आन्दोलन र संघर्षको ऐतिहासिक गाउँ हो सिन्धुपाल्चोकको पिस्कर । त्यतिखेर पिस्कर गाउँ पञ्चायत थियो अहिले त्रिपुरासुन्दरी गाउपालिका भएको छ । ५ वटा गाविसलाई मिलाएर यो गाउँपालिका बनेको हो । यो गाउँपालिकाको केन्द्र पिस्करलाई नै तोकिएको छ ।
पस्किर परिवर्तनको जग हो । सहिदहरुले बलिदानी दिएको ठाउँ हो । सयौ मान्छेहरुले पञ्चायतीविरुद्ध जेल नेल भोगेको ठाउँ हो । २०४० सालको माघ १ गते राती ३ बजे तत्कालिन पञ्चायती निरकुंश शासकहरुले अत्यन्तै ठूलो शक्ति उतारेर भिषण दमन गरेका थिए ।
थामी, नेवार, शेर्पा, तामाङ, क्षेत्री बाहुन लगायत विविध मिश्रित जाती भएको गाउँ हो पिस्कर । त्यतिबेला यो निकै विकट गाउँ थियो । पिस्करमा एउटा महादेवस्थान छ । जहाँ जनताले परम्परादेखि नै जात्रा मनाउथे ।
माघे संक्रान्तिको दिन त्यहाँ ठूलो मेला लाग्छ । अहिले पनि त्यहाँका स्थानीयले यो पर्वलाई असाध्य ठूलो पर्वको रुपमा लिन्छन् । त्यतिबेला पिस्करमा अत्यन्तै पुरानो खालको बर्बर र सामन्ती शोषण र अत्याचार थियो । त्यहाँका जनता त्यो अत्याचारमा पिल्सिएर बसेका थिए । उनीहरु मुक्ति चाहिरहेका थिए । त्यहाँ स्कुल थिएन त्यसैले जनता निरक्षर थिए । आर्थिक रुपमा पनि उनीहरु विपन्न र निकै पछाडि परेका थिए ।
पिस्कर मेरो जन्मस्थान पनि हो । राजनीतिको कर्मभूमि पनि हो । मैले निकै कष्ठकर राजनीतिक जीवनको सुरुवात गरेको ठाउँ हो । मैले नेपाल कम्युनिष्ट पार्टीको वि.सं. २०२२ सालमा औपचारिकरुपमा पार्टीको सदस्यता लिएँ । जब म कम्युनिष्ट पार्टीको सम्पर्कमा गएँ । हामीले त्यहाँका जनतालाई विस्तारै राजनीतिक चेतना दिन थाल्यौ । किसानहरुलाई किसान संगठनमा संगठित गर्न थाल्यौ । महिलाहरुलाई क्रान्तिकारी महिला संगठनमा संगठित गर्न थाल्यौ ।
हाम्रो उद्धेश्य पञ्चायत फाल्ने मात्र थिएन गणतन्त्र प्राप्त गर्ने थियो । त्यही बेला हामी जनवादी व्यवस्था अर्थात जनवादी गणतन्त्र भन्थ्यौ । हामी समाजवादसम्म पुग्ने उद्धेश्यका साथ त्यो राजनीतिक आन्दोलनको यात्रा त्यहाँ थालनी गर्याै । हामीले सिन्धुपाल्चोकमा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी निर्माण गरेका थियौ । त्यो कमिटीको सक्रिय सदस्य म पनि हुँ ।
जब स्थानीयमा मुक्तिको बाटो पनि रहेछ भन्ने मनभित्र पर्याे तव उहाँहरु विस्तारै शोषणको विरुद्धमा उत्रिन थाले । उनीहरुले आवाज उठाउन थाले र सामुहिकरुपले प्रतिवाद गर्न थाले । उनीहरु आफ्नो अधिकार र स्वाभिमानका निम्ति लड्न थाले । विस्तारै त्यसको असर शासकहरुमा पर्न थाल्यो । प्रशासनमा पर्न थाल्यो । केन्द्रमा चर्चा परिचर्चा हुन थाल्यो ।
यावत कुराहरुले ममाथि गोली नै हान्ने खालको कुराहरु चल्यो । मलाई कम्युनिष्ट, आतंकवादी, उग्रवादी लगायत भन्न थाले । मलाई जिउँदो भेटे जिउँदो, नभेटे टाउको भए पनि ल्याउनु भन्ने खालका आदेशहरु आएको खबर सार्वजनिक भए । ममाथि यसतो कडा वारैन्ट जारी भए पश्चात म भूमिगत हुन वाध्य भए ।
मैले भूमिगतरुपबाटै पार्टी कमिटीहरु निर्माण गर्दै अघि बढ्यौ । किसान जनताले शोषण दमनको प्रतिवाद गर्न थाले । पिस्करमा स्थानीयले जे गरे सामुहिक रुपमा प्रतिवाद गरे । सामन्ती शासकले त्यहाँबाट छानेर अगुवाहरुलाई पक्रेर ल्याउन चाहन्थे तर त्यो कहिले गर्न दिएन । उनीहरु एकैपटक दुई तीन सय जनाले गिरफतारी दिन्थे ।
