म्युजिक नेपालद्वारा गीत संगीतको अबैध कब्जा– भ्रम र यथार्थ

म्युजिक नेपालद्वारा गीत संगीतको अबैध कब्जा– भ्रम र यथार्थ

केन्द्रबिन्दु
0
Shares

दुर्गा पंगेनी

नेपाली संगीत जगतमा संगीत तथा त्यससंग संबन्धित श्रब्यदृष्य निर्माणको परिपाटी नै गलत बसेको छ । खासगरी गीत–संगीतको भिडियो निर्माण र त्यो भिडियोको डिजिटल व्यापारको सुरुवाती समयदेखि नै बिचौलिया कम्पनी र कलाकारहरुको अनभिज्ञताको कारण युट्युब प्लेटफार्महरुले कलाकारको बौद्दिक सम्पत्तिमा कब्जा जमाउने मौका पाएका हुन् ।

सुरुवाती समयमा युट्युब च्यानल संचालन गरेको म्युजिक नेपालले कलाकारको अनभिज्ञताको नराम्रोसंग फाइदा उठाएको कुरा जग जाहेर नै छ । एक समय थियो मोबाईलमा कलर रिंगब्याक टोन (सीआरबीटी) बज्नु मात्र ठुलोकुरा ठाने कलाकारहरुले । भविश्यमा आफ्नो बौद्दिक सम्पत्तिको कुनै बजार मूल्य हुन्छ भन्ने कल्पनासम्म नगरिकनै ईमेल गर्दै धमाधम म्युजिक नेपाललाइ गीतहरु पठाए र आफ्नो गीत मोबाइलको घन्टीमा सुनेर मख्ख परिरहे ।

उता म्युजिक नेपाल त्यही बहानामा आंशिक डिजिटल राइट नलिने, दिए पुरा दिनुपर्ने भन्दै भिडियो अधिकार दिन नचाहाने कलाकारलाई सीआरबिटी नै नदिने गर्न थाल्यो । फलस्वरूप कलाकारका सृजना उसको कब्जामा पर्दै गए । यो सबैकुरा हुनुमा कलाकार भन्दा केही बढी कुरा बुझेका बिचौलिया साना कम्पनीहरु दोषी छन् । उनीहरुले म्युजिक नेपालले दिने केही प्रतिसत रकमको लागि कलाकारको बौद्दिक सम्पत्तिको दुरुपयोगको लागि सहमति जनाईरहे ।

कानुनले स्पष्ट रुपमा व्याख्या गरेर रोयल्टी संकलन र वितरणलाई परिभाषित गरेपनि अझैसम्म ब्यबहारिक रुपमा ‘गीतको स्वामित्व र रोयल्टी’ सम्बन्धी बहस दोवाटो मै छ । रोयल्टीको हकदार गीतकार र संगीतकार मात्र हुनुपर्ने मान्यता राख्नेहरु हाम्रो देशको कानुन अनुसार प्रस्तोता समेत रोयल्टीको हकदार हुने प्रावधानकै बिरोध गरिरहेछन् ।

केही व्यक्ति त्यही कानुनलाई अतिरञ्जित गर्नमा नै ब्यस्त देखिन्छन् । कानुनले निर्दिष्ट गरिसकेपछि प्रस्तोताहरु रोयल्टीको हकदार हुन् भनेर मान्न तयार नहुने समूह अहिले प्रदान गरिदै आएको रोयल्टी वितरणको प्रक्रिया नै गलत हो भन्ने धारणा ब्यक्त गर्दछन् ।

अर्को कुरा कुनै कलाकारले यौटा कम्पनीसंग संझौता गरेर गीत युट्युवमा अपलोड गरिसकेपछि र डिजिटल बजारका अन्य कुरा ‘आरविटी’ लगायत प्राप्त गरिसकेपछि कम्पनिसंगको सामान्य मनमुटावको कारण त्यो गीत अन्य कम्पनीलाई दिन नपाउने हुनुपर्ने थियो । तर, नेपालमा त्यो परिपाटी बस्न सकेन । सामान्य रुपमा एक कम्पनीलाई दिएको गीत कम्पनीसंग कुरा नमिलेकै कारण घुम्दै फिर्दै त्यो भिडियो म्युजिक नेपालसम्म पुग्ने अनि म्युजिक नेपालले अरु संगको सम्झौता भैसकेको अवस्थाको समेत ख्याल नगरी आफ्नो च्यानलमा अपलोड गर्दिने गर्न थाल्यो । त्यसोगर्दा आफ्नै च्यानल चलाएका साना कम्पनीहरुलाई पनि मर्का पर्यो र कलाकारले समेत गीतबाट आफ्नो स्वामित्व सम्पूर्ण रुपमा गुमाए ।

