न्यायाधिशकी श्रीमती

न्यायाधिशकी श्रीमती

केन्द्रबिन्दु
0
Shares

केही दिन अगाडिको कुरा हो म बिदा मनाइरहेको थिएँ । बार्षिक बिदामा अरु काम नै के हुन्छ र । टिभी हेर्यो बस्यो । अचेल त टिभी भन्दा पनि भिडियोहरुको डिजिटल प्लेटफर्म ‘युट्युब’ बढी रमाइलो हुन्छ । युट्युबतिर निकै चासो भएको मान्छे भएर होला म पनि बरालिदै थिएँ रमाइला भिडियो खोज्दै । त्यत्तिकैमा मेरो अगाडि एउटा घरायसी झगडाको उत्पात रमाइलो भिडियो पिलिक पिलिक गर्दै आइपुग्यो । “न्यायधिस कै श्रीमती अन्यायमा” शिर्षक भएको भिडियो भाइरल भईसकेको थियो । बिजनेश ट्रेन्डिंग कब्जा गरेर डलर वर्षाईरहेको भिडियोमा अचम्म लाग्दा कमेन्टहरु ओईरीईरहेका थिए । त्यो भिडियो हेरेर रमाउने म जस्ता बिदा मनाइरहेका मान्छे कति हुदा हुन अथवा कामकाज छोडेर त्यो भिडियोमा झुम्मिएर जिब्रोले ओठ चाट्ने कतिजना थिए होलान रु म बबुरो अहिले त्यहि सोचेर घोत्लीईरहेको छु ।

प्रसङ्ग पनि खासै नौलो थिएन । हाम्रो समाजमा घटिरहने नियमित घटना जस्तै थियो त्यो। एकजना न्यायधिसको पारिवारिक कुरा भएर मात्र त्यो भिडियो ट्रेन्डिंगमा परेको थियो। अझ नबुझिने किसिमले ‘यौन’ जोडिएको कारणले गुलियोमा कमिला झुम्मिए सरि दर्शकहरु झुम्मिएका थिए त्यहा । युट्युबमा भिडियोको संख्या बढ्दै गयो र ‘न्यायधिश कि श्रीमती’ नाम भएका भिडियो जति आउथे सबैले राम्रो ब्यापार गर्थे। अधिकारकर्मीहरु मुखबाट र्याल र थुक बगाउदै न्यायधिसको घरको प्रवेशद्वारमा कुर्लिरहेका थिए । न्यायधिसको दैलो ‘रत्यौली मय’ भएको थियो । म रमिते बनेर युट्युब भित्रै छिरौला झैं त्यो चर्तिकला हेर्दै थिएँ ।

त्यत्तिकैमा न्यायाधिसकी पिडित भनिएकी श्रीमती स्क्रिनमा देखा परिन र आफ्नो पीडा सुनाउन थालिन् । ‘ए फलाना लोग्ने ल यहा आऊ । यो भिडको रोहवरमा मलाई फेस गर’ । हो, यस्तै थियो उनको भाषा । म अचम्म परें । यदि न्यायधिसले चरम यातना दिएको अवस्था हो भने न्यायधिस कि श्रीमती त्यति टाठी नहुनुपर्ने । अन्यायमा परेकी, एकजना बलिष्ठ पुरुषद्वारा निचोरिएकी महिला जो आज बिहान मात्र घर निकालामा परेर अधिकारककर्मीको शरणमा गएकी थिईन उनको बोलीको डाँको यति ठूलो कसरी सम्भव भयो ? मैले अझै अचम्म मान्दै उनको अनुहारमा हेरें । कतै अन्यायमा परेकी महिलाको साँच्चै अनुहारको कान्तिक्षय भएको छ कि भनेर नियालें । अधिकारकर्मीको ढाडसले होला उनको अनुहारमा दुस्ख वा पीडाको लेस सम्म थिएन बरु आक्रोशले उनी रातै भएकी थिईन ।

