अनुशासनहिन र भ्रष्ट नेपाल प्रहरी

अनुशासनहिन र भ्रष्ट नेपाल प्रहरी

केन्द्रबिन्दु
0
Shares

बिहानै छापाहरुमा समाचार आयो “बिनाकारण सर्वसाधारणलाइ कुटपिट गर्ने प्रहरी निलम्बित…”। म अचम्म पर्छु कसरी त्यतिलामो तालिम लिएर सपथ खाएर सेवा प्रवेश गरेको एकजना प्रहरीले निर्दोष सर्बसाधारणलाई कुटपिट गर्न सक्छ ? त्यस किसिमका अन्यायपूर्ण कुटपिटका घटनाका समाचारका शिर्षक ‘बिना कारण’ भन्ने आएपनि त्यस्ता घटनामा प्रहरीहरुको स्वार्थ कहासम्म जोडिएको हुन्छ त्यो हामी सबैलाई थाहा भएकै कुरा हो। सबैभन्दा दुर्भाग्यको कुरा प्रहरी संगठन नै अनुशासनहिन र भ्रष्ट छ जसलाई सुधार्न अब असम्भव जस्तै देखिन्छ ।

विकसित देशहरुमा प्रहरी संगठन भित्रको अनुशासन समाजको उच्चतम उदाहरण मानिन्छ । नियम र कानुन पालना गराउने जिम्मेवारी बोकेको प्रहरी संगठन चेन अफ कमाण्डको हकमा निकै अनुशासित हुनुपर्दछ । तर नेपाल प्रहरी न चेन अफ कमाण्ड प्रति जिम्मेवार छ न जनताको मर्यादा प्रति नै जिम्मेवार छ । नेपाल प्रहरीको व्यक्तिगत अनुशासनको त कुरै नगरौं । अनुशासनको मामलामा नेपाल प्रहरी निकै गएगुज्रेको र अनुशासनहिन मान्छेहरुको भिड हो भन्दा फरक नपर्ला ।

प्रहरीको कुनै हाकिमले तल्लो दर्जाको सिपाहीलाई काम अह्राएको या बोलाएको सम्बोधन सुन्नुभएको छ ? सबैभन्दा तल्लो दर्जाका सिपाहीहरुले माथिल्ला ओहदाका हाकिमहरुबाट पाउने सम्बोधनहरु सुन्नै नसक्ने खालका हुन्छन । प्रहरीहरु गाली र अपशब्दको प्रयोग नगरी आपसमा कुरा गर्नै जान्दैनन । अपशब्द नेपाल प्रहरीको पहिचान नै भईसकेको छ । अझ सिनियरले जुनियरको नाम अगाडि अश्लिल शब्द नलगाई बोलाउदै बोलाउदैन ।

त्यसो भन्दैमा सबै प्रहरी खराव या सबै प्रहरी अनुसाशनहिन भन्न खोजेको होइन । मेरो निकै राम्रा शिक्षित् र अनुशासित प्रहरीहरुसँग पनि संगत भएको छ । त्यस्ता प्रहरी अधिकारिहरु थोरै संख्यामा मात्र भेटिन्छन । समाजमा रहेपछि प्रहरीसँग भेटिनु या प्रहरीसँग काम पर्नु स्वाभाविक नै हो । प्रहरी पनि हाम्रै समाजको अभिन्न अंग भएको कारण प्रहरी बिनाको समाजको परिकल्पना गर्न पनि गाह्रै हुन्छ ।

प्रहरीसँग नचाहादा नचाहादै पनि निकै पटक जम्काभेट हुन्छ हामीहरुको । एकपटक राजधानीको निकै ब्यस्त मानिने सोह्रखुट्टे हुँदैं हामी तीनजना साथी नयाँबजार म्हैपी तर्फ जादै थियौं ।रातको समय थियो । म, मेरा एकजना कलाकार मित्र सगुन श्रेष्ठ र अर्का एकजना साथी हुनुहुन्थ्यो । छुट्टीको रमाईलो पश्चात डेरातर्फ फर्कदै थियौं । म्हैपीनेर पुग्दा प्रहरीले हाम्रो ट्याक्सी रोक्यो र रक्सी खाछस ? भनेर सोध्यो रातको बाह्र बज्दैथियो ।

हामीले रक्सी खाएका थिएनौं बरु खाने योजनामा थियौं । हामीले खाएका छैनौं भन्यौं । प्रहरीले स्मार्ट हुन्छस भनेर अघिल्लो सिटमा बसेको साथीलाई एक झापड हान्यो । सगुन र म गाडीको पछाडिको सिटमा थियौं । सगुनले ट्याक्सीबाट ओर्लिएर प्रहरीलाई हात किन हालेको भनेर प्रतिवाद गरे ।