कलाकारको अधिकार र रोयल्टी सम्वन्धी कानुन तर्जुमाको लागी जस्ले निश्चित बाटो देखाउनुपर्ने हो, उनीहरुले नै गलत तरिकाले अरुको गीतमा विवाद खडा गर्दिन्छन् । सबैभन्दा गम्भीर समस्या त्यही देखिन्छ । आरविटी दर्ताको लागी गीतको क्लिप दिने वित्तीकै भिडियो राईट समेत एकलौटी रुपमा खाइदिन्छ, म्युजीक नेपाल ।
साना कम्पनिहरुको च्यानलमा त्यही गीत वर्षौं अगाडी अपलोड भैसकेको जान्दाजान्दै कलाकारले भिडियो दिएको भरमा अपलोड गर्छ । तर, डिलिट गर्नको लागी मादल बाँसुरी बजाउनेहरु सम्मको ल्याप्चे (सहमति) खोज्छ..!

आरविटीको लागी निश्चित कम्पनिको दैलो गुहार्न पर्ने गरी किन एकाधिकार दिएको होला ? प्राविधीक विषय भएकोले त्यस्तो हुन सक्छ या कलाकारको सुविधाको लागी एकद्वार प्रणाली बनाईएको हुनसक्छ । तर, त्यै प्रणालीको कारण कलाकार थप शोषणमा परेको देखेपछी सम्बन्धित निकाय सचेत हुनु पर्दैन ? नियमन निकाय होलान् कलाकारका संघ संस्था होलान्, सबै मिलेर संगीत बजारको यो अनौठो एकाधिकार तोड्नुपर्ने होईन र ?

नेपाली गीत–संगीत युट्युव च्यानलमा अपलोडको सुरुवाती समय तिर नेपालका केही म्युजीक कम्पनिका ब्यवस्थापक र तिनका साहुहरुमा डिजीटल मार्केटिङको चेतना पसिदिएको भए अहिले कलाकारहरु आफ्नो हक अधिकारबाट बञ्चित भएको अनुभव गर्न पर्ने थिएन । जस्तै (आशिष म्युजीकका रामजी पन्त, तिर्सना म्युजीकका बाबुराम बोहरा, सितारा म्युजीकका एकनारायण भण्डारी लगायत पशुपति धिताल, वागीना म्युजीक कम्पनिहरुले जति गीत म्युजीक नेपालको पोल्टामा दिए सायद त्यो तत्कालिन बजार हिस्साको असी प्रतिसत हुन आउला ।

लोक कलाकारहरुमा अत्याधिक खोजिएका बद्री पंगेनी, पशुपति शर्मा, ज्योति मगर, खुमन अधिकारी, रामजी खाण लगायत र आधुनिक तर्फ प्रमोद खरेल, सत्य–स्वरुप, अन्जु पन्त, शिव परियार, रमेशराज भट्टराई, रामकृष्ण ढकाल, श्रीकृष्ण बम मल्ल, हेमन्त शर्मा लगायत कलाकारले समग्र डिजिटल बजारको आधा खोज ओगटेका थिए । तर तिनीहरुमा पनि गीतको स्वामित्व र डिजिटल बजारको ब्यवस्थापन सम्बन्धि चेतनाको विकाश हुन धेरै ढिलो भएको पाईयो । जव चल्तीका कलाकारले आफ्नो च्यानल बनाएर गीत अपलोड गर्ने मनसाय बनाए, उनीहरुको आज सम्मको सम्पूर्ण सम्पत्तिमा म्युजिक नेपालको एकाधिकार जमिसकेको थियो ।
अझैसम्म युट्युबलाई झन्झटिलो प्लेटफर्म मान्ने नेपाली कलाकारिता क्षेत्रमा खासगरी कलाकारहरुमा रहेको डिजिटल मार्केट सम्बन्धि दुविधाको कारण म्युजिक नेपालले एकलौटी रुपमा आफ्नो साम्राज्य खडा गर्न सफल भएको हो । खासमा सामाजिक सन्जालमा आफ्नो प्रोफाईल बनाएजस्तै हो युट्युव च्यानल । त्यसमा कपिराईट र स्वामित्व अनि विज्ञापन सम्बन्धि केही संझौताहरु हुन्छन् जसलाई बुझेर पढेर पालन गर्नुपर्ने हुन्छ । त्यो भन्दा बाहेक केही होईन युट्युव च्यानल । कलाकारको लोकप्रियता र गीतको चर्चासंगै हेर्ने दर्शकहरु बढ्दै जान्छन् त्यही कुरा पनि नबुझेर लाखौंको लगानी र अमुल्य मेहनत गरिएका आफ्ना सिर्जनाहरु विना सुझबुझ बजार ब्यवस्थापन गर्ने कम्पनि लाई बुझाउँछन कलाकारहरु ।

