सन् १९६० को दशक, इङ्गल्यान्डको लिभरपुल सहरबाट चार युवा—जोन लेनन, पल म्याककार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार—एकसाथ उभिए र ‘द बिटल्स’ बनाए। सन् १९६२ मा सार्वजनिक भएको ‘लभ मी डु’ गीतसँगै बिटल्सको युफोरिया सुरु भयो। केही वर्षमै उनीहरूले संसारभरका युवाहरूको सोच र भावनालाई झकझक्याइदिए। बिटल्सले विश्वलाई एउटा नयाँ सङ्गीत समूह त दियो नै, सगसगै एउटा विशाल सामाजिक लहर पनि जन्माइदियो, जसलाई संसारले ‘बिटलमेनिया’ को नामले बुझ्न थाले।
आजको जेनजी जस्तो, १९६० को दशकमा बीटल्स वरिपरि बेबी बूमर पुस्ता थियो। त्यतिखेर ‘बिटलमेनिया’ युवाहरूको स्वतन्त्रताको चाहना र पुरानो व्यवस्थाप्रतिको अस्वीकार थियो। बिटल्सको कन्सर्टमा युवाहरू कराउँथे, रुन्थे र बेहोस हुन्थे। त्यो समयसम्म कुनै कलाकारले यस्तो प्रभाव जमाएको थिएन। बिटल्सका गीतहरूले प्रेमका कुरा मात्र गरेनन्, समाज, युद्ध, शान्ति र मानवीय स्वतन्त्रताका प्रश्न उठाए। विशेषतः जोन लेननको दार्शनिक चेतनाले युद्ध, हिंसा र पाखण्डविरुद्ध जुन प्रकारको ‘काउन्टर-कल्चर’ निर्माण गर्यो, त्यसले युवाहरूलाई सत्ता र संस्थागत नियन्त्रणमाथि प्रश्न गर्ने साहस र बौद्धिक आधार प्रदान गर्यो।
एमटिभी कल्चर को उदयभन्दा थोरै अघि नै बिटल्सले सङ्गीतको इतिहासमा ‘सेलिब्रेटी’ र ‘आइकन’ बीचको सीमारेखा मेटाइदिएका थिए। उनीहरू कलाकार मात्र रहेनन्, उनीहरू एउटा ‘सेकुलर गड’ का रूपमा पुजिन थाले। आजको आधुनिक ‘फ्यानडम’ संस्कृति, जहाँ अनुयायीहरू आफ्नो आदर्शका लागि जुनसुकै हदसम्म जान तयार हुन्छन्, त्यसको वास्तविक जग त्यही ‘बिटलमेनिया’ नै थियो। ।
आज नेपालको राजनीतिक ल्यान्डस्केपमा ठ्याक्कै त्यस्तै एक ‘सोसियो–पोलिटिकल फेनोमेनन’ देखापरेको छ, जसलाई धेरैले नेपाली भर्सनको ‘बालेन मेनिया’ भनेर व्याख्या गरिरहेका छन्। नेपाली समाजले पहिले पनि लोकप्रिय नेता देखिसकेको छ, तर देशभर एउटै व्यक्तिले राजनीतिक विमर्शको भाषा, विचार र प्राथमिकता नै बदल्ने अवस्था भने पहिलोपटक देख्दैछ । र काठमाडौँका पूर्व मेयर बालेन शाह अहिले नेपाली राजनीतिका त्यही ‘सेन्टर स्टेज’ मा छन् ।
नेपाली समाजले पहिले पनि लोकप्रिय नेता देखिसकेको छ, तर देशभर एउटै व्यक्तिले राजनीतिक विमर्शको भाषा, विचार र प्राथमिकता नै बदल्ने अवस्था भने पहिलोपटक देख्दैछ ।
नेपाली राजनीतिको परम्परागत ग्रामर र ‘पावर डायनामिक्स’ बुझ्ने हरूका लागि काठमाडौँको ‘मेयर’ छोडेर झापा–५ को मैदान रोज्ने बालेन शाहको निर्णय पहिलो दृष्टिमा ‘इन्टेलेक्चुअल सुसाइड’ जस्तो देखिन सक्छ—विशेषगरी त्यो बेला जब उनी पहिले नै राजनीतिक पहिचानमा स्थापित थिए। केही विश्लेषकहरू यसलाई पपुलिस्टिक लहर मान्छन्, जहाँ सामाजिक सञ्जालको शक्ति र मिडियाको प्रभावले लोकप्रियता सिर्जना गरेको मान्यता को बुझाई छ। अर्को दृष्टिकोणले बालेनको उदयलाई ‘एतिहासिक आवश्यकता’ ठान्छ।
