काठमाडाैंमा चिसो बढिरहेको थियो। श्री स्वस्थानी माताको व्रतको मध्यको समय थियो नेपालमा। २०८२ साल माघ ९ गते तद्अनुसार २०२६ जनवरी २३ को कठ्याङ्ग्रिदो जाडोमा म फिलिपिन्सको यात्राको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ लागे। साँझ पखको समय रात परिसकेको थियो एउटा मध्यम खालको सुटकेश र एउटा ल्यापटप ब्याग भिरेर म विमानस्थलभित्र प्रवेश गरे। टिकट र पासपोर्ट हातमा लिएर म क्याथे प्यासिफिकको काउन्टरमा पुगे। त्यहाँ बोर्डिङ पास लिएर काधँमा ल्यापटप सहितको ब्याग भिरेर म सुरक्षा जाँचको लागी बिमानस्थलको माथिल्लो तलामा लाईनमा लामबद्ध भएँ ।
केहि बेरमा सुरक्षा जाँच सकियो अनि म उडानको प्रतिक्षाको लागि प्रतिक्षा कक्षमा बसि ओशोको पुस्तक शिव सुत्र पढिरहेको थिए । त्यतिकैमा धरान घर भएका एक नव विवाहित जोडि मेरा समिपमा आइपुगे र उडान सम्बन्धी केहि कुरा सोधे। उनिहरु बिवाह पछि हनिमुनको लागी दुवई जाँदै रहेछन् । मैले पढिरहेको पुस्तक शिव सुत्र तर्फ संकेत गर्दै नवविवाहित बहिनिले मलाइ गुरु ओशो असाध्यै राम्रो लाग्छ भन्दै गुरु ओशोको प्रशंसा गर्न लागिन् । अनि मैले म सगँ अरु पुस्तकहरु पनि छन भन्दै केहि पुस्तकहरू उनिलाई देखाए। त्यहा उनले ओशोको सानो पुस्तक कसरी उच्च चेतनासगँ जोडिने लिइन् । केही बेरमा हामीलाई जहाजतर्फ जानको लागि उदघोष भयो।म जहाज तर्फ लागे। हाम्रो पहिलो उडान क्याथे प्यासिफिक जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाण्डौँबाट हङकङ तर्फको थियो। राती १०:५३ मा क्याथे प्यासिफिक विमानले भुइ छोड्दै आकाश तर्फ उड्यो। बिमानमा म सँगै सिटमा अमेरिका जादै गरेका एक नेपाली युवक थिए जो १० वर्ष देखी अमेरिकामा कार्यरत थिए। क्याथे प्यासिफिक जहाज बहुत सफा र सुन्दर थियो।
जहाजका कर्मचारीहरु सहयोगी र सत्कारयुक्त थिए । हामी उडेको जहाज ४ घण्टा १५ मिनेटको लामो तर रमाइलो उडानको साथ हङकङको समय अनुसार बिहान ५ बजेर २५ मिनेटमा चेक लाप कोक अन्तर्राष्ट्रिय विमानस्थल हङकङमा अवतरण भयो । हाम्रो ट्रान्जिट हङकङ थियो। हामी जहाजबाट बाहिर निस्कीएर त्यहाँ सुरक्षा जाँच गरि ट्रान्सफर कक्षतर्फ लाग्यौँ। सुरक्षा जाँच र ट्रान्सफरको प्रकृया सकेर अब अर्को उडानको प्रतिक्षामा म थिए। हङकङ बिमानस्थलको गेट नं. ४ मा म प्रतिक्षा गरिरहेको थिए। हाम्रो हङकङमा २ घण्टाको ट्रान्जिट थियो।
