गाउँघरमा कुनै युवतीको कुनै युवक मित्रसँग अथवा कुनै युवक कोही युवतीसँग कतै कुनाकन्दरा, एकान्त वा बारी खरबारीतिर भेटघाट गरेको बोलचाल गरेको कसैले देख्यो भने उनीहरुको चरित्रमाथि प्रश्न चिन्ह लाग्छ । त्यसरी कोहि चरित्रहीन हुन् भन्ने हल्ला एकपटक चल्यो मात्र भने त्यसपछि उनीहरुको विहे हुनै गाह्रो हुन्छ ।
हल्ला न हो भनेर हुदैन एक पटक चलेपछि चल्यो चल्यो। एक घर परिवारका सदस्यले विर्सने कोसिस गरे गाउँलेहरुले सम्झाउँछन्, गाउँलेहरुले विर्से पल्ला गाउँलेहरुले सम्झन्छन । पल्ला गाउँलेहरुले पनि विर्से भने सत्रुहरुले सम्झिरहेका हुन्छन् ।
कथनकदाचित सत्रुले समेत विर्सेको रहेछ भने पनि कोहि न कोहि खुराफाती दुष्ट आफन्तहरुले सम्झिरहेका हुन्छन् । त्यसरी कोहि एकान्तमा पक्राउ पर्नु या त्यसरी हल्ला चल्नुलाई ‘बापत लाग्नु’ भनेर परिभाषित गर्ने गर्दछ पुरातन समाजले र त्यस्ता पात्रलाई ‘बापति’ भन्ने चलन छ ।
जसै त्यसरी हल्ला चलेका युवक युवतीको बिहेको कुरा चलेको थाहा हुन्छ। ति दुष्टहरु फटाफट केटा पक्षलाई सुनाउन पुग्छन्, – “विहे गर्ने भएपछि चोखी केटी गर्नु नी ! तो केटी त आँधीखोला आकीनीराँ जोल्टीउँ खेलिराबेला पक्रिएकी हो” फलानासँग खरबारीतिर रल्लिएकी हो ” ! ईत्यादी भनेर उसको बिहेको कुरो बिगारी छाड्छन र बिहे गर्नेहरुले पनि त्यही कुरा पत्याउँछन् र अन्त्यमा बरौंनी भाँचीन्छ ।
यो ‘मागी बिहे’ को कुरा यति संबेदनशील हुन्छ कि सानों मात्र असमझदारीले हुनै लागेको बिहेको कुरा फिटिक्क अगाडि बढ्दैन । ति युवा युवतीहरुको बदनामी अझै बढ्दै जान्छ ।
जति मुख उति कुरा, जति आँखा उति दृश्य र जति कान उति हल्ला भईरहन्छ । वास्तवमा अप्ठेरो परि आएको खण्डमा ‘मागी विवाह या नि एरेन्ज म्यारिज आफैमा निकै झन्झटिलो प्रोसेस हो । त्यसमाथि बापतिको मागी विवाह असम्भव जस्तै कुरा हो ।
कथंकदाचित त्यस्ता पात्रको मागी बिहे भईहाल्यो भने या त उनीहरुको दोष लुकाउन मनग्य ‘दाईजो’ को प्रयोग गरिएको हुन्छ या ‘खोटी’ पात्रसँग लगनगाँठो जोडिएको हुन्छ । त्यसरी बिहे भएपनि त्यस्ता पात्रले जिन्दगीभरी खिसीट्युरीको सामना चाहि गरिरहन परिरहेको हुन्छ ।
नेपाल सरकारले लगानी गरेर जनताको सहुलियतको लागि ब्यापार गर्न खोलिएका संस्थान या निगमहरु ‘बापत’ लागेका मान्छे जस्तै हुन् । र त्यो संस्थानमा जागिर खान नियुक्ति पाएका हाकिमहरु बापतिसँग बिहे गर्न लागेका युवा जस्तै हुन् ।
जो या त पहिल्यै भ्रष्टाचार गरेर ‘बापति’ को ट्याग भिरिसकेका हुन्छन या त्यो संस्थानमा गएर मनग्य रुपमा सित्तैको ‘दाईजो’ आर्जन गर्ने लालसामा बापति पद स्याहारेका हुन्छन ।
