घटुवामा परेका नेताहरु

घटुवामा परेका नेताहरु

केन्द्रबिन्दु
0
Shares

दिवस गुरागाईं । १५ फागुन, २०७४ ।

१४ फागुनमा केपी ओली सरकार दोस्रो पटक बिस्तार हुँदैगर्दा एमाले महासचिव ईश्वर पोखरेलको निकै नै चर्चा भयो, घटुवामा परेर मन्त्रीको सपथ लिए भनेर । उनी ६ बर्ष अघि बाबुराम भट्टराई सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेको हुनाले घटुवामा परेको तर्क गरिएको हो ।

ईश्वर पोखरेल डेढ दशकअघि नै मन्त्री बनेका नेता हुन् । उनी २०५८ सालमा गठित शेरबहादुर देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । त्यो मन्त्रालय धेरै हिसावमा नेताको रोजाईमा पर्ने नै मन्त्रालय हो । तर अहिले उनले पाएको रक्षामन्त्रालय भने छोडी मन्त्रालयमा गनिन्छ । किनभने यस मन्त्रालयमा खासै काम गर्न सकिन्न भन्ने आम पूर्व रक्षा मन्त्रीहरुको अनुभव रहेको छ । यस मन्त्रालयमा काम गरेपछि जसभन्दा अपजस नै बढी भिरेका छन् नेताहरुले ।

उपप्रधानमन्त्री भइसकेको व्यक्ति मन्त्रीमात्र सीमित हुने इश्वर पोखरेल पहिलो नेता भने होइनन् । यसअघि सभामुख भइसकेका कांग्रेस नेता रामचन्द्र पौडेल उपप्रधामन्त्री बनेका थिए । ०५६ मा उपप्रधानमन्त्री बनेका पौडेल ०६४ मा गिरिजाप्रसाद कोइरालाको पालामा मन्त्रीमात्रै बने । त्यसवेला उनको सवालमा समेत धेरै कुरा काटिए । पद लोलुप भएको आरोप लाग्यो, अहिले ईश्वर पोखरेललाई जस्तै ।

त्यसैगरी सदभावना पार्टीका नेता बद्रीप्रसाद मण्डल पनि उपप्रधानमन्त्रीबाट मन्त्री भएका नेता हुन् । उनी पछि आएर वन मन्त्री बनेका थिए ।

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा पनि पदीयरुपमा घटुवा भएर राष्ट्रबैंकको गर्भनर बनेका थिए । उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राजिनामा गरेर राष्ट्रबैंकको गर्भनरमा नियुक्ति लिन दगुरेका थिए । ‘प्रोटोकल’को हिसावमा तलको पद किन रोज्नु भयो भन्ने प्रश्नमा उनले भनेका थिए – ‘ग्लेमरस पद रोजेको हुँ ।’

महेन्द्रबहादुर पाण्डे परराष्ट्रमन्त्री भएपछि राजदुत हुन ठीक परेका थिए । उनी चीनकालागी राजदुतमा सिफारिस समेत भइसकेका थिए । केपी ओली पहिलो पटक प्रधानमन्त्री भएकावेला उनी राजदुतमा सिफारिस भएका थिए । तर सरकार परिवर्तन भएपछि उनको ठाऊँमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिलामणि पौडेललाई चीनको राजदुतमा नियुक्त गरिदिए ।

डा. भेषबहादुर थापा सन् १९७६ देखि १९७८ सम्म झण्डै दुई बर्ष अर्थमन्त्री बनेका थिए । राष्ट्रबैंकको चौथो गर्भनर थापा मन्त्री पदको समय सकिएपछि दुई कार्यकाल राजदुत बनेर विदेशिएका थिए । उनी ५/५ बर्ष क्रमश : अमेरिका र भारतको राजदुत बनेका थिए । अमेरिकाको लागी सन् १९८० र भारतकोलागी सन् १९९७ मा उनी राजदुत बनेका थिए ।

त्यसैगरी नेपालको इतिहासमा दुई पटक प्रधानमन्त्री भइसकेको ब्यक्ति राजदुत समेत बनेका छन् । यतिधेरै तल झरेर राजदुत हुने पूर्व प्रधानमन्त्री अरु कोही नभएर मुलुलककै १८ औं प्रधानमन्त्री मात्रिका प्रसाद कोइराला थिए । उनी २००७ सालमा राणा शासनको अन्त्य पछि प्रधानमन्त्री बनेका थिए । पहिलो पटक कोइराला सन् १९५१ नोभेम्बर १६ देखि १९५२ अगष्त १४ सम्म प्रधानमन्त्री भएका थिए भने १९५३ जुन १५ देखि १९५५ अप्रिल १४ सम्म उनी दोस्रो पटक प्रधानमन्त्री भएका थिए । उनै पूर्व प्रधानमन्त्री कोइराला सन् १९६१ देखि १९६४ सम्म संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा अमेरिकाकोलागी नेपालको दुत बनेका थिए ।

प्रधानमन्त्री बनिसकेपछि डा. बाबुराम भट्टराईले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख भएर काम गर्न तयार छु भनेर जनाएको प्रतिबद्धता मीठो सुनिएको थियो । भुकम्पले रुवाबासी मच्चाईरहेकावेला पुननिर्माणको नेतृत्व लिन्छु भनेर त्यो ‘लेबल’को नेताले भन्नुलाई महानता संझिए आम बुज्रुकले ।

उच्च पदमा पुगेपछि फेरि तलको पदमा काम गर्नै हुन्न भन्ने होइन । तर, तल्लो पद स्वीकार्नेले पदलोलुपताको आरोपवाट भने बच्न सक्नुपर्छ ।

 

 

 

दिवस गुरागाईं

Logo