त्यसपछि जनवरी २४ बिहान ७:३० मा म क्याथे प्यासिफिकको जहाजबाट फिलिपिन्सको मनिला तर्फ उडे। २ घण्टा १० मिनेटको उडान पछि बिहानीमा फिलिपिन्सको समय अनुसार ९:४० मा हामी उडेको विमान निनोइ एक्युनो अन्तर्राष्ट्रिय विमानस्थल मनिलामा अवतरण भयो। नेपाल र फिलिपिन्सको समय तुलना गर्दा फिलिपिन्सको समय नेपाल भन्दा २ घण्टा १५ मिनेट अगाडी छ। म सुरक्षा जाँच गरि मेरो सुटकेश लिएर मैले फिलिपिन्सको पैसा साटे। फिलिपिन्सको पैसालाई पेसो भनिन्छ । अनि मैले फिलिपिन्सको सिमकार्ड किनेर मोबाइलमा राखे।
अनि मैले फिलिपिन्सको सेयर राइडिङ एप ग्राब र मोभ ईट ईन्स्टल गरे मेरो मोबाईलमा। अनि ग्राबबाट ट्याक्सी बुक गरि त्यहि ट्याक्सीमा मनिला बिमानस्थलबाट म पासाए भन्ने ठाँउमा रहेको पासाए सेन्ट्रले होटलमा पुगे।म जहाजको यात्राको क्रमले गर्दा रातभरि सुत्न पाएको थिइन। त्यसैले पासाएमा गई स्नान गरि केहि खानेकुरा खाई आराम गरे। त्यस दिन केहिबेर वरिपरि घुमफिर गरे। अनि त्यस रात मुस्तसगँ मनिलाको पासाएमा निदाए। भोलिपल्ट बिहान उठि नित्य कर्महरु सकेर म स्कोन मन्दिर मकाटी मनिलामा गए। मेरो यो फिलिपिन्स भ्रमण अध्यात्मिक भ्रमण थियो।
मनिलामा स्कोन टेम्पल मकाटी भन्ने शहरमा एन्टोनिओ भिलेज, बानुओ स्ट्रिटमा रहेछ। त्यहाँबाट अब तुरुन्तै सरेर मनिलाको तगिगमा भर्खरै बनेको नयाँ मन्दिरमा जाँदै रहेछ। त्यहाँ सर्ने क्रम भइरहेको रहेछ। मैले दिनभरि मकाटीको त्यस स्कोन मन्दिर र त्यहि एन्टोनिओ भिलेजमा बिताएँ। त्यसदिन मैले त्यहि स्कोन मन्दिरमा भोजन गरे। दिउँसो भरि मन्दिर दर्शनको लागि आइरहनु भएका इन्डीयन भक्तजनहरू सँग कुराकानी गरे। सतसङ्ग गरे। मैले ओशोका केहि पुस्तकहरू, ओशो तपोवनका ब्रोसरहरु अनि ओशो तपोवनको क्यालेन्डर लगेको थिए। दिउँसो त्यहि मन्दिर आसपास महान् गुरु ओशोको बारेमा कुराहरु गर्दै अनि बेलाबेलामा ओशोका पुस्तकहरु बिक्रि गर्दै दिन भर बिताए।
भारतीय भक्तजनहरुले ओशोको बारेमा प्रेमपुर्ण कुराहरु गरेको सुन्दा मलाई बहुत आनन्द आयो। बेलुकी मैले त्यहि मन्दिर भित्र बस्न अनुमति मागे। तर त्यहाँ बाहिरी मान्छे कसैलाई पनि बस्ने ब्यबस्था नभएको कुरा त्यस मन्दिरकी व्यवस्थापक एक फिलिपिनो महिलाले बताइन् । त्यसपछि मैले आफ्नो सामाग्रीहरु लिएर ग्राब बाट ट्याक्सी बुक गरि म सिधै मनिलाको युनाईटेड नेशन एभेन्यु पाकोमा रहेको खाल्सा दिवान टेम्पल गुरुद्वारामा पुगे। त्यहा पुगेपछि मलाई एउटा कोठा उपलब्ध भयो।म त्यहा एक ईण्डीयन मित्र सगँ त्यसरात पाको मनिलामा निदाए। भोलि पल्ट बिहानीमा म फेरि मलाई मन परेको ठाँउ मकाटी तर्फ गए।