कुरा बुझ्नु पर्ने म्युजीक कम्पनिहरुले हो । कतिपय कम्पनिहरुलाई भाग्यमानी नै मान्नुपर्छ की लोकप्रिय कलाकारहरु संगको लगातारको सहकार्यले ती कम्पनिहरुको नाम निकै उचाईमा पुग्यो । जस्तो की आशिष म्युजीक र पशुपति शर्मा एवं रामजी खाँणको सहकार्य, तिर्सना म्युजीक र खुमन अधिकारी वीचको सहकार्य, यस्ता सहकार्यका निरन्तरताले कलाकार एवं ब्यवसायी दुबैलाई तत्कालीन अवस्थामा निकै फाईदा समेत भयो र अझै हुदैछ । तर जुन कुराले दिर्घकालीन असर गर्छ त्यतातिर ध्यान न कलाकार ले दिए न कम्पनिले । फलस्वरुप आज कुनै पनि कलाकारको गीतको स्वामित्व उनीहरु संग छैन । आफ्नो गीत विना सम्झौता खाली टिभीमा प्रोमो बज्ने आशामा म्युजीक कम्पनिहरुलाई सुम्पिएका कलाकार हरुले संगीतको दिर्घकालीन ब्यापारलाई बुझ्न त सकेनन् नै । कम्पनिहरु पनि चुके त्यो विषयमा ।

अर्को कुरा, जव दुरसंचार सेवा प्रदायक कम्पनिहरुले आफ्नो सेवामा गीत बजाउने सुविधा थप गरे । तव संगीत ब्यपारको बाढी नै आयो । चोरहरु सल्वलाए, विद्धुतीय मार्ग प्रयोग गर्दै नेपाल टेलिकमको प्लेटफर्म बाट अनधिकृत रुपमा अरुको मोबाईलको पैसा समेत चोरेर कमाउने काम समेत भयो कलाकारबाट । अर्कोतिर भने त्यही समयमा टेलिकम कम्पनिले दिएको एकाधिकारको दुरुपयोग पनि गर्यो म्युजीक नेपालले ।

टेलिकमको सेवामा बज्ने गीत (सीआरबिटि) म्युजीक नेपालले मात्र दिने ब्यवस्थाको सुरुवात किन र कसरी भयो सरोकार वाला हरुले बुझेनन् या बुझ्न चासो देखाएनन् । गीत सिआरविटीमा बज्दिए पुग्यो कलाकारको लागी । म्युजीक कम्पनिहरु पनि अल्पकालीन सोचद्वारा ग्रस्त बने किनकी आरविटी डाउनलोडको आधारमा म्युजीक कम्पनिहरु लाई सिधै पैसा आउन थाल्यो । त्यै पैसाको लोभमा सम्पुर्ण गीतको स्वामित्व म्युजीक नेपाललाई सुम्पिए साना कम्पनिहरुले । आरविटी संझौता हुँदा सबै डिजीटल मार्केटको स्वस्थ सम्झौता हुने परिपाटी बस्यो फलस्वरुप आरविटीको लागी दिईएका गीतको समेत भिडियो राईट म्युजीक नेपालमा निहीत हुन पुग्यो ।