तर, यसलाई सूक्ष्म ढङ्गले डिकोड गर्ने हो भने यो परम्परागत राजनीति माथि गरिएको एउटा ‘सर्जिकल स्ट्राइक’ जस्तो देखिन्छ। स्वयं केपी शर्मा ओलीले बालेनको झापा–५ मा देखिएको सक्रियतालाई रवि लामिछानेको ‘उक्साहट’ भनेर व्याख्या गर्नु आफैँमा एउटा राजनीतिक स्वीकारोक्ति हो। यसको अर्थ के हो भने—नेकपा एमालेजस्तो दशकौँदेखि सत्ता, संगठन र न्यारेटिभमा जरा गाडेर बसेको पार्टी बालेनको उपस्थितिलाई सामान्य घटना ठानिरहेको छैन। बरु, एमालेले यसलाई आफ्नो सुरक्षित किल्लामाथि परेको अप्रत्याशित आक्रमणका रूपमा बुझेको छ।
परम्परागत राजनीतिक शक्तिहरू प्रायः ‘उपेक्षा’ को रणनीति अपनाउँछन्, तर जब उनीहरू सार्वजनिक रूपमा प्रतिक्रिया दिन बाध्य हुन्छन्, त्यो नै उनीहरूको असहजता र भयको प्रमाण हो, स्वयं केपी शर्मा ओलीले बालेनको झापा ५ को उपस्थितिलाई रवि लामिछानेको ‘उक्साहट’ भनी टिप्पणी गर्नुले त्यही पुष्टि गर्छ ।
झापा–५ को चयन आफैँमा ‘मेटाफोरिक’ मात्र होइन, संरचनागत रूपमा पनि अत्यन्तै अर्थपूर्ण छ। यो क्षेत्रलाई लामो समयदेखि नेकपा एमालेको ‘कोर फोर्ट्रेस’ का रूपमा हेरिँदै आएको छ—जहाँ संगठन, कम्युनिष्ट इतिहास, ओलीको पहिचान एक–अर्कामा गाँसिएका छन्। यस्तो ठाउँमा गएर उम्मेदवारदिनु राजनीतिक मनोविज्ञानलाई चुनौती दिनु हो। यही कारणले गर्दा यो कदम बालेनको ‘कोर टिम’ ले गरेको एउटा अत्यन्तै क्याल्कुलेटिभ, हाइ-रिस्क तर हाइ-इम्प्याक्ट मुभ देखिन्छ।यो चयन परम्परागत राजनीतिको ‘अन्टोलोजी’ माथि गरिएको एउटा निर्मम प्रहार हो, जसले राजनीतिमा ‘सुरक्षित क्षेत्र’ को अवधारणालाई नै खारेज गरिदिएको छ।
यदि बालेन शाह, धेरैले ‘पोलिटिकल डेथ ट्र्याप’ ठानेको यो झापा–५ को निर्वाचनमा सफल भए भने, त्यो नेपाली इतिहासको एउटा निर्णायक ‘प्याराडाइम सिफ्ट’ मात्र हुने छैन, बरु यसले दक्षिण एसियाकै राजनीतिमा एउटा नयाँ मानक स्थापित गर्नेछ। यस कदममार्फत बालेनले एउटा राजनीतिक ‘न्यु अर्डर’ स्थापना गरिदिएका छन्।
राष्ट्रको मर्यादाक्रममा दशौँ स्थानको सुविधायुक्त ‘कम्फर्ट जोन’ त्यागेर बालेन शाहले झापा–५ रोज्नु एउटा ‘स्ट्र्याटेजिक डिपार्चर’ हो। यो कदमको गहिराइ बुझ्न भदौ २३/२४ को ‘जेन–जी’ विद्रोह र त्यसपछिको ‘ भ्याकुम’लाई विश्लेषण गर्नु अनिवार्य हुन्छ।