काँधमा ल्यापटपसहितको ब्याग भिरेर, अर्को हातमा ओशोका केही पुस्तकहरु सहितको झोला लिएर म फेरि मकाटीको स्कोन टेम्पल तर्फ गई बिहानको ब्रेकफास्ट खाए।यसपटकको मेरो फिलिपिन्स यात्रा आध्यात्मिक पर्यटनको थियो।बास्तवमा मैले यस यात्रा तय भएपछि यसलाई ओशोका सन्देश र साहित्यहरु सहितको आध्यात्मिक पर्यटनको नाम दिएको थिए। ब्रेकफास्ट पछि म एकजना फिलिपिनो महिलासँग कुराकानी गर्दै थिए त्यहि बिचमा स्कोन टेम्पलकी ब्यवस्थापक महिला आइन् र भनिन् यो मन्दिर कृष्ण र प्रभुपाद प्रति समर्पित मन्दिर हो। यहाँ तिमीले तिम्रो गुरुको पुस्तक बेच्न पाउदैनौ र यँहा मन्दिरमा कसैसँग कुराकानी पनि गर्न पाउँदैनौं।
मलाई यहा अरु भक्तहरुले सिकायत गरे तिमीले ओशोका पुस्तकहरु वितरण गर्यौ भनेर। यदि तिमीले अब यहा ओशोका पुस्तकहरु बिक्रि गर्यौ भने म पुलिसलाई खवर गर्दछु र तिमीलाई फिलिपिन्समा ब्ल्याक लिस्टेड गरिदिन्छु र सिधै तिमीलाई तिम्रो देश नेपाल पठाई दिन्छु भनेर धम्की दिईन।उनले अझै अगाडी भनिन तिमीले चर्चमा आफ्नो गुरुको पुस्तकहरु वितरण गर्यौ भने उनीहरुले तिमीलाई त्यसो गर्न दिदैनन | तिमीले मुसलमानहरुको मस्जिदमा आफ्नो गुरुको पुस्तकहरु वितरण गर्यौ भनेत उनीहरुले तिमिलाई मार्न पनि सक्छन भनिन | उनले फेरि पनि जोड दिदै भनेपछि मैले क्षमा गर्नुस् मलाई यो मन्दिरको नियम थाहा भएन भने। मैले उनलाई फेरि भने।
ओशोले कृष्णको अत्यन्त प्रशंसा गर्नु भएको छ। हाम्रो कृष्ण र प्रभुपाद प्रति अत्यन्त ठूलो प्रेम छ। त्यसैले म यहाँ आएको हो। तर तपाइको कुरा सुनेपछि म अब यहा ओशोको पुस्तकहरु वितरण गर्दिन र म यहाबाट बाहिर निस्कन्छु भन्दै त्यहाँबाट निस्किए। त्यसपछि बिस्तारै हिडेर खाल्सा दिवान टेम्पल गुरुद्वारा पाको पुगे।त्यसपछि म मनिलाको सान्टा क्रुज भन्ने ठाँउमा रहेको फिलिपिन किउ सिएओ ग्रान्ड ताओ टेम्पलमा गए। त्यहाँ केहि बेर बसे।त्यहा एक बुद्धिस्ट फिलिपिनो भक्त आइपुगे। उनि अवकाश प्राप्त डेन्टल डाक्टर रहेछन | उनि सँग केहि बेर कुराकानी भयो। उनले मलाइ विजडम पार्क तथा बुद्धिष्ट रिर्सोस सेन्टर तथा म्युजियममा जान सुझाब दिए र मलाइ त्यहासम्म जाने बाटो र तरिका बताए।