नेपाल आयल निगमलाई भण्डारण स्थल ‘डिपो’ निर्माण गर्न आवश्यक पर्ने जग्गा खरिद गर्दा त्यसका महाप्रवन्धक गोपाल खड्काले मनग्य ‘दाइजो’ कुम्ल्याएछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मुद्दा दर्ता गरेर कारवाहीको दायरामा ल्याएको छ । बापति संस्थामा चरित्रहीन हाकिम नियुक्त गरेर दाइजो कुम्ल्याउन कुन कुन लमी सक्रिय थिए ति लमीहरुलाई कारवाही कहिल्यै हुदैन किनकि बापतिको बिहे गराएको भनेर लमीलाई सजाय भएको मैले अहिले सम्म देखेको छैन ।
यो जहाज खरिद गर्ने प्रक्रिया पनि ‘बापतिको मागी विवाह’ भन्दा फरक रहेनछ । निगमलाई जहाज नभई भएको थिएन । जहाज नल्याउने हो भने टाट पल्टेको घोषणा गर्नु सिवाय निगमसँग अरु विकल्प छदै थिएन ।
त्यस्तो हरितन्नम भएको निगमलाई बौराउनको लागि सुगतरत्नले जहाज किन्ने हिम्मतिलो निर्णय लिए । आखिर त्यहि निर्णय उनको लागी ‘बापति संगको बिहे’ साबित भयो । उनलाई आरोप लगाउने र गाली गर्नेहरुको लर्को यति लामो छ कि अहिले गनेर साध्य छैन ।
यहाँ हल्लाले पारेको प्रभावको बारेमा कुरा गर्न खोजिएको हो । समाज कस्तो हल्लाखोरे भएको छ भने कुनै पनि विषयको देखिएको धरातल भन्दा गहिराईमा पुगेर कसैले बुझ्नै चाहदैन । हल्लालाई यस्तो किसिमले विश्वास गर्दिन्छन की उनीहरुलाई त्यो हल्लामा सत्यता छैन भनेर बुझाउन असम्भव नै हुन्छ ।
“भर्खरै हल्ला चल्यो निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जहाज किन्दा भ्रष्टाचार गरे” ।।१ अब यो हल्लाको पछाडि कति सत्यता छ त्यो कसरी बाहिर आउँछ अथवा त्यसलाई कुन किसिमले विश्वास गर्ने भन्ने तर्फ कोही लागेनन् । एकोहोरो उनले पैसा खाएकै हो भनेर रटान लगाउने र उनलाई अपराधी सावित गर्ने हल्लाखोरेहरुले सामाजिक सञ्जालमा कब्जै जमाए ।
केही बुद्दीजीबीहरुले पटक पटक दोहोर्याईरहे की भ्रष्टाचारको छानबिन गरेर मुद्दा चलाउने निकाय अख्तियार दुरुपयोग अनुसान्धान आयोग हो र प्रमाणीत गर्ने अदालतले हो । बाँकी समितिहरुले भ्रष्टाचार भयो की भनेर अनुमान गर्ने र कारवाहीको लागि सरकारलाई सिफारिस गर्ने मात्र हुन । त्यसरी गरिएको अनुमानित सिफारिसकै भरमा कंसाकारको चरित्रको चिर हरण गरिरहेछ सामाजिक सञ्जाल । हाम्रा सामाजिक संजाल प्रयोगकर्ता अशिक्षित होईनन उनीहरु ‘लिंडे ढिपीमा’ बानी परेका पढेलेखेका पटमुर्खहरु हुन ।