एक जना घरधनीको आग्रहमा कुनै घर घेरा हालेर अर्को घरधनीलाई बाहिर निस्कन चुनौती दिईरहेका अधिकारकर्मीको झुण्ड देख्दा मलाई मेरो किशोरवय उमेरको रमाइलो घटना याद आयो । दुम्सिले आलुबारी खोस्रेर बतिला आलु सत्यानास पारेपछि अथवा मकैका पोथ्रा ढालेर सोत्तर पारेपछि हामी सबै किशोर समूह मिलेर दुम्सिको ओडारमा स्याउला थुपारेर आगो सल्काउथेउ । त्यो धुवा फैलिदै गएपछि दुम्सी आगो सल्काएकै बाटो बाहिर निस्कन्छ र त्यसलाई भकुर्न पाइन्छ भनेर ओडारको दैलोमा मुङ्ग्रा समातेर दुम्सी ढुक्ने हामी किशोरहरु कतिसम्म मुर्ख थियौं अहिले सम्झेर आफैलाई अचम्म लाग्छ । हामीले धुँवा पुत्ताएतिर दुम्सी कहिल्यै निस्केन या त अर्को पट्टिबाट निस्केर भाग्यो या धुँवा सहेर नै भित्रै बसिरह्यो । हो त्यसरी नै दैलोमा अधिकारकर्मीहरु जतिसुकै बुर्कुशी मारेपनि न्यायधिस बाहिर निस्किएनन । साँझ पर्दै आयो ।

भिडियो हेर्दाहेर्दै मूल मुद्दा के हो भन्ने कौतुहलताले मैले युट्युब छोड्नै सकिरहेको थिइन । त्यत्तिकैमा ठूलो डाँको सहित न्यायाधिसकी श्रीमतीको अनुहार फेरि भिडियोमा देखियो । न्यायधिस अझै बाहिर आइपुगेका थिएनन । लोग्ने बाहिर आएर अधिकारकर्मीका अगाडि रुझेको बिरालो सरह बनुन र आफुलाई भित्र बोलाउन भन्ने अडान लिएकी पिडित महिलाको अनुहारमा आक्रोश चरम बिन्दुमा पुग्ने क्रममा थियो । लोग्ने बाहिर न आएको झोकमा महिलाले एकपटक ढोकामा ड्याम्म लात्ताले हिर्काउदै चिच्याईन । के पारा हो ? राति ‘ओच्छ्यानमा फेस गर्न नसक्ने’ अहिले यहा फेस गर्न नआउने ? ल तुरुन्त बाहिर आउ….

म बबुरो मन मनै गम खान्छु यो “ओच्छ्यानमा फेस गर्ने” भनेको के हो ? बिहे गरेको एक दशक बढी समय भईसक्दा समेत उनीहरुका सन्तान भएका रहेनछन । ‘मलाइ कि सन्तान चाहियो कि सम्पत्ति” न्यायधिस कि श्रीमतीको अर्को गर्जन सुनियो भिडियोमा । मैले मनमनै सोचें शारीरिक रुपमा ‘लबस्तरा’ रहेछन क्यारे न्यायधिस त्यहि भएर असन्तुष्ट बनेकी श्रीमतीको आक्रोश पोखिएको होला । भिडियो अगाडि बढ्दै गयो चार पांच मिनेटको अन्तरालमा लगभग एक दर्जन भन्दा बढी पटक ति महिलाले “बेडमा पनि फेस गर्न सक्नुहुन्न” यहाँ पनि सक्नुभएन भन्दै आफ्नो लोग्नेको कमजोरी छताछुल्ल पारिरहिन । कुनै दार्शनिकले भनेका छन् “एकजना पुरुष सबैभन्दा लाचार तब हुन्छ जव उ आफ्नो यौन पार्टनरसंग पराजित हुन्छ” मैले त्यही उक्ति सम्झिएँ ।

