श्रीमान प्रहरी प्रमुख ज्यू,प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं ।

                                     विषयः प्रहरीको आचरणमा कहिले सुधार ल्याउने भन्नेबारे । "/>

आईजीपी साप तपाईका प्रहरीको मुल्य ५० रुपैयाँ मात्र हो ?

आईजीपी साप तपाईका प्रहरीको मुल्य ५० रुपैयाँ मात्र हो ?

केन्द्रबिन्दु
0
Shares

श्रीमान प्रहरी प्रमुख ज्यू,
प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौं ।

                                     विषयः प्रहरीको आचरणमा कहिले सुधार ल्याउने भन्नेबारे ।

महोदय,
‘सत्य सेवा सुरक्षणम्’ यो नेपाल प्रहरीको ‘स्लोगन’ हो । यही मन्त्रलाई आत्मसाथ गर्दै जो कोहीले पनि नेपाल प्रहरीमा सेवा गर्छन् । नेपाल प्रहरीले बिहान बेलुका यही मन्त्र उच्चारण गर्दै आईरहेका छन् । सुरक्षाको सबैभन्दा ठूलो धर्म नै सत्य हो । प्रहरी जनधनको सुरक्षामा खटिन्छ । उसले रातदिन, भोकप्यास, निद्रा नभनी कर्तब्य पुरा गर्ने कोशिस गर्छ । प्रहरीको काम, कर्तव्य र क्रियाकलाप नागरिकको भावनाको उच्चतम सम्मान गर्ने हो । शान्ति सुरक्षाको अनुभूति गराउँदै लोकतन्त्रलाई बलियो तुल्याउनुपर्ने कर्तव्य नागरिकको हो ।

त्यस्तो आचरण हुनुपर्ने प्रहरी पछिल्लो समय दिनप्रतिदिन बदनाम बन्दै गएको छ । जुन कुरा तपाई र तपाईको प्रहरी सँगठनले पनि स्वीकार गरेकै हो । आईजीपी सर्बेन्द्र खनालज्यू कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डमा जसरी प्रहरी मुछियो ।

त्यसपछिबाट आम नागरिकको मनमा नकारात्मक दृष्टिकोण अवश्य पनि पैदा छ । मैले एउटा शब्द भनिरहँदा तपाईलाई अप्ठेरो पनि लाग्न सक्छ तर प्रहरीलाई आम नागरिकले समाजको बर्दिवाला गुण्डाको रुपमा चित्रण गर्न थालेका छन् । यो विषयलाई प्रमाणित गर्न अरु कही जानै पर्दैन्, तपाईको प्रहरी संगठन भित्रकाहरुले बेला बेला गर्दै आएका काम हेर्दा नै काफी हुन्छ ।

गत वर्ष नवलपरासीको दाउन्नेमा एउटा सवारी दुर्घटनामा पर्‍यो । एउटा मालवाहक ट्रकले दुईजना सवार मोटरसाईकललाई ठक्कर दियो । मोटरसाईकलको पछाडि बसेका एकजनाको घटनास्थलमै मृत्यु भयो । अगाडि बसेका व्यक्ति गम्भीर घाइते थिए । दुर्घटनापछि घटनाका प्रत्यक्षदर्शीले प्रहरीलाई फोन गरे । सबैभन्दा पहिला चितवन प्रहरीलाई फोन गरियो । उताबाट गैडाकोट प्रहरीलाई फोन गर्न भनियो । गैडाकोट प्रहरीलाई फोन गर्दा परासी प्रहरीलाई फोन गर्न भनियो । परासी प्रहरीलाई फोन गर्दा कावासोती प्रहरीलाई फोन गर्न भनियो । यो वीचमा झण्डै अढाई घण्टा वित्यो । त्यतिञ्जेलसम्म घाइते एक जनाको ज्यान गईसकेको थियो ।

माथिको उदाहरण मैले बनाएको कहानी हैन । यो यर्थात घटना हो । अब भन्नुहोस्, तपाईको प्रहरी संगठन कति प्रभावकारी छ ? तपाईले विभिन्न कार्यक्रममा गएर भन्ने गरेको भाषण बेला–बेला मेरो दिमागले सम्झाईराख्छ, ‘प्रहरी जनताको सेवामा २४ सैं घण्टा खटिन्छ’ माथिको घटनाबाट मैले र म जस्ता आम नागरिकले कुन अर्थमा बुझ्ने ।

म सानोमा कुनै बेला रुन थाल्यो भने मेरो मम्मी बाबाले, ‘अहिले पुलिस आएर लैजान्छ’ भन्नुहुन्थ्यो । मेरो रुवाई तुरुन्तै बन्द हुन्थ्यो । मैले प्रहरीलाई कहिले पनि सकारात्मक दृष्टिकोणले हेर्न सकिनँ । हुनत मेरो परिवारका धेरै सदस्य प्रहरी संगठनमै आवद्ध छन् । त्यतिगर्दा पनि प्रहरीका विभिन्न गतिविधिले गर्दा मलाई विश्वास गर्ने ठाउँ रहदैंन् ।