अध्यारोमै पनि सगुनलाई चिनेपछि हात हाल्ने प्रहरी अलि हच्कीयो र मोटरसाईकल लिएर त्यहाँबाट भाग्यो । तर जाँदाजाँदै उसले यति धेरै अपशब्दहरु बोल्यो कि त्यो यहाँ उल्लेख गर्न सम्भव नै छैन । ड्युटीमा रहेको उक्त प्रहरी रक्सीले मातेको थियो । हामीले सह्यौं किनकि कामकाजी मान्छेहरुले त्यस्ता प्रहरीसँग निहुँ खोजेर साध्य हुदैन । सोह्रखुट्टे एरियामा गुण्डासँग भन्दा प्रहरीसँग धेरै डराउनुपर्ने अवस्था अहिले सम्म पनि छ ।

ठमेलबाट बालाजु हुँदैं बसपार्क मनमैजु तर्फ राती एक्लै जादा गुण्डाले भन्दा गुण्डाको भेषमा रहेका प्रहरीले धम्क्याएर लुट्ने पिट्ने सम्भावना बढी छ ।

अर्को एउटा घटना मेरो सम्झनामा सधै ताजा भएर बसिरहन्छ । त्यो बेलामा मैले बुटवलमा मोबाईल पसल गर्थें । एकजना मान्छे प्रहरी हुँ भन्दै मेरो पसलमा आयो । खरिद बिक्रि विल निकाल्नुस भन्यो । म अनुसन्धानको मान्छे हुँ भन्यो । मैले डराएको अभिनय गर्दै गएँ । यसले कतिसम्म हेप्दोरैछ आज विचार नै गर्नुपर्यो भनेर उसले सोधेका कुरामा डराई डराई जवाफ दिदै गएँ ।

भ्याटमा रजिष्टर्ड कम्पनी हो मेरो । मासिक कर तिरिरहेको हुन्छु फेरि पनि पुलिस हुँ भन्दै विल चेक गर्न छिर्छ सम्बन्ध नै नभएको मान्छे । मेरो पनि उसलाई बिचार गर्ने रहर बढ्दै गयो । उसको ब्यबहार देखेर पारो तात्दै गयो । हुँदा हुँदा उसले अण्डर विलिङ गर्नुहुदो रहेछ हामीसँग सुचना छ तपाईको सामान जफत हुन्छ म भ्यान बोलाउँछु सम्म भन्न भ्यायो ।

त्यो बेलाको बुटवल प्रहरीको एउटा राम्रो कुरा के थियो भने ईलाका प्रहरी कार्यालयमा प्रहरी ईनिस्पेक्टर रामेश्वर कार्की थिए । उनीसँग मेरो राम्रो सम्बन्ध थियो । उनी एक अशल चरित्र भएका प्रहरी अधिकारि थिए । ब्यापारीहरुलाई त्यसरी कसैले अनधिकृत तरिकाले धम्क्यायो भने ‘मलाइ सोझै फोन गर्नु’ भनेर मोबाइल नम्बर पनि दिएका थिए । भाई भन्थे मिठो बोल्थे र अन्याय हुन दिदैन थिए । पछि उनको बढुवा भएर दोलखातिर सरुवा भयो त्यता गएर पनि उनले उदाहरणीय कामहरु गरेका समाचारहरु आइरहन्थे ।

संविधान सभाको निर्वाचन ताका राजनैतिक दल खासगरी माओवादीको चन्दा आतंक पनि उचाईमा थियो । जो कोही पनि हातमा रातो रसिद लिएर पसलमा छिरेर माओवादी हुँ भन्थ्यो र पैसा माग्थ्यो । व्यापारीहरु आजित भएका थिए ।

त्यसरी चन्दा माग्न आउनेहरु ‘रामेश्वर कार्कीलाइ बोलाईदिउ ?’ भन्दा डराएर फर्कने अवस्था रामेश्वर कार्कीले बनाएका थिए । त्यो अनुसन्धानको मान्छेले पनि मलार्इ त्यसरी नै पैसा नलिई नछोड्ने भयो भने रामेश्वर कार्कीलाई नै फोन गर्नुपर्ला भन्ने ढाडसले र आफुले कुनै गल्ति नगरेको कारणले मैले त्यो घुस्याहालाई जिस्क्याईरहेको थिए ।