विदेशी उड्डयन कम्पनिहरुले एकै पटकमा सयौंको संख्यामा नयाँ विमान खरिदको सम्झौता गरेका हुन्छन र चरणवद्द रुपमा निर्माता कम्पनी या आपूर्ति गर्ने सम्झौता गरेको एजेन्ट कम्पनीले ति विमानहरु सम्बन्धित कम्पनीलाई आपूर्ति गरिरहेको हुन्छ । सयवटा किनेपनि या एउटामात्र किनेपनि त्यो किनबेचको प्रक्रिया उस्तै हुनेकुरा विज्ञहरु बताउँछन् ।
यस्ता अन्तर्राष्ट्रिय स्तरका खरिदमा भ्रष्टाचार हुने सम्भावना ज्यादै न्युन हुने कुरामा जानकारहरु ढुक्क छन् त्यसैले त पूर्व सचिव भिम उपाध्याय लेख्छन्, “एउटा वाईडबडी जहाज खरिद गर्न सकिने रकमले दुईवटा जहाज किन्ने जिएम सुगतरत्नले रू. दश अर्ब भन्दा बढी राष्ट्रको रकम बचत गराएका छन् तर उनी उपर नै किन अहिले चार्ज लाग्दैछ ? विज्ञहरू नबोल्ने र तिनको विश्लेषण नसुन्ने कुराको धरातलनै नबुझेकाहरुका कुरा र अनुमानकै भरमा समाज किन उचालिन्छन् ? विश्व बजारमा जहाज खरिद गर्न ‘स्मार्ट विज्ञ’ को क्षमता चाहिन्छ । विज्ञहरूको कुरा सुन्दा सुगत जीले जहाज खरिद कार्यमा विश्वमैं मुलुकका लागि बाजी मारेर दुनियॉलाई अचम्भित पारिदिएका छन् । विज्ञहरू बोलौं खोजौं, राम्रो काम गरेका हुन् भने नेताहरूले सुगतसँग क्षमा माग्नुपर्छ र सुगतले मुलुकलाई ठूलो घाटा लगाएका रहेछन् भने सुगत सजायका भागी हुनुपर्छ । तर यसमा विज्ञहरूले बोल्नुपर्छ, गवॉरहरूले बोलेको उफ्रेको अर्थहीन हुन्छ ।”
उपाध्यायको भाषामा गवाँर भनेका सामाजिक संजालमा प्राविधिक कुरा नबुझी बुर्कुशी मार्ने मान्छे मात्र होइनन । अन्तर्राष्ट्रिय करार, ठेक्का सम्झौता अथवा खरिद बिक्रि प्रक्रिया नै नबुझेका संसदीय समितिका पदाधिकारी समेत गँवार हुन् ।
भ्रष्टाचार भएकै हो भने दोषीलाई कारवाही हुनुपर्छ त्यसमा दुईमत हुनु हुदैन । कुनै हालतमा पनि भ्रष्टाचारको पक्षपोषण गर्न खोजिएको होइन तर यस्ता मुद्दाको निरुपण कुनै न्यायिक निकायले गर्ने कि सामाजिक संजालको भिडले गर्ने ? यो प्रश्न भने झन जटिल भन्दै गईरहेको छ ।
काम नगर्ने, ठगेर खाने र सरकारी पैसामा लुट मच्चाउन बानी परेका धेरै हाकिमहरुले धेरै सरकारी स्वामित्वका निगमहरु रसातलमा पुर्याएको ईतिहास छ हामीसँग । काम नै नगरेर डुबेका हुन् ति संस्थानहरु । अहिले काम गरेर देखाएका सुगतरत्नको कामलाई सह्राहना गर्ने कि आरोप लगाउने ? सामाजिक संजाल प्रयोगकर्ताले विवेकको प्रयोग गर्ने बेला भएको छ । न्यायिक मार्गबाट उनको कामको मुल्यांकन हुनु पर्दछ हल्ला गरेर होइन । सत्रुका हल्लाले त मुखमा हेरेर मुसुक्क हासेका युवायुवतीलाई समेत ‘बापति’ घोषणा गरिदिन्छ ।





























प्रतिक्रिया