अब म तपाईका प्रहरीको मुल्य बताउँन गईरहेको छु । मैले यो पत्र तपाईलाई लेखिरहँदा पनि ती प्रहरी सस्तोमा नै बिकिरहेका होलान् । तिहार सकाएर आफ्नो कर्मथलो राजधानी फर्किने क्रममा महेन्द्रनगरबाट बस चढे । करिब ४० जनाको सिट क्षमता भएको बसमा करिब ६० जना चढेका थिए । जुन कानून विपरित हो । हाम्रो गाडिलाई कञ्चनपुर, कैलालीमा कुनै चेकिङ भएन् । म घर जानुभन्दा पहिला काठमाडौंमै एउटा समाचार बनाएको थिए, ‘सिट क्षमताभन्दा बढी यात्रु चढाउने बसलाई कारवाही गरिने’ ।

उक्त समाचार बनाउँदा म एकमनले निकै खुशी थिए । तर अर्को मनले सोचिरहेको थिए के साच्चै कारवाही होला त ? यात्राको क्रममा बाटोभर जुन दृश्य देखियो त्यसले मलाई लाग्यो बेकारमा समाचार बनाईएछ । हामी चढेको बस अत्तरिया, चिसापानी हुँदैं कोहलपुर पुग्यो । त्यहाँ पुग्दा रातिको ८ बजिसकेको थियो । कोहलपुर नजिकै तपाईको एउटा प्रहरी चेक प्वोईन्ट छ । त्यहाँ प्रहरी हवलदारसहित करिब ५ जना ड्युटीमा थिए ।

हाम्रो गाडी त्यहाँ पुग्दा एकजना प्रहरी जवान वीच सडकमा आएर गाडीलाई साईड लगाउन निर्देशन दिए । तर गाडी साहूले तुरुन्तै सहचालकलाई प्रहरी विटमा पठाए । केही क्षणमा हाम्रो गाडी त्यहाँबाट आफ्नो गन्त्व्यमा अगाडि बढ्यो । केही पर पुगेपछि सह–चालक र गाडी मालिकबीच कुराकानी सुरु भयो ।

सुरुमा गाडी मालिकले भने, ‘प्रहरी जति चोर को होला र ?’ उनको कुरा सकिनेवित्तिकै सहचालक बोले, ‘..लेहरु ५० रुपैयाँमा बिके’ उनी दुईवीचको कुराकानी म सुनिरहेको थिए । सह–चालकको भनाईको अर्थ थियो । गाडीमा सिटभन्दा बढी यात्रु चढाएवाफत ५० रुपैयाँ कुनै कारवाही गरिएन् ।

मैले चाँसो देखाएर उनीहरुसँग कुराकानी सुरु गरे, ‘बाटोभर सबै ठाउँमा यस्तै हो र’ भन्दा तत्कालै गाडी साहूले जवाफ दिए, ‘बाटोभर करिब ५/६ ठाउँमा छन् यस्तै गरी ५० रुपैयाँमा बिक्ने प्रहरी ।’

त्यहाँबाट हाम्रो गाडी अगाडि बढ्यो । चितवनमा पनि त्यस्तै प्रहरी चेकजाँच क्याम्प थियो । त्यहाँ पनि प्रहरीवीच बाटोमै आएका थिए । मैले अब भिडियो बनाउनुपर्छ भन्ने सोचेको थिए । तर त्यहाँ गाडी साहूले पैसा दिएनन् । त्यो बेला उनले विभिन्न तर्क गरेर अगाडि बढेका रहेछन् । उनले ‘होईन् तपाईले हाम्रो गाडीलाई कारवाही गरेर दुर्घटना नहुने हो र ? बढी भएका यात्रुहरुलाई या त बाहिर निकाल्नु पर्‍यो या त हामी पैसा दिन सक्दैंनौं’ भनेपछि त्यहाँको प्रहरी पछि हट्यो ।

आईजीपी साप तपाईले प्रहरीलाई बाटोभर के गर्न राख्नुभएको हो, त्यो त मलाई थाहा छैन् । तर यात्राको क्रममा जुन दृश्य मैले देखेँ त्यसबाट म प्रष्ट भन्न सक्छु ‘चाडपर्वको बेला कमाउधन्दा लगाउन चाहीँ प्रहरीले निकै जानेको छ ।’

बाटोमा रातभर यस्तै ५० रुपैयाँकै लेनदेन चलिरहेको थियो । जुन बिहान सहचालकले भनेपछि मैले जानकारी पाए । दोस्रो दिनको विहान थानकोट पुग्दा गाडी साहू भन्दै थिए ‘अब थानकोट पुगियो जे हुन्छ यहीँ हुन्छ’ यसको अर्थ उनीहरु पैसा नमाग्ने खालका रहेछन् । मागे पनि अलि बढी नै दिनुपर्ने रहेछ । या त कारवाहीको लागि चिट नै काट्ने खालका रहेछन् । थानकोट चेकिङ प्वोईन्टमा प्रहरीले चेकजाँच गरेर पठायो । त्यहाँ भने बढी यात्रुको बारेमा कुरा उठेन ।

अब भन्नुहोस् आईजी साप तपाईका प्रहरीलाई हामीले कसरी बुझ्ने । हुन त यो भन्दा अन्य घटनाले पनि प्रहरीको चरित्र देखाउँदै आएको हो । तपाईले जे जति कारवाहीको धम्की दिएपनि उनीहरुको नियति बदल्न सकिनेछैन् । यदी तपाई सक्नुहुन्छ भने तपाईको कार्यकालमा प्रहरी संगठनभित्रका यस्ता धमिराहरुलाई सखाप पारेर जानुहोस् । तपाईको नाम ईतिहासमा नै स्वर्णिम अक्षरले लेखिनेछ ।

तपाईको शुभचिन्तक
कृष्णसिंह धामी/काठमाडौं

Logo