त्यसपछि उनको सल्लाह अनुसार म एउटा फिलिपिनो जिपमा चडेर त्यसतर्फ लागे। फिलिपिन्समा शहर भित्र आवतजावत गर्नका लागि एउटा पुरानो मोडेलको जिप प्रयोग हुदो रहेछ।त्यस जिपको कहानी मैले मेरा मित्र श्रीधामबाट बागीयो शहरमा पछि सुने। त्यो जिप दोस्रो विश्व युद्धमा सेनाहरु, बारुद, बन्दुकहरु बोक्न अमेरिकाले फिलिपिन्समा ल्याएको रहेछ।पछि विश्वयुद्धको समाप्ती पछि ती जिपहरु फिलिपिन्समै छोडिएको रहेछ।पछि फिलिपिनोहरुले त्यहि जिपलाई केहि बडिमा परिवर्तन गरी यात्रुहरु बोक्न प्रयोग गरेका रहेछन।त्यस्ता जिपहरु फिलिपीन्समा थुप्रै रहेछन् । त्यस्ता जिपहरु पछि मैले बागियो शहरमा पनि देखे। केहि बेरमा म मनिलाको ब्रोड वे केजोन सिटिमा रहेको युनिभर्सल विजडम फाउण्डेसन तथा बुद्धिष्ट रिसोर्स सेन्टर तथा म्युजियममा प्रवेश गरे। त्यो बहुत सुन्दर ठाँउ रहेछ। त्यहा बुद्धिष्ट परम्पराका चिजहरु, ध्यानहल, लाईब्रेरी अनि बुद्धिष्ट परम्पराका तीन वटै शाखाहरु थेराबाद, महायान र बज्रयान सम्बन्धी संकलन रहेछ।
बुद्धका हरेक शाखालाई एउटा तला समर्पित गरि त्यस शाखा सम्बन्धि जानकारीहरु, सूचनाहरु, पुस्तकहरु तथा त्यस सम्बन्धी पुराना दुर्लभ वस्तुहरुको संकलन त्यहा गरिएको रहेछ। त्यस भवनको बेसमेन्टमा एउटा ध्यान हल रहेछ। त्यहा बुद्धको अस्तु पनि राखिएको रहेछ। त्यहाको ध्यानहल पनि अदभुत तरिकाले बनाईएको रहेछ। बाहिर मोनेस्ट्रि परिसरमा बुद्धले बुद्धत्व प्राप्त गरेको बोधी बृक्षको सन्तान बृक्ष लगाइएको रहेछ। बास्तवमा त्यो ठाँउ अदभुत ठाँउ रहेछ। त्यहाका कर्मचारी फिलिपिनो चान पुजेदाले अत्यन्त प्रेमपुर्ण तरिकाले सबै ठाँउमा लगी मलाई त्यस सम्बन्धी जानकारीहरु दिए। त्यहाँ बसिरहेका एक फिलिपिनो बुद्ध भिक्षु र एक भुटानी बुद्ध भिक्षुसँग मैले सतसङ्ग गरे। त्यसपछि मैले फिलिपिनो बुद्ध भिक्षुलाई एक पुस्तक उपहार दिए। त्यसैगरि त्यहाको लाईब्रेरीलाई २ वटा पुस्तक उपहार दिए।
अनि मलाई फर्कनको लागि त्यहाका अत्यन्त बिनम्र कर्मचारी भाईले बिस्तृत जानकारी दिइ मनिलाको मेट्रो ट्रेन एल.आर.टी. चडने तरिका सिकाए। त्यसपछि म त्यहाबाट निस्किए।त्यसपछि म गिलमोर नर्थ इन्ट्रान स्टेशनबाट त्यहाको मेट्रो ट्रेन चढी रेक्टो भन्ने स्टेशनमा झरे । त्यसपछि रेक्टोबाट केहि मिनेट हिडेर डोरोटे जोसे भन्ने स्टेशनमा गए र त्यहा बाट मेट्रोमा युनाइटेड नेशन स्टेशनमा आई ओर्लिए। अनि त्यहाबाट बिस्तारै हिड्दै खाल्सा दिवान टेम्पल पाको आई खाना खाई त्यस रात पाकोमा निदाए।