लेखको आशय म्युजीक नेपालको विरोध गर्नु होईन । तर जुन परिपाटी म्युजीक नेपालले निर्देश गर्यो या अख्तियार गर्यो त्यो कलाकारहरुको पक्षमा या कलाकार मैत्री हुन सकेन । गीत अपलोडको मामलामा निकै उदार देखीएको म्युजीक नेपाल कपिराईट दावी सम्बन्धमा निकै अनुदार देखियो । अपलोड गर्नको लागी कुनै कागजी प्रकृया अथवा कुनै औपचारिकता नखोज्नेले गीत डिलीट गर्नको लागी वाद्यवादक सम्मको स्विकृती पत्र माग्यो भन्नेसम्मका कुराहरु सुन्नमा आए । गायक निमा रुम्बा लगायतका कलाकारले अपलोड गरेका भिडियोहरुमा स्वामित्व दावी गरेर म्युजीक नेपालले कलाकारको शोषण गर्यो भन्नेसम्मका कुराहरु बाहिर आए । त्यसरी अडियो आरविटीमा राख्न दिएकै भरमा उक्त गीतको भिडीयोमा समेत म्युजीक नेपालले दावि गर्न पाउछ की पाउदैन त्यो कानुनी प्रश्न हुन सक्ला । तर नैतिकता कै कुरा गर्ने हो भने अबुझ कलाकार र म्युजीक कम्पनीहरुको सोझोपनको नाजायज फाईदा म्युजीक नेपालले उठाईरहेको प्रष्ट हुन्छ ।

अहिले सामाजिक सञ्जालमा म्युजीक नेपालका बिरुद्द कलाकारको रुवावासी चलिरहेको प्रष्ट देखीईरहेको छ । म्युजीक नेपालका तर्फबाट अनधिकृत रुपमा गीत चोरी गरिएको आरोप कलाकारले लगाईरहेछन । यो सबै मामलामा कलाकार पनि कम दोषी चाहि छैनन् । एक पटक कुनै प्लेटफर्मलाई अपलोड गर्न दिईसकेको गीत अहिले डिजिटल बजारको सम्भाव्यता बढेसंगै आफ्नो च्यानलमा अपलोड गरेर दोहोरो फाइदा लिन खोज्नु पनि गलत हो । गुगलले संसारका सबै देशको बौद्दिक सम्पत्ति र प्रतिलिपि अधिकार सम्बन्धि कानुनलाइ सम्मान गर्छ । निश्चित समयको लागि दिएको बौद्दिक सम्पत्ति समय अगावै फिर्ता माग्न पाइदैन । तर समय अवधि सकिएपछी समेत फिर्ता नपाउने अवस्थालाई सम्बोधन गर्न एउटा संयन्त्रको आवश्यकता देखिन्छ ।

बौद्दिक सम्पत्तिको दुरुपयोग अथवा गीत संगीतको जवर्जस्ती कब्जाको कुरालाई थाँती राख्ने हो भने आरबीटी मार्फत आउने रोयल्टी सर्जक, प्रस्तोता अथवा प्रोड्युसरको हातसम्म पुर्याउने कामको सुरुवात गराईदिएको म्युजिक नेपालले नै हो त्यसमा दुइमत नहोला । यी तमाम मुद्दामा समन्वयकारी भुमीका खेल्न सक्ने सरकारी मान्यता प्राप्त संस्थाहरुमा रोयल्टि संकलन समाज, प्रस्तोता समाज, प्रोड्युसर समाज लगायतका संस्थाहरु देखिन्छन् । तर ती संस्थाहरु पनि सम्पूर्ण रुपमा म्युजिक नेपालको कब्जामा रहेको कुरा कसैबाट लुकेको छैन । म्युजिक नेपाल बिरुद्द आवाज उठाउने संगीतकर्मीलाइ ती संस्थामा पुग्नै नदिने रणनीति म्युजिक नेपालले खेल्ने गरेको आरोप पनि उ माथि लाग्दै आइरहेको छ । आशा गरौं, अहिलेको दुविधा बाट कलाकार र सम्पुर्ण संगीत जगतले छिटै निकाश पाउनेछ ।


दुर्गा पंगेनी

 

Logo