यसरी आन्दोलनको पृष्ठभूमि बन्दै थियो । वि.सं. २०४० सालको सेरोफेरोमा हामी पुग्यौ । अनि त्यो माघे संक्रान्तिमा हजारौ मान्छेहरुको भेला हुने ठाउँमा हामीले यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरुलाई जनचेतना वृद्धि हुने सास्कृतिक अभियानका रुपमा चलाउथ्यौ । जनताको आस्था धर्म कर्ममा कुनै विरोध गर्दनथ्यौ । बरु हामी जनवादी चेतना दिने र अधिकार प्राप्तीको चेतना दिने गर्दथ्यौ । यसैक्रममा मेलामा प्रगतिशिल गीत र नाटकहरु मञ्चन गर्याै । माघे संक्रान्ति आउनु ठिक एक हप्ता अगाडि म त्यहाँ पुगेको थिए । माधव पौडेल त्यही हुनुहुन्थ्यो । अष्टलक्ष्मी शाक्य काठमाडौं घर छोडेर सबैभन्दा पहिले बसेको ठाउँ पनि पिस्कर हो र उहाँहरुले संगठनको धेरै राम्रो आधारहरु बनाएका थिए ।
मेलामा कम्युनिष्ट नेताहरुको जमघट हुन्छ भन्ने हल्ला चलिसकेको थियो । सबैलाई एउटै चिहान पार्नुपछ भनेको समेत सुनियो । त्यसपछि त्यसको कसरी सामुहिक प्रतिवाद गर्ने र जनता कार्यकर्ताको सुरक्षा कसरी गर्ने त्यसको आवश्यक तयारी र व्यवस्थापन गरेर म विशेष कामले काठमाडौं फर्के ।
मेलाको कार्यक्रममा अमृत बोहोरा पनि आउँछ । तिनले राजतन्त्रविरुद्ध संघर्षको घोषणा गर्छ भन्ने कुराहरु सुनिएको थियो । पिस्करका जनता सामुहिक रुपमा बस्थे, सामुहिक प्रतिवाद गर्थे र सामुहिक गिरप्mतारी दिन्थ । उनीहरु गरिव थिए तर कम्युनिष्ट भावना निकै माथि थियो । त्यसैले भोक, निन्द्रा थकाई प्यासप्रति उनीहरुको असाध्यै संवेदनशील थिए ।
मेलामा वरुपर ५/७ गाउँका मान्छेहरु भेला भएका थिए । मकै, भटमास, तरुल, सखरखण्डहरु बाड्दै थिए । नाटक पनि चल्दै थियो तर एक्कासी गोली चल्यो । कार्यक्रममा कुनै चेतावनी समेत नदिई अन्धाधुन्ध आक्रमण गरे । असख्य गोली चले । तर मान्छेहरु एकरती डगमगाएनन । जसलाई जहाँ लाग्यो लाग्यो तर उनीहरुले सामुहिक प्रतविाद गरे ।
सबैभन्दा पहिला विर बहादुर थामी जो त्यहाँको असाध्यै दृढ लडाकु योद्धा थिए । उनी घट्ट थापेर जीवन निर्वाह गर्थे । इरी थामी भूमिहिन गरिव किसान हुन् । सबैभन्दा पहिला जेठा थामीलाई कन्चटमा गोली लाग्यो । उहाँले ऐया पनि भन्न पाएनन् । ढल्नु भयो । इरी थामीलाई पेटमा गोली लाग्यो । उहाँको आन्द्राभुडी समेत छताछुल्ल भयो । तर उहाँले आफ्नै आन्द्राभूडी भित्र खाँडेर लड्नु भयो । र सास्कृतिक कार्यक्रममा प्रयोग भएका सामाग्रीहरु जोगाउने र मान्छेलाई संरक्षण गर्नतिर लाग्नु भयो । उनलाई प्रहरीले घिसारेर झण्डै १० मिनेट टाढा लगी थप गोली हानेर हत्या गरे ।
त्यहाँ पाल्कामाया थामी, जगत बहादुर बोहोरा, थुप्रैलाई गोली लाग्यो घाइते भए । प्रहरीले ९ जना साथीहरुलाई अर्धकल्चो घाइते अवस्थामा गिरफ्तार गरियो । तर उनीहरु एकरती कोही भागेनन् । ढुंगामाटो जे जे छ त्यहीले प्रतिवाद गरे ।
त्यो देखेर प्रहरीहरु पनि आतंकित भए । प्रहरीले मारिएकाहरुको लाश लिएर जान खोजेको थिए तर जनताले खोसे । प्रहरीहरुलाई भगाईयो । भोलिपल्ट आप्mनै परम्परा अनुसार उनीहरुको सदगद गरियो ।