फिलिपिन्स क्याथोलिक क्रिश्चियन धर्मावलम्बीहरु अत्याधिक भएको देश हो। यहा बहुत सुन्दर आइल्याण्डहरु रहेका छन् । फिलिपिन्समा गाडीहरु दायाँतर्फ चलाउँदा रहेछन् र हरेक गाडिमा ड्राइभरको सिट बाया तर्फ हुँदोरहेछ । जबकी नेपालमा गाडीहरु बाया तर्फ चलाइन्छ र ड्राईभरको सिट पनि दायाँ तर्फ हुन्छ । मनिलामा केरा के.जी.मा बिक्री हुँदोरहेछ, जबकी नेपालमा केरा दर्जनमा बिक्रि हुन्छ | २७ जनवरीमा मैले राजधानी मनिलामा रहेको ऐतिहासिक स्थान इन्ट्रामोरसको भ्रमण गरे।
इन्ट्राको अर्थ भित्र र मोरसको अर्थ पर्खाल हो। त्ससैले इन्ट्रमोरसलाई पर्खाल भित्रको शहर पनि भनिन्छ। यो शहर स्पेनीस शासनकाल (१६ औं शताब्दी) मा निर्माण गरिएको हो। स्पेनिसहरुले मनिलालाई आफ्नो प्रशासनिक केन्द्र बनाउन इन्ट्रामोरस वरिपरी अग्ला पर्खाल र किल्ला बनाए। स्पेनिस शासनकालमा यस क्षेत्र भित्र सरकारी भवन, चर्च, विद्यालय र सैनिक संरचना थिए। इन्ट्रामोरसको सबै भन्दा प्रसिद्ध संरचना सान अगस्टिन चर्च हो जुन आज पनि सुरक्षित छ र युनेस्को विश्व सम्पदा सुचिमा परेको छ। यहाँ पुराना किल्ला, ढुंगे सडक, संग्रालय र स्पेनी शैलीका भवनहरु देख्न पाईन्छ।आज इन्ट्रामोरस फिलिपिन्सको ईतिहास र संस्कृतिको प्रतिक बनेको छ। यो देशको प्रमुख पर्यटनस्थल हो, जहाँ विश्व भरबाट पर्यटकहरु घुम्न आउँछन् ।
फिलिपिन्स दक्षिण पूर्वी एशियामा पर्ने ७६00 भन्दा बढी टापुहरु भएको देश हो।यस राष्ट्रको राजधानी मनिला प्रशान्त महासागरको पश्चिमी भागमा अवस्थित छ। यस देशमा मुख्य तीन भागहरु लुजोन (Lujon), भिसायस (Visayas) र मिन्डानाओ (Mindanao) रहेका छन।यस देशका मनिला, क्यूजोन सिटि (Quezon City), दाभाओ (Davao City) र सेबु (Cebu City) ठूला शहरहरु हुन। यहाँको जनसंख्या ११ करोड भन्दा बढी छ। फिलिपिन्स विश्वको १४ औ सबैभन्दा बढी जनसंख्या भएको देश हो | यहाँको राष्ट्रिय भाषा फिलिपिनो (टागालोग) हो । यहाँका मानिसहरु मिलनसार र आतिथ्यशिल मानिन्छन् । धेरै फिलिपिनो नागरिकहरु बिदेशमा काम गर्दछन् ।
फिलिपिन्सको प्राचिन इतिहासमा मलाय जातिका मानिसहरु बसोबास गर्थे। उनीहरु साना साना समुदायमा बसेर कृषि, माछा मार्ने र ब्यापार गर्दथे । १६औं शताब्दीमा स्पेनिस अन्वेषक फर्डानान्ड म्यागेलन सन १५२१ मा फिलिपिन्स पुगे। त्यसपछी फिलिपिन्स करीब ३०० बर्ष भन्दा बढी समय स्पेनको उपनिबेश बन्यो। त्यस समयमा क्रिस्चियन धर्म व्यापक रुपमा फैलियो।
