नेपालको राजनीतिक केन्द्र मानिने मोरङ जिल्ला यतिबेला चुनावी बहसको केन्द्रमा छ । छ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यो जिल्ला केवल सङ्ख्यात्मक हिसाबले मात्र होइन, सामाजिक, सांस्कृतिक र आर्थिक विविधताका कारण पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने हैसियत राख्छ । देशकै दोस्रो ठूलो जनसंख्या भएको जिल्लाका रूपमा मोरङमा हुने राजनीतिक सन्देशले प्रदेश र केन्द्र दुवै तहमा तरंग पैदा गर्ने क्षमता राख्छ।
यसपटकको चुनावी माहोलमा मोरङको हरेक कुना कन्दरामा बहस, तर्क र आकांक्षाको गोलचक्कर देखिन्छ । राजनीतिक विचारधाराको ध्रुवीकरण, धार्मिक विविधता, पहिचानको सवाल, विकासको अनुभूति गर्न चाहने समाज र लोकप्रियतावादमा रमाइरहेको समूह लगायत सबै प्रवृत्ति एउटै समयमा सक्रिय देखिन्छन् । हिन्दू, मुस्लिम, ब्राह्मण, क्षेत्री बहुसंख्यक समुदायसँगै उराँव, मेचे, धानुक, सतार, झाँगड लगायतका आदिवासी तथा लोपोन्मुख समुदायको साझा बसोबास रहेको मोरङ सामाजिक संरचनाको दृष्टिले बहुरंगी छ। यही बहुलता चुनावी समीकरणको प्रमुख आधार पनि बनेको छ।
मतदाताको मनोविज्ञान यसपटक सरल छैन। “अबको चुनावले हामीलाई के दिन्छरु” र “देशले के पाउँछ ?” भन्ने प्रश्नले जनतामा गहिरो चिन्ता र अपेक्षा दुवै पैदा गरेको छ। सबै वर्ग, समुदाय, समूहले सुरक्षा, रोजगारी, आर्थिक स्थायित्व र सामाजिक सम्मानको प्रत्याभूति कसले दिनसक्छ भन्ने आधारमा मूल्यांकन गरिरहेका छन्। मतदाताको यो आत्ममन्थनले देखाउँछ कि उनीहरू केवल नारामा होइन, परिणाममा विश्वास गर्न चाहन्छन्।
भौगोलिक हिसाबले मोरङ पहाडी क्षेत्रदेखि तराईको सीमावर्ती भूभागसम्म फैलिएको छ। केही क्षेत्र शहरीकरण र पूर्वाधारको दृष्टिले अगाडि बढेका छन् भने केही विकट बस्ती अझै आधारभूत सेवाबाट वञ्चित छन्। विकट क्षेत्रका नागरीक निर्वाचित प्रतिनिधि कहिले पुग्छन् र समस्या कहिले सुन्छन् भन्ने प्रतीक्षामा छन् भने अर्कोतर्फ अपेक्षाकृत विकसित क्षेत्रका बासिन्दाले मोरङले राजधानीसरह राजनीतिक महत्व पाउँदा पनि के गुमायो र के पायो भन्ने समीक्षा गरिरहेका छन्।
नयाँ दलहरूको उदय र पुराना दलहरूको साख जोगाउने प्रयासबीच प्रतिस्पर्धा चर्किएको छ। तर यथार्थ के हो भने अहिलेसम्म अधिकांश मतदाताले अन्तिम निर्णय गरिसकेका छैनन्। जनआक्रोश र असन्तुष्टिको मात्रा उच्च देखिए पनि त्यो आक्रोश कुन दिशामा रूपान्तरित हुन्छ भन्ने विषय अझै अनिश्चित छ। आक्रोशित मतको विभाजन हुँदा बहुसंख्यकले नचाहेको उम्मेदवार पनि विजयी हुन सक्ने सम्भावना मोरङमा प्रबल छ।
