सामाजिक संजाल प्रयोगकर्ताको बिचारले सिंगो समाजको यथार्थता चित्रण गरिरहेको छ यदि भने अझैसम्म पनि हाम्रो समाज कस्तो पुरुषप्रधान सोचबाट ग्रसित छ भनेर एक पटक सोच्न बाध्य चाहि भईदो रहेछ । त्यस्ता खाले बिरोधाभाष देख्दा म अचम्मित त छैन किनभने हामी त्यही पृतृसत्तात्मक सोच भएको समाजमा हुर्किएका हौं । त्यै देखेका छौ, त्यही सिकेका छौ अनि त्यही चलनलाई सहि पनि ठानेका छौं। यदि पहिलेकै प्रथा हो भनेर सहि मान्ने हो भने र सति प्रथा पनि सहि नै थियो होला, किन त्याग्यौँ त हामीले ?
हर हमेसा एउटी महिला आफ्नो सन्तानको नामको पछाडि आफ्नो लोग्नेको थर जोदिदा आफ्ना सन्तानको नाममा आफ्नी श्रीमतीको थर जोदिदा खुशी हुन सक्दैन ? एकजना छुट्टै प्राणको अस्तित्व भएकी महिला जसलाई राज्यले बेग्लै नागरिकता प्रदान गरेर छुट्टै अस्तित्व प्रदान गरेको छ उसले आफ्नो सन्ततिलाई आफ्नो थर दिन चाहानु कुन अर्थमा गलत हुन जान्छ ? बाबुको थर योग्य र आमाको थर अयोग्य भनेर कुन धर्म शास्त्रमा लेखिएको छ र आखिर ?
पुरुषहरु यस्ता मामलालाई सजिलोसंग पचाउन सक्दैनन् किनकी उनीहरुको अभिमान र पुरुषार्थमा यसले चोट पुर्याउछ । पुरुष हुनुको दम्भमाथि प्रहार हुन जान्छ त्यसैले यो संसारको कुनै पुरुष होला सायद जो आफ्नो सन्तानको नामको पछाडि श्रीमतीको थर जोडिएको हेरेर खुशी हुन सकोस । अस्तित्व बराबरीको कुरा गर्छौं हामी तर कहिल्यै कुनै पुरुषले घोषणा गरेको छ दुइ सन्तानमा एक सन्तानको थर बाबुको र एक सन्तानको थर आमाको राखौं भनेर ? अहँ त्यो हुन सक्दैन किनकी पुरुषबादी संकीर्ण सोचले त्यो हुन दिदैन र जतिसुकै ठूलो महिला अधिकारवादी पुरुष पनि यो मोडमा आइपुगेपछि नराम्रोसंग चिप्लिन पुग्छ ।
अब म एउटा कुराको जवाफ खोजिरहेछु, अहिलेको यो अवस्थामा मैले आफ्नो बच्चालाई आफ्नो नाम दिन खोज्नु गलत हो र ? मलाई असाध्य दु:ख त झन् केही महिला मित्रको कमेन्ट पढ्दा लाग्यो। सोचिरहेछु महिलाहरु किन आफ्नो प्राणको बेग्लै अस्तित्व छ र आफुले छुट्टै स्वास फेरिरहेछु भन्ने बुझ्दैनन् र जतिसुकै अन्याय परे पनि सहेर बस्नुपर्ने सल्लाह दिन्छन ? आफ्नै आस्तित्वलाई आफै स्विकार्न नसकेको जस्तो आभाष हुने गरी सामाजिक संजालमा प्रस्तुत हुनु हुने महिला मित्रहरुको यस्तै सोचले आज सम्म पनि घरमा एउटि छोरी जन्मिएर अर्कि सन्तान पनि छोरी जन्मदा नाक खुम्चिन्छ हाम्रो समाजमा । कति आमाहरुले गर्भमा छोरी भएकै कारण भ्रुणहत्या गरेर छोरा जन्माउन प्रयास गर्नुहुन्छ र आफ्नै स्वास्थ्य माथि खेलवाड गर्नुहुन्छ ।
तेस्रो या चौथो सन्तान त छोरा होला कि ! भन्ने आशाले छोरी पेटमा रहेका हुदा गर्भमै कैंची चलाउन राजि हुने दिदीबहिनीहरुले पुरुषले गरेको अन्याय पनि परमेश्वरले गरेको कृपा सरह मान्नुहुन्छ । कति महिलाहरु दिनहु लात्तिको गोदाई पनि खानुहुन्छ र त्यहि लात्ती धोएर जल पनि खानुहुन्छ । देश जतिसुकै भौतिक बिकाशको उचाईमा पुगोस या बराबरी अधिकारलाइ व्याख्या गर्ने जतिसुकै कानुन बनुन र महिलाहरुलाई जतिसुकै महत्वपुर्ण अवसरहरु दिएता पनि महिलाहरुको बिबेक परिवर्तन नभएसम्म, बराबरीको चेतानाको बिकाश आत्मदेखि नभएसम्म र महिलाहरुले वंश धान्न छोरो जन्माउने अभिलाषा पालि रहेसम्म यो समाजमा नारी-पुरुष बराबरी भएको देख्न पाइने छैन ।
बंश बढाउने र पिण्ड चढाउने खेलले गर्दा हामी सधैं हारेका छौ । म मेरो छोरीलाई मेरो नाम उसको बाबुसंग छुट्नु परेको कारणले मात्र दिन लागेकी होइन, म मेरो आमाको बुवाको बंशजको नाता मेरी छोरीमा सार्न चाहान्छु । त्यो अधिकार छ कि छैन ?





























प्रतिक्रिया