जेन–जी विद्रोहबाट जन्मिएको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको सरकारसँग एउटा ऐतिहासिक अवसर थियो—राज्यलाई नैतिक रूपमा पुनःस्थापित गर्ने अवसर। तर जब यही सरकारले आन्दोलनका मुख्य ‘दोषी’ माथि कुनै ठोस कानुनी वा राजनीतिक कारबाही गर्न सकेन, तब लोकतान्त्रिक व्यवस्थाभित्रै एउटा गहिरो नैतिक संकट उत्पन्न भयो। जेन–जी आन्दोलनको लाउड सन्देशले ‘सेफ ल्यान्डिङ’ पाएन। जब राष्ट्रले न्यायको विश्वसनीय ‘इकोसिस्टम’ निर्माण गर्न असफल हुन्छ, तब राजनीतिमा ‘हिस्टोरिकल इम्परेटिभ’ को उदय हुन्छ। बालेन शाहको टिमले यही सूक्ष्म तर निर्णायक बिन्दु बुझिसकेका थिए—काठमाडौँको ‘सेफ जोन’ भित्र बसेर एउटा सुविधायुक्त मेयरको भूमिकामा खुम्चिनु अब बालेनको लागि विकल्प होइन। त्यो राजनीतिक रूपमा सीमित हुनु मात्र होइन; त्यो जेन–जी आन्दोलन, त्यसका घाइते र बलिदानप्रतिको नैतिक बेइमानी हुने थियो।
झापा–५ लाई अब एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित राखेको छैन, बरु यसलाई ‘भोट फर चेन्ज’ शक्तिहरूको एउटा ‘कलेक्टिभ डिफेन्स’ को मैदान र निर्बाचनमा बालेन ‘जेन–जी’ आन्दोलनको एउटा ‘मेटाफोरिकल सिम्बोल’ बनेका छन् ।
त्यसकारण स्थापित शक्तिको ‘इपिसेन्टर’ मानिने केपी शर्मा ओलीको राजनीतिक उपस्थितिलाई उनकै गढमा चुनौती दिनु बालेनका लागि एउटा ‘मेटा-पोलिटिकल’ दायित्व बनिदियो । एकथरी पोलिटीकल कमेन्टेटर बालेनको यो उम्मेदवारी परम्परागत राजनीतिको ‘हेजिमोनी’ माथि गरिएको एक निर्भीक प्रहार ठान्दछन् । यसले झापा–५ लाई अब एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित राखेको छैन, बरु यसलाई ‘भोट फर चेन्ज’ शक्तिहरूको एउटा ‘कलेक्टिभ डिफेन्स’ को मैदान र निर्बाचनमा बालेन ‘जेन–जी’ आन्दोलनको एउटा ‘मेटाफोरिकल सिम्बोल’ बनेका छन् ।
बुबा बितेको एक महिना पनि नपुग्दै बालेन शाहले काठमाडौंको मेयर पदबाट राजीनामा दिनु, त्यसपछि जनकपुर पुगेर राष्ट्रिय एकताको सन्देशसहित सम्बोधन गर्नु, र अन्ततः झापा–५ बाट उम्मेदवारी घोषणा गर्नु—यी घटनाहरूलाई अलग–अलग हेर्नु बालेन शाहको ‘लिडरसिप अप्टिक्स’लाई नबुझ्नु हो। यी त बालेन टिमको एउटा वृहत् रणनीतिका अभिन्न अङ्गहरू हुन्, जसले उनलाई काठमाडौंको पूर्वमेयरको अवतारबाट निकालेर एउटा ‘ट्रान्स-जिओग्राफिकल लिडर’का रूपमा स्थापित गरिदिएको छ।
जनकपुरको ऐतिहासिक भूमिमा बालेन शाहले मैथिली भाषामा गरेको सम्बोधन बिशेष थियो, त्यो मधेसको सामूहिक चेतनामा दशकौँदेखि जरा गाडेर बसेको ‘साइकोलोजिकल वाल’ भत्काउने सचेत ‘इमोसनल इन्जिनियरिङ’ थियो। मधेसलाई लामो समयसम्म राजनीतिक प्रयोगशाला, मतको गणित, वा संकटको भूगोलका रूपमा मात्र हेर्ने परम्परागत शक्तिहरूको ठीक विपरीत, बालेनले मधेसलाई सम्मान र बराबरीको केन्द्रमा राखेर सम्बोधन गरे।
