प्रेम कुमार श्रेष्ठ । काठमाडौं, ७ फागुन ।
नेपाली राजनैतिक इतिहासमा परिर्वतनकारी पहिलो खुड्किलो विसं २००७ साललाई मानिन्छ । नेपालमा शासन गर्दै आएको १०४ वर्षको राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र आएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनामा राजा त्रिभुवनले तत्कालीन राजनीतिक दललाई सहयोग गर्दै राजमुकुट नै छोडेर भारतमा गएका थिए ।
तत्कालीन नेपालका राजा त्रिभुवन भारत गएसँगै नेपाली राजनीतिक दलमा हौसला आयो । फलस्वरुप नेपालमा एकतन्त्रिय राणा शासनको अन्त्य भई ००७ सालमा प्रजातन्त्रको पनि सुरुवात हुन पुग्यो ।
भलै, नेपालमा प्रजातन्त्रको बहाली गर्न सहयोग पुर्याएका त्रिभुवनकै दरसन्तान रहेका राजा ज्ञानेन्द्रलाई २०६२ र ६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनले हटाएको थियो ।
यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर सङ्घीय गणतन्त्र नेपाल भएको छ । मुलुकमा गणतन्त्र घोषणा भएको १० वर्ष पुग्दा पनि प्रजातन्त्र दिवस मनाउन भने छाडिएको छैन ।
जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठक २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गरिसकेको छ । तर, नेपाल सरकारले फागुन ७ गते लोकतन्त्र दिवस मनाउँदै आएको छ ।
यस अवसरमा आज ६७ औं प्रजातन्त्र दिवस नेपालभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातान्त्रिक व्यवस्था सुरु भएको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनारउने गरिन्छ ।
गणतन्त्र नेपालमा प्रजातन्त्रको महत्त्व
२००७ सालमा प्रजातन्त्र आएको मुलुकमा लोकतन्त्र हुँदै सङ्घीय गणतन्त्र स्थापना भइसकेको छ । नेपालको राजनैतिक भौगोलिक संरचनादेखि संविधानसम्म गणतन्त्रको छाप परिसकेको छ । तर, प्रजातन्त्र दिवसको अस्थित्व भने कायम रहँदै आएको छ ।
प्राध्यापक डा. सुरेन्द्र केसीका अनुसार प्रजातन्त्रले नेपालमा पहिलो पटक संवैधानिक राजतन्त्रको व्यवस्थाको सुरुवात गर्यो । उनी थप्छन् –‘बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले प्रजातन्त्रको महत्व रहेको छ ।’
परिर्वतन हुन नसकेको नेपाल
नेपालमा प्रजातन्त्र स्थापनका लागि गरिएको आन्दोलनदेखि गणतन्त्रसम्मको इतिहास हेर्ने हो भने प्रत्येक दश वर्षमा आन्दोलन हुँदै आएको छ । प्रजातन्त्रले नेपालमा एक युगान्तकारी परिर्वतनको बाटो बनाएको थियो । तर, बाटो धुमलिएर नेपालको विकासमा अनेक बाधा उत्पन्न हुन पुग्यो ।
यसैबीच संघीय गणतन्त्र नेपालमा प्रजातन्त्रले भिन्न प्रकारको महत्व राख्दै आएको छ । डा. केसी भन्छन् –‘प्रजातन्त्रले संवैधानिक राजतन्त्रको व्यवस्था गर्यो, तर लामो समय टिक्न सकेन । अहिले गणतन्त्रको हालत पनि त्यस्तै रहेको छ ।’ उनी थप्छन् –‘प्रजातन्त्रको अवधिमा नै राजनीतिक दलको इच्छाशक्ति नहुनु विड्वनाको कुरा हो । अहिले पनि हालत उस्तै छ ।’
कुनै फरक छैन
नेपालमा २००७ सालमा आएको प्रजातन्त्रको व्यवस्था र अहिले गणतन्त्रको अवस्था उस्तै रहँदै आएको डा. केसी वताउँछन् । हामीसँगको कुराकानीमा उनले भने,–‘प्रजातन्त्रको समयमा दलहरु सत्तामा जाने खेल अहिलेसम्म उस्तैगरी चल्दै आएको छ । पछिल्लो समयमा सत्ता खेल मात्र होइन भ्रष्ट्राचार, अन्याय, अत्याचार, शोषण बढ्दै गएको छ ।’





























प्रतिक्रिया