श्रीमतीसंग ‘यौन युद्द’ हारेका न्यायधिस घरभित्रको सोफामा लाचार भएर बसिरहेका छन् उता घरको मूल प्रवेशद्वारलाई उनकी श्रीमतीले ‘हार जितको कुरुक्षेत्र’ बनाएकी छन् । महिला अधिकारकर्मी न्यायधिस कि श्रीमतीले पाउन नसकेको ‘अधिकार’ दिलाएरै छोड्ने अठोटका साथ् त्यहाँ नारा लगाईरहेछन । अधिकारकर्मीलेहरुले ओच्छ्यानमा आफ्नी श्रीमतीलाइ ‘फेस गर्न’ नसक्ने पुरुषलाई कुन औषधि खुवाएर उपचार गर्नेहोलान ? भिडियो हेर्दाहेर्दै यस्ता कैयौं तर्कनाहरु मेरो मनमा मडारिईरहे । अधिकार दिलाउने ठेक्का लिएर त्यो घर घेर्न आइपुगेका महिलाहरुले ‘कि सम्पति देउ कि संगै सुत’ भन्ने अर्थ लाग्ने गरि सुझाव दिइरहेजस्तो उनीहरुका कुरा सुनेर म तीनछक परिरहें ।

हुन त म पुरुष भएको कारण ति महिलाको अभिव्यक्तिलाई मैले पुरुषप्रधान दृष्टिकोणबाट मात्र पो हेरिरहेको छु कि रु एउटी महिलाको नजरबाट हेर्दा ति महिलाको पीडा कस्तो देखिदो हो रु मनमनै सोच्छु, दिनभरी अदालतमा न्याय अन्याय छुट्याएर पिडितलाई न्याय र पीडकलाई सजाय दिने एकजाना ईज्जतदार मान्छे, ’पुरुष …मर्द, आफ्नो लोग्ने अफिसबाट फर्कन्छ, खाना खान्छ अनि आफैसंग सुत्छ तर आफुलाई छुदैन, छोए पनि एकछिन सुम्सुम्याउछ र स्त्री चाहाना जगाएपछि लल्याकलुलुक भएर अर्को पट्टि फर्केर घुर्न थाल्दछ । न मनको रहर पुरा हुन्छ न शरीरको आवस्यकता पुरा हुन्छ न सन्तान नै जन्मन्छ जसको मुख हेरेर अगाडिको भविष्य बाच्न सकियोस । आखिर पिडा त महिलालाई पनि ठूलै रहेछ ।

गरिवको झगडा समाजमा रमिता बन्छ तर हुनेखानेको झगडा ब्यापार बन्दो रहेछ । आफ्ना कमजोरीहरुलाई यसरि छताछुल्ल नपारेर आन्तरिक रुपमै समाधान गर्ने उपाय उनीहरुसंग हुनुपर्थ्यो । न्यायधिस कमजोर हुन् भने उनको उपचार गर्न श्रीमती नै अग्रसर हुनुपर्थ्यो । आफ्नो कमजोरी लुकाउन न्यायधिस हिंस्रक भएका हुन् भने त्यो गलत हो । सन्तान प्राप्तिका त कैयौं बाटाहरु उपलब्ध थिए । आपसमा मिलेर निष्कर्षमा पुग्न सकिन्थ्यो । अहिले बाहिरबाट हेर्दा अवस्था कति बिरक्त लाग्दो छ भने ओछ्यानमा आफ्नै श्रीमतीसंग पराजित भएका न्यायधिस बोल्न सक्ने अवस्थामा छैनन् । उनकी श्रीमती भने मदिरापान गरेकी रणचण्डी सरह मूलद्वार बाट चिच्याउदै छिन । आखिर कुन नशा चढेको हो न्यायधिस कि श्रीमतीलाई ? श्रीमानले ‘ओछ्यान युद्द हारेको’ आक्रोश कि आफुले जितेको उन्माद रु यस्तै सोच्दा सोच्दै म पुलुक्कै निदाएछु ।

Logo