सन् १८९८ मा स्पेन-अमेरिका युद्धपछि फिलिपिन्स अमेरिकाको नियन्त्रणमा गयो। सन् १८९८ देखि सन् १९४६ सम्म फिलिपिन्समा अमेरिकाले शासन गर्यो । अमेरिकी शासनकालमा आधुनिक शिक्षा प्रणाली, अंग्रजी भाषा र नयाँ प्रशासनिक व्यवस्था शुरु गरियो। अनि दोस्रो विश्व युद्धको बेला १९४२ देखि १९४५ सम्म फिलिपिन्स जापानको नियन्त्रणमा गयो। सन् १९४५ मा अमेरिका र फिलिपिन्सको संयुक्त सेनाले जापानलाई पराजित गरे।अनि केहि समय फेरी फिलिपिन्स अमेरिकाको अधिनमा रहयो। अन्तत सन् १९४६ जुलाई ४ मा फिलिपिन्सले पुर्ण स्वतन्त्रता प्राप्त गर्यो। त्यसपछी देशले लोकतान्त्रिक शासन प्रणाली अपनायो।
फिलिपिन्समा उष्ण प्रदेशिय (Tropical) हावापानी पाइन्छ। फिलिपिन्समा औसत तापक्रम प्राय २५ डिग्री सेल्सियस देखि ३२ डिग्री सेल्सियस सम्म हुन्छ।यहाँ अत्याधिक जाडो हुँदैन र हिउँ पनि पर्दैन । फिलिपिन्समा हिउँद (Winter) हुँदैन र सधै जसो न्यानो नै हुन्छ। यहाँ मुख्य रुपमा दुई ऋतु पाइन्छन।पहिलो सुख्खा ऋतु र दोस्रो बर्षा ऋतु । बर्षातको समयमा धेरै बर्षा हुन्छ र कहिलेकाही आँधी-तुफान, (टाइफुन) पनि आउने गर्दछ। फिलिपिन्समा सबै भन्दा धेरै धानका प्रजाति पाईन्छन। यहाँ कालो चामल फल्ने धान पनि पाइन्छन् । फिलिपिन्समा बाह्रै महिना आँप फलिरहन्छ।
फिलिपिन्सको बागियो शहर विश्वको सुन्दर र हरियाली युक्त शहरहरु मध्ये पर्दछ।
२८ जनवरीमा म फिलिपिन्सको मनिलाबाट उत्तर तर्फ २४६ कि.मि. टाढा रहेको बागियो शहर तर्फ जानको लागी बस टर्मीनल तर्फ लागे। त्यहाँको सुपर डिलक्स बसमा बागियो शहर तर्फ यात्रा गरे।बस मनिला शहर पार गर्दै विभिन्न कृषि उत्पादन भइरहेका फाँटहरु तर्फ अगाडी बढ्यो।दायाँ बायाँ हरिया धानका रोपाहरु, कहि मकै बालीका फाँटहरु देखिन्थे। दायाँ बायाँ उत्पादनशिल खेतहरु, त्यहाँ लगाइएका बालीहरु अनि फिलिपिन्सको गाउँहरु नियाल्दै मैले यात्रा गरिरहेको थिए। बस अब बिस्तारै पहाड तर्फ उक्लन थाल्यो। त्यस एरिया मलाई नेपाल जस्तै लाग्यो। मलाई झापाबाट ईलाम तर्फ उक्लिएको जस्तो महशुस भयो।सडक, सडक दायाँ बायाँका घरहरु, खेतबारीहरु, बाँसका झ्याङहरु सबै नियाल्दा अनि अल्लि माथि तिरका जङगलहरु हेर्दा नेपाल जस्तै लाग्दथ्यो।बस बहुत राम्रो थियो।बस भित्र नै ट्वाईलेट थियो।मनिलाबाट ९९९ पेसोमा म बेलुकी ४:३० मा ५ घण्टाको यात्रा पछी फिलिपिन्सको बहुत सुन्दर शहर बागियो पुगे।