औद्योगिक हिसाबले पनि मोरङको महत्व विशेष छ। विराटनगर आसपासका उद्योग कलकारखानाले हजारौँ मजदुरलाई रोजगारी दिएका छन्। तर उद्योग क्षेत्रको आवाज, श्रमिकका माग र व्यवसायीका समस्या राजनीतिक प्राथमिकतामा कति पर्छन् भन्ने प्रश्न अझै खुला छ। मजदुर वर्ग रोजगारीको सुरक्षाको ग्यारेन्टी चाहन्छ भने व्यवसायी नीतिगत स्थायित्व र कर संरचनामा स्पष्टता खोजिरहेका छन्।
सिमा क्षेत्रका नागरिकको प्रश्न झनै संवेदनशील छ। सीमास्तम्भजस्तै सीमाना जोगाएर बसेका बासिन्दाले सुरक्षासँगै आधारभूत सुविधा र राज्यको उपस्थितिको अनुभूति खोजिरहेका छन्। उनीहरूको समस्या चुनावी भाषणमा मात्र सीमित नहोस् भन्ने अपेक्षा बलियो छ।
यसपटक मोरङमा कुनै एक प्रतिनिधिको एकल दबदबा देखिँदैन। सबै दल र उम्मेदवारलाई नागरीकको मन जित्न कडा प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ। केवल लोकप्रिय नाराले मत सुरक्षित हुने अवस्था छैन। चुनावअघि र पछि दुबै समयमा जनताको समस्या समाधानमा र आवाज नसुन्ने प्रतिनिधिलाई मतदाताले स्वीकार नगर्ने संकेत स्पष्ट देखिन्छ।
मोरङका मतदाता यतिबेला द्वविधामा छन्, आक्रोशको मत हाल्ने कि आशाको मतरु असन्तुष्टिलाई परिवर्तनतर्फ मोड्ने कि परम्परागत स्थायित्व रोज्नेरु यही द्वन्द्वले चुनावी परिणामलाई रोचक र अनिश्चित बनाएको छ।
मोरङ अहिले केवल को जित्छ भन्ने प्रश्नमा सीमित छैन, जनताको आक्रोश र अपेक्षा कसरी रूपान्तरण हुन्छ भन्ने निर्णायक मोडमा छ। आक्रोश यदि नीतिगत बहसमा रूपान्तरित भयो भने मोरङले नेतृत्वको नयाँ मापदण्ड तय गर्न सक्छ। तर यदि त्यो केवल भावनात्मक ध्रुवीकरणमा सीमित भयो भने परिणाम फेरि पनि असन्तुष्टि नै दोहोरिन सक्छ।
मोरङ आज केवल चुनावी प्रतिस्पर्धाको मैदान होइन, सामाजिक चेतनाको परीक्षास्थल बनेको छ। यहाँको मत केवल अंकगणित होइन, भावनाको घनत्व पनि हो। असन्तुष्टि, अपेक्षा, पहिचान, सुरक्षा, रोजगारी, विकास यी सबै प्रश्न एउटै मतपेटिकामा मिसिन गइरहेका छन्।
तर इतिहासले देखाएको छ, आक्रोश आफैंमा समाधान होइन। आक्रोश दिशाहीन भयो भने त्यो केवल क्षणिक सन्तुष्टिमा टुंगिन्छ, दिशायुक्त भयो भने परिवर्तनको आधार बन्छ। मोरङको अहिलेको चुनौती पनि यही हो जनताको भित्र उम्लिरहेको असन्तुष्टिलाई सकारात्मक राजनीतिक निर्णयमा रूपान्तरण गर्ने।
अन्ततः मोरङले यसपटक के रोज्छ, स्थायित्व, परिवर्तन, कि प्रयोगरु त्यो निर्णयले केवल जिल्लाको भविष्य होइन, प्रदेश र राष्ट्रको शक्ति सन्तुलनसमेत प्रभावित गर्नेछ। चुनावी प्रतिस्पर्धा जति रोचक देखिए पनि निर्णायक शक्ति नागरीककै हातमा छ। यदि मत विवेकपूर्ण भयो भने मोरङले नेतृत्व जन्माउँछ। यदि मत केवल आवेगमा भयो भने परिणाम फेरि पनि प्रश्नमै सीमित रहनेछ। अब हेर्न बाँकी छ मोरङले आफ्नो आक्रोशलाई दिशा दिन्छ कि दिशाहीन उर्जा नै बनाइराख्छ।
(लेखक नेपाल विराटनगर महानगरपालिका, मोरङ राजनीतिशस्त्र र कानूनको विद्यार्थी हुन्)































प्रतिक्रिया