घाइते ९ जनामा कसैको हात गयो, कसैको छातीमा गोली लाग्यो तर प्रहरीले रगत चुहाउँदै पक्रेर लग्यो । त्यो आन्दोलनका प्रभावमा अरु ५ जनाले सहादत प्राप्त गरे । त्यो घटनापछि प्रहरकिो थप शक्ति लगेर पुरै गाउँ घेरा हाल्यो । बाह्रविसे, खरिढुंगा, टौथली टेकानपुर चोतर्फी घेराउ गरेर कसैलाई पनि त्यहाँ भित्र पस्न दिइएन । अनि एउटा यस्तो ठूलो आतंकको वातावरण सिर्जना गरियो । कोही घरमा बस्न नसक्ने भएपछि घर छोडेर हिडे । जसले गर्दा सुत्केरी महिला खानपिन नपाएर त्यतिकै मरे । एक जना बुढा किसान ज्वरोले थलिएर सुतेका थिए । उहाँलाई तातोपानी तताएर दिने मान्छे समेत भएनन् । उहाँ त्यतिकै सुतेर वित्नु भयो । एक जनाको घरमा आगलागी गरि दियो । एक जना किशोर त्यही मारिए ।
त्यबिेला अहिले जस्तो संचार सुविधा थिएन । निराकार अन्धाकार थियो । म चाँही काठमाडौको यट्खाटोलमा थिए । । हामी त्यतिबेला तत्कालिन नेकपा मालेमा थियौ । नेकपा मालेकै पहलकदमीमा त्यो सबै आन्दोलनको पृष्ठभूमि निर्माण भएको हो ।
हामी पोलिब्युरो बैठकको तयारीको सिलसिलामा थियौ । त्यतिबेला झलनाथ खनाल तत्कालिन मालेका महासचिव थिए । मदन भण्डारी पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । म, माधव वामदेव, जिवराज आश्रीत सदस्य थियौ । हामीलाई यो घटनाको कुनै जानकारी थिएन
त्यतिबेला चित्रण भन्ने साप्ताहिक पत्रिका निस्कन्थ्यो । पत्रिकामा पिस्करमा गोली चलेको र हताहती भएको समाचार आए । घाइतेहरुको लखोजोखा समेत नभएको खबर आएपछि हामी एकदमै मर्माहत भयौ । त्यसपछि के गर्ने र कसो गर्ने भइयो र तत्काल पालिब्युरो बैठक बस्यौ । यो बैठकले दमनको प्रतिवाद गर्नुपर्छ भन्ने निष्कर्श निकाल्यो । तत्कालिन जिल्ला प्रशासनलाई समेत यो घटना थाहा थिएन ।
मैले नै त्यहाँको वास्तविकता ल्याउनुपर्ने भयो । धेरै दुःख गरेर केही दिनपछि म पिस्कर पुगे । त्यहाँको यथार्थ तथ्य पनि ल्याए । गोविन्द वियोगी त्यतिखेर मातृभूमि पत्रिकाको सम्पादक हुनुहुन्थ्यो र उहाँसँग मेरो राम्रो मित्रता थियो । त्यो मित्रतालाई प्रयोग गरेर गोप्यरुपमा भेटेर रिपोर्टिङ गर्न अनुरोध गरे ।
पछि उहाँको नेतृत्वमा १७ जना पत्रकार त्यहाँ जानुभयो । तर क्यामेरा लैजान दिएन । उहाँहरु दुई तीन घण्टा घुमेर रगत लागेका पात, ढुंगा, चोइटा समेत लिई काठमाडौ फर्के । पछि ठाउँ ठाउँमा जुलुशहरु प्रदर्शन गरियो । नेताहरुबाट यो आन्दोलन नेकपा मालेको नेतृत्वमा भएको भए पनि प्रजातन्त्र र पञ्चायतविरुद्धको आन्दोलन भएकाले साझा आन्दोलन सामुहिक आन्दोलनका रुपमा फैसला गर्याै ।
यस बारेमा सबैभन्दा पहिला गणेशमानसिंहले बोल्नुभयो । त्यसपछि कृष्ण प्रसाद भटट्राई, मनमोहन अधिकारीले वक्तत्व दिनुभयो । सहाना प्रधान, बिष्णुबहादुर मानन्धर, तुलसी अमात्य, ऋषिकेश शाह लगायतले धारण राख्नुभयो ।
घटनाक्रम अघि बढ्दै पछि सरकारलाई अन्तराष्ट्रिय दवाव आयो । ठूलो घटनाको रुप लिने देखिएपछि सरकार पछि हट्यो । अनि त्यहाँको नाकावन्दी खुकुलो गरियो । ३ दर्जन जतिलाई जेलमा हालेर निमर्म यातना दिइयो । उनीहरुले झुठा आरोप सामना गरे जेल नेल भोगे तर आत्मसमर्पण गरेनन् ।
कुराकानीमा आधारित





























प्रतिक्रिया