म बागियो शहरमा बसबाट झर्ने बितिक्कै यूनिभर्ससिटी अफ कोर्डीलेराजमा गएँ । जसको पुरानो नाम बागियो कलेजेज फाउण्डेशन हो। त्यहाँ गई केही बेर भेटघाट र कुराकानी गरे। यस कलेजको बारेमा मैले २२ बर्ष अगाडि नै मेरा सिनियर सहकर्मीबाट सुनेको थिए जसले उक्त कलेजबाट पढेर आएका थिए। त्यस पछी म केहीबेर पैदलै बागियो शहर घुमे। त्यस पछी म बागियो शहरको एभेलिनो स्ट्रीटमा रहेको हिन्दु मन्दिर तर्फ लागे । केही सोधपुछ र गुगल म्यापको सहयोगबाट म बागियो सहरको हिन्दु टेम्पलमा पुगे। करीब साँझ पर्न खोज्दै थियो । सफा र चट्ट- परेको हिन्दु मन्दिर भित्र प्रवेश गरे। त्यहा सुरुमा फिलिपिनो बहिनीहरु भेटिए।
उनीहरुसँग सोधपुछ गरी म उक्त मन्दिरको पहिलो तल्लाको भर्याङ चढे। भर्याङ चढ्ने बित्तिकै अकस्मात रुपमा एक नेपाली पहिरन लगाएका हसिला र फुर्तिला युवकले जोसिलो रुपमा स्वामी जी नमस्ते भने। त्यो अन्जान शहरमा मलाई स्वामीजी भनेर सम्बोधन गरेको सुन्दा म अश्चर्य चकित मात्र भईन खुशीले गदगद भए। उनले म पनि नेपाली हो भनेपछि म झनै खुशि भए। मैले क्यान यू स्पीक नेपाली भनेर सोधे। उनले एस हवाई नट, आई क्यान स्पिक नेपाली भने। त्यस पछी मैले नेपालीमा कुराकानी गर्न शुरु गरे। मैले सोधे हजुर कसरी आई पुग्नु भयो यहाँ ? त्यसपछी हामी हाँस्दै रमाउँदै कुराकानी गर्न थाल्यौं। उनले म आफु पनि ओशो सन्यासी भएको र आफुले सन २०१५ तिर स्वामी आनन्द अरुणज्यूबाट ओशो तपोवनमा सन्यास लिएको कुरा सबिस्तार बताए। केही बेरमा अर्का एक राई पहिरन लगाएका युवक पनि मन्दिर भित्रबाट निस्किए। म अझै रोमान्चित बने।
मैले एक हप्ता अगाडी फिलिपिन्स पुगे पछी पहिलो पटक यसरी खुलेर नेपालीमा भलाकुसारी गर्न पाएको थिए। केहीबेरमा मन्दिरमा आरति शुरु भयो। म प्रफुल्लित भई त्यहाँ आरतिमा सहभागी भए। त्यहाँ केही बेरमै हामी बीच मित्रता अपुर्व रुपमा झाङ्गीयो । त्यस पछी हामी स्वामी श्रीधामजीको निवासमा गयौं। त्यस रात श्रीधामजीले आफ्ना अध्यात्मिक अनुभवहरु, उहाँको फिलिपिन्स आगमनको ईतिहास सुनाउनु भयो अनि उहाँका सृजनाहरु देखाउनु भयो।त्यस रात म बागियो शहरमा मस्त संग निदाए। भोलि पल्ट बिहान हामीले बागियो शहर घुम्यौं। त्यहाँको एब्नो स्क्वायर मल, हयाङगर मार्केट घुम्यौं अनि त्यहाँ बिहानको मिठो खाना खायौं। त्यसपछी मलाई मित्रहरु श्रीधाम र अलङ्कार राईले क्याम्प जोन हे भन्ने अत्यन्त सुन्दर ठाउँमा लैजानु भयो। हरियो सल्लाका रुखहरु मिश्रीत जङ्गलको बीचमा अत्यन्त सुन्दर र रोमान्चकारी ठाउँ रहेछ क्याम्प जोन हे।केही तस्बिरहरु खिच्यौं हामिले त्यहाँ। त्यसपछि हामी छोटो अवलोकनको लागि एस.एम मल गयौं ।