यही पृष्ठभूमिमा, बालेनले आफू प्रधानमन्त्री बन्ने सहमति भइसकेपछिको पहिलो चुनावी सभालाई मैथिली भाषाको सम्बोधन ‘सिम्बोलिक’ थियो। बालेनले, मधेसी सभ्यताको भाषा, भाव र मर्यादा नै राष्ट्रिय राजनीतिका वैध र केन्द्रीय अङ्ग हुन् भन्ने मान्यता सार्वजनिक रूपमा स्थापित गरिदिए।
बालेनको ‘अप्टिक्स’ले मधेसलाई नेपाली राष्ट्रियताको ‘पेरिफेरी’ बाट निकालेर ‘कोर’ मा उभ्याइदिएको छ । प्रदेश सरकार अझ बलियो हुनुपर्छ भन्ने उनको वकालतले मधेसको ‘आइडेन्टिटी पोलिटिक्स’ लाई अब ‘डिग्निटिटी पोलिटिक्स’ ले विस्थापित गरेको छ।यही नै बालेन शाहको ‘प्यान-नेपाल लिडर’ स्वीकार्यताको मूल कारण बनिदियो ।
बालेनको ‘अप्टिक्स’ले मधेसलाई नेपाली राष्ट्रियताको ‘पेरिफेरी’ बाट निकालेर ‘कोर’ मा उभ्याइदिएको छ ।
झापा–५ मा बालेनको उपस्थितिलाई जनताले खुलेर स्वागत गरेका छन्, उनलाई प्रत्यक्ष देख्न र सुन्न चाहनेहरूको भीड छ, सामाजिक सञ्जालमा उनका हरेक गतिविधि ‘रियल टाइम’ मा निगरानी भइरहेका छन्, विदेशमा रहेका नेपालीहरू समेत उनका दैनिक चुनावी गतिविधि के छन् भनेर चासोका साथ पछ्याइरहेका छन्, तर यही मुख्यधारको राजनीतिक ट्र्याजेक्टोरीभित्र गहिरा जटिलताहरू पनि समानान्तर रूपमा विकसित भइरहेका छन्; किनभने यही बिन्दुमा आएर बालेनको सम्भावित रास्वपा प्रवेश वा सहकार्य एउटा गम्भीर ‘ग्रे एरिया’ मा उभिन्छ, जहाँ उनको स्वतन्त्र, व्यक्तिकेन्द्रित र एण्टी–एस्ट्याब्लिसमेन्ट पहिचान संस्थागत राजनीति भित्र पस्दा कमजोर हुन्छ कि संस्थागत संरचना नै उनको उपस्थितिले पुनःपरिभाषित हुन्छ भन्ने प्रश्न खुला नै रहन्छ; सबैले बुझेको कुरा के हो भने, राजनीति लोकप्रियताबाट टिक्दैन । राजनीति वैचारिक स्पष्टता, संस्थागत निरन्तरताबाट टिक्छ।
रबि लामिछानेको रास्वपाले आफूलाई ‘जेन–जी विद्रोह’को राजनीतिक उत्तराधिकारीको रूपमा स्थापित गर्न खोज्दा, यसलाई मात्र क्रान्तिको उत्तराधिकारी बनाउनु पर्याप्त छैन। यहाँ संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्याय जस्ता संरचनागत र वैचारिक मर्महरू पनि जोडिएर आउँछन्। जेन–जी विद्रोह, समग्रमा त्यही सोचको एउटा स्पष्ट सोसियो–पोलिटिकल क्वेस्ट थियो ।
बालेनले राजतन्त्र र हिन्दू धर्मजस्ता ‘संवेदनशील’ विषयहरूमा अहिलेसम्म जुन प्रकारको मौनता कायम राखेका छन् ।
गएको निर्वाचनमा रवि लामिछाने र बालेन शाहले संघीयताको विरोध जनाउँदै प्रदेशसभामा मतदान नगर्ने निर्णय गर्दा रास्वपाको वैचारिक दिशा स्पष्ट नभएको प्रश्न उठेको थियो। तर बालेनको जनकपुर भाषणमा प्रदेश सरकारको पक्षमा देखाइएको समर्थन त्यही ‘ड्यामेज कन्ट्रोल’ हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य रणनीतिक विमर्शको हिस्सा ? समयले बताउला !
