल्ने अवस्था भयो भनेपनि भुसको थुप्रोमा पिसाव गर्न लगाउने । यो त एक किसिमको अपमान हो नि । भुसको थुप्रोमा पिसाव गर्न लगाउने ‘मर्द’ हो कि होइन भन्ने नाप्ने जाच्ने तरिका हो रे । पानीमरुवा हो भने पिसाव गर्दा भुसमा खाल्डो पार्न सक्दैन मर्द हो भने भुसमा खाल्डो पार्छ । यो कुरामा समाज अझै बिस्वस्त छ । पिसावको धारो कुन प्रेसरमा गएर भुसको थुप्रोमा पर्छ त्यही अनुसार पानीमरुवा या मर्दको प्रमाणपत्र त्यो मान्छेले पाउछ त्यसपछि मात्र बिहेको कुरा अगाडि बढ्छ ।

जसोतसो बिहे भईहाल्यो भनेपनि सुख छैन बिचरालाई । साना साना गल्तिहरुमा नयाँ स्वास्नीले ‘यहि भएर’ ‘यस्तै भएर’ पहिलेकी भागेकी रैछ भनेर बचन लाउनु सामान्य हो । “पहिलेकी लाई रत्याउन सकेन अबकीलाई क्यार्छ कुन्नि” भन्ने च्व च्व किसिमको दया देखाउने बुढाहरुले समेत हैरान पार्छन ।बिहे नगरे एक्लै जिन्दगी बिताउन गाह्रो हुने बिहे गरोस भने बचनैले ज्यान सुकाउने । कति साह्रै पिरलो प्रभु ।

Logo