उसले बार्गेनिंग सुरु गर्यो । पचास हजार देउ नत्र भ्यान बोलाएर पसल उठाउछु भन्यो । मेरो पनि रिसको पारो अति चढ्यो । यो काम प्रहरीको क्षेत्राधिकार भित्रको त हुँदै होईन । तपाईलाई मेरो पसलमा छिरेर खरिद विक्री अनुगमन गर्ने अख्तियारी कसले दियो ? भनेर म जुरुक्क उठेर चर्को आवाजमा कराएँ । ल बोलाउ भ्यान मेरो पसल उठाएर लैजाउ म पनि हेर्छु । बरु मै बोलाउछु रामेश्वर कार्कीलाई भनेर नम्बर डायल गर्न थालेको त्यो प्रहरी हुँ भन्ने मान्छे जसले अगी भर्खर सम्म ५० हजार चालीस हजार तिस हजार हुदै दश हजार दिए केही नगर्ने भनेर बार्गेनिङ गरीरहेथ्यो त्यो अचानक उठेर भाग्यो ।

अझ भैरहवा भन्सार देखी बुटवल सम्म हाईवे चेकिङ र त्यताका घुमुवा प्रहरीको चर्तिकला हेर्दा अचम्म परिन्छ । घरायसी प्रयोगको लागि आउने सामानमा हुने छुटको दुरुपयोग गर्दै सामान ओसारपसारमा सयौंको संख्यामा ‘पोके तस्कर’ हरु त्यो क्षेत्रमा कृयाशील हुन्छन । सानासाना पोकामा खाद्यान्न लगायत लत्ता कपडा ओसार्नु उनीहरुको धन्दा हो । लागुऔषध ओसार्नेहरु पनि उत्तिकै छन् ।

ति सबै साना पोके तस्करसँग प्रहरीको मिलेमतो हुन्छ । सादा पोशाकमा प्रहरी तस्करको पछिपछि हिड्छन । प्रहरी साना तस्करलाई समाउदैनन, रोक्दैनन । तर त्यो पोकेसँग जुन व्यापारीले सामान किनेर पसलमा बेच्न राख्छ त्यस्ता पसलको पहिचान गरेपछि तस्करीको सामान बेचेको अभियोगमा पसलेलाई धम्क्याएर हप्ता असुली गर्छन । जागिरमा बहाल रहेको पुलिसले मात्र होइन रिटायर्ड भईसकेका पुलिसहरुले समेत आफुलाई “घुमुवा प्रहरी हुँ’ भन्न छोड्दैनन । यो सब प्रहरीको संस्कार हो । ९९ प्रतिशत प्रहरी भ्रष्ट छन् यो कुरा ठोकुवा गरेर भन्न सकिन्छ ।

मुद्दाको मामलामा त मुद्दा शाखाको ‘सुब्दार मेजर’ न्यायधिस भन्दा माथि हुन्छ । कुनै मुद्दा पर्यो र कोहि पक्राउ पर्यो भने मुद्दा चलाउने नचलाउने, चलाए पनि कुन प्रकृतिको चलाउने इत्यादि अख्तियारी त्यहि मुद्दाफाँटको हाकिमको हुन्छ । मोबाईल पसल गर्ने मेरो एकजाना साथी थियो । बुटवलको पुरानो बसपार्क फेरिएर नयाँ तरकारी बजार बनेको प्रवेश द्वारमै । एकदिन प्रहरी आयो पसलबाट केहि सिडी डिभिडी र कम्प्युटरहरु उठाएर लिएर गयो ।

उसलाई गीत कपी गरेर बेचेको, निलो सिनेमा बेचेको लगायत धेरै आरोप लगाउछौं भनेर धम्क्याएर थुनेर राख्यो प्रहरीले । अन्त्यमा केहि रकम दिए सानो मुद्दा चलाइदिने र छिटै छुटाईदिने सर्त राख्यो सुब्दार मेजरले । उसका आफन्तले पैसा जोहो गरेर बुझाए । पछि सिडियोले उसलाई धरौटीमा छोड्यो तर प्रहरीले उसको कम्प्युटर र उसको पसलबाट लागेको मोबाईल सेट लगायत अन्य जफत गर्नै नपर्ने कतिपय कुराहरु फिर्ता दिएनन ।त्यो भार्इ व्यवसाय नै छोडेर पलायन भयो ।

नेपाल प्रहरी प्रति मेरो उच्च सम्मान छ । त्यहि संगठन भित्र अत्यन्तै इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकारिहरु पनि नभएको होइन तर अधिकांश प्रहरीको आचरण भ्रष्ट भएको कारण सिंगो प्रहरी संगठन प्रति नै जनविश्वास घट्दै गईरहेको देखिन्छ । दुर्गा पंगेनी

Logo