बालेनले राजतन्त्र र हिन्दू धर्मजस्ता ‘संवेदनशील’ विषयहरूमा अहिलेसम्म जुन प्रकारको मौनता कायम राखेका छन्, त्यो नेपाली राजनीतिको एउटा नयाँ र रोचक आयाम हो। कतिपयले यसलाई स्पष्ट वैचारिक अडानको अभाव भनेर आलोचना गरे तापनि, वस्तुतः यो बालेनले निर्माण गर्न खोजेको एउटा ‘सांस्कृतिक मध्यमार्गी’ छवि हो। उनले पशुपतिनाथको आरतीदेखि जानकी मन्दिरको दर्शन र काठमाडौँका स्थानीय जात्राहरूमा देखाएको सघन सक्रियताले के पुष्टि गर्छ भने— उनी हिन्दू धर्म र प्राचीन परम्परालाई ‘आस्था’को रूपमा मात्र होइन, बरु नेपालको सभ्यतागत पहिचानको मेरुदण्डका रूपमा स्विकार्छन्।
उनले यसलाई कहिल्यै पनि राजनीतिक कट्टरता वा पश्चगामी एजेन्डाको रूपमा प्रस्तुत नगरी एउटा आधुनिक ‘सांस्कृतिक गौरव’ सँग जोडिरहेका छन्।यो ‘सफ्ट स्ट्यान्स’ ले बालेनलाई एकातिर परम्परावादी शक्तिहरूको ‘सद्भाव’ प्राप्त गरेका छन् भने अर्कोतिर ‘नयाँ राजनीति’ को खोजीमा रहेका उदार युवा पुस्तालाई पनि बिच्कन दिएका छैनन्। यद्यपि, राजनीति सधैँ यस्तो ‘ग्रे एरिया’ मा टिकिरहन सक्दैन।
रास्वपाले आफूलाई ‘जेन–जी विद्रोह’को राजनीतिक उत्तराधिकारीको रूपमा स्थापित गर्न खोज्दा, यसलाई मात्र क्रान्तिको उत्तराधिकारी बनाउनु पर्याप्त छैन।
इतिहासले बारम्बार देखाएको छ—जब करिश्म्याटिक व्यक्तित्वहरू राजनीतिको अस्पष्टमा हिँड्छन, तब आन्दोलन प्रणालीमा नभई व्यक्तिमा सीमित हुन्छ । त्यसैले बालेन–रास्वपा सम्बन्धको मूल्याङ्कन समर्थन वा विरोधको सरल फ्रेममा गर्न मिल्दैन । प्रश्न यो हो, के बालेन आफ्नो मौनतालाई स्पष्ट राजनीतिक विचारमा रूपान्तरण गर्न तयार छन? के बालेन लोकप्रियताको सहारामा होइन, संवैधानिक मूल्यहरूप्रति खुला प्रतिबद्धताका साथ अगाडि बढ्न चाहन्छन् ? के रास्वपा बालेनलाई चुनाव पछि पनि नेता मानिरहन्छ ?
यदि यी प्रश्नहरूको उत्तर स्पष्ट र सार्वजनिक रूपमा दिइयो भने, यो सहकार्य नेपाली राजनीतिमा साँच्चै नयाँ अध्याय हुनसक्छ । तर यदि अस्पष्टता नै रणनीति बनिरह्यो भने, यो ‘नयाँ राजनीति’ पनि पुरानै रोग—सुविधाजनक मौनता—को अर्को संस्करण बन्ने खतरा बोकेर हिँड्नेछ ।





























प्रतिक्रिया