त्यसपछि मलाई मित्रहरुले भिक्टोरी लाईनर बस टर्मीनलमा लगी मनिला जाने बस चढाउनु भयो। म दिउँसो २:३० मा भिक्टोरी लाईनर बस सेवाबाट मनिला तर्फ प्रस्थान गरे। बसले दुई घण्टामा सिसोन पुर्यायो र त्यहा केही बेर रोक्यो।त्यो ठाँउ ठ्याक्कै झापाको चारआली र मोरङको पथरी जस्तो रहेछ। अल्ली माथी पहाड, जङगल अनि घरहरु पनि त्यस्तै प्रकारका थिए त्यहाँ। अनि त्यहाबाट प्रश्थान भएपछि बस मनिला शहरको कालुकानमा रोकियो। साँझ ७:३० मा बसको अन्तिम गन्तब्य बिन्दु पासाए बस टर्मिनलमा पुगेपछि म झरे। त्यसपछि म सिधै मेट्रो ट्रेनमा युनाइटेड नेशन एभेन्युको खाल्सा दिवान टेम्पल, पाको गए। म त्यस रात त्यहाँ पाकोमा निदाए। भोलिपल्ट म मनिलाको मकाटी शहरमा रहेको मग्लानिज भिलेजमा गए। त्यहाँ चौडा सडकमा दायाँ बाँया पिपलका रुखहरु लामबद्ध रुपमा रोपिएको बहुत सुन्दर सडक थियो| त्यहा गई मनिला हिम्दु टेम्पलका सेक्रेटरी फ्रान्की गङवानीलाई फोन गरे। उनि मनिला भन्दा बाहिर गएको हुदाँ उनि सँग भेट हुन सकेन। त्यसपछि म युनाइटेड नेशन एभेन्यु आए। त्यहाबाट आफ्ना लगेजहरु लिएर महात्मा गान्धी सडक, पाकोमा रहेको काठमाण्डौँ थकाली किचनमा पुगे। त्यो होटेल नेपालीको होटेल रहेछ। म त्यस रात त्यहि नेपाली होटेलमा मिठो थकाली खाना खाई निदाए। उक्त होटेलमा नेपाली कामदार भाइहरु रहेछन।उनिहरुले मिठो प्रेम गरे।
भोलि पल्ट ३१ जनवरी २०२६ मा म बिहान ४:३० मा उठि लगेजहरु लिएर ग्राबबाट ट्याक्सी बुक गरि निनोई एक्युनो इन्टरनेशनल एअरपोर्ट पुगे। मनिलाको त्यो एअरपोर्ट बिशाल एअरपोर्ट थियो। म उक्त एअरपोर्टको टर्मिनल ३ को गेट नं. १०९ मा बोर्डिङ पास लिएर क्याथे प्यासिफिक विमानमा बसे। विमान हङकङको चेक लाप कोक अन्तर्राष्ट्रिय विमानस्थल तर्फ बिहान ८:१० मा उडयो। मनिलाबाट २ घण्टा ३० मिनेटको यात्रा पछि १०:३० मा हामी हङकङ पुग्यौ।हाम्रो हङकङमा ७ घण्टा ५० मिनेटको ट्रान्जीट थियो। त्यसपछी हामी क्याथे प्यासिफिकको जहाजबाट हङकङको समय अनुसार साँझ ६:२० मा काठमाण्डौं तर्फ उडयौं।नेपाली समय अनुसार राति ९:३० मा म काठमाण्डौं उत्रिए। यसरी मेरो ९ दिनको फिलिपिन्स यात्रा पुरा भयो।
(लेखक स्वामी ध्यान आशिष ओशो सन्यासी हुन्)































प्रतिक्रिया