काठमाडाैं । २५ डिसेम्बर १९९१ मा (१७ दिन पहिले नै) देशको अस्तित्व समाप्त भइसकेको अति महाशक्ति राष्ट्र सोभियत सङ्घका राष्ट्रपतिले आफ्नो अन्तिम सम्बोधन गरे र शक्तिको साँचो हस्तान्तरण गरे। सोही साँझ क्रेमलिनमा फहराइरहेको सोभियत सङ्घको विश्वविख्यात हँसिया-हथौडा अङ्कित रातो झण्डा झारियो र रुसको त्रिरङ्गा झण्डा फहराइयो।
यसअघि, ८ डिसेम्बर १९९१ मा बेलारुसको एउटा जङ्गलस्थित ‘बेलोभेजा’ को सिकार गृहमा रुसका नेता बोरिस एल्टसिन, युक्रेनका लियोनिद क्राभचुक र बेलारुसका स्तानिस्लाभ शुश्केभिच जम्मा भएका थिए। भनिन्छ— नशामा लठ्ठिएको अवस्थामा कुराकानी गर्दै जाँदा उनीहरूले सोभियत सङ्घको अस्तित्व समाप्त गर्ने सम्झौतामा हस्ताक्षर गरे । यद्यपि, उनीहरू यो उद्देश्यका निम्ति त्यहाँ भेला भएका भने थिएनन्।
इतिहासकार एरिक हब्सबामले लेखेका छन्, “यो घटना २०औँ शताब्दीको सबैभन्दा अप्रत्याशित राजनीतिक घटनामध्ये एक हो।” त्यसैले त भनिन्छ- “सोभियत सङ्घलाई कसैले युद्धमा हराएन; अन्ततः त्यसका आफ्नै नेताहरूले यसलाई समाप्त पारे।”
बितेका ३४ वर्षमा एमालेले जबजलाई ‘गायत्री मन्त्र’ का रूपमा ग्रहण गर्यो र यसका १४ विशेषतालाई कण्ठस्थ बनायो।
सन् १९९०/९१ मा भएका यी घटनाहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भीर धक्का दिए । कम्युनिस्टहरूको ‘मक्का’ मानिएको सोभियत सङ्घ मात्र ढलेन, विश्वभरका धेरै कम्युनिस्ट पार्टीहरू विघटित भए र कैयौँमाथि प्रतिबन्ध लगाइयो। कतिपय देशमा त जनता नै कम्युनिस्टहरूका विरुद्ध सडकमा ओर्लिए। त्यसपछि फ्रान्सिस फुकियामा जस्ता पश्चिमा बुद्धिजीवीहरूले कम्युनिस्ट ‘इतिहासको अन्त्य’ को घोषणा गरे। उनीहरूको निष्कर्ष थियो- “अब संसारमा कहिल्यै कम्युनिस्टहरूको पुनरोदय हुने छैन।”
तर नेपालको परिस्थिति भने फरक थियो। नेपालमा लोकतन्त्र प्राप्तिका हरेक आन्दोलनमा नेपाली जनताका साथ नेपाली कम्युनिस्टहरूले ऐतिहासिक भूमिका खेलिरहेका थिए। कमरेड मदन भण्डारीको नेतृत्व र उहाँकै प्रस्तावमा नेकपा (एमाले) ले विश्वको बदलिँदो परिस्थितिको ठोस मूल्याङ्कन गर्दै एउटा नयाँ निष्कर्ष निकाल्यो। त्यो निष्कर्ष थियो— “मार्क्सवादी विचारको विश्वव्यापी लोकप्रियताको आवरणमा एउटै ‘प्रिस्क्रिप्सन’ संसारभर मान्य हुन सक्दैन। लोकतन्त्रका सर्वव्यापी मान्यताहरूलाई आत्मसात् गर्दै नेपालको विशिष्टताका आधारमा विचार, सङ्गठन, कार्यशैली र नेतृत्व निर्माणमा पार्टीको लोकतान्त्रीकरण एवं पुनर्संयोजन गरिनुपर्छ।”
यस नवीन विचारलाई जननेता कमरेड भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) नाम दिनुभयो । नेकपा (एमाले) को पाँचौँ महाधिवेशनले यसलाई उत्साहपूर्वक पारित गर्यो। ‘जबज’ लाई ‘नेपाली क्रान्तिको मौलिक विचार’, ‘मौलिक कार्यक्रम’ र ‘मौलिक सिद्धान्त’ हुँदै ‘नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त’का रूपमा विकास गरियो। यही जबजको मार्गदर्शनमा एमाले नेपाली जनताको प्रिय पार्टी बन्न सफल भयो र देशको महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा पटक–पटक सत्ताको नेतृत्व गर्ने अवसर पायो।
अहिले परिस्थिति बदलिएको छ । ९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनमा लागेको धक्का साढे तीन दशकपछि नेपालमा आइपुगेको छ। यसलाई नजरअन्दाज गर्ने, अस्वीकार गर्ने र यथास्थितिमा रमाउने छुट अब एमाले पंक्तिलाई छैन। यसो गर्नु भनेको आफ्नो बचेखुचेको साखलाई समाप्तितिर धकेल्नु र नेपाली कम्युनिस्ट आन्दोलन मृत्युशय्यामा पुगेको कुराको ‘गर्वका साथ’ साक्षी बस्नु मात्र हुनेछ।
९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनमा लागेको धक्का साढे तीन दशकपछि नेपालमा आइपुगेको छ।
सोभियत सङ्घलगायत विश्वका कम्युनिस्ट पार्टीहरू ढल्नुमा बाह्य प्रभाव, दबाब र हस्तक्षेप सहायक मात्र थिए, मूलतः राज्य, जनता र पार्टी जीवनको आन्तरिक व्यवस्थापनमा रहेका अनेकौँ कमजोरीलाई अनदेखा गरिनु नै त्यसको निर्णायक कारण थियो भन्ने जबजको निष्कर्ष हो। ठिक त्यसैगरी नेकपा (एमाले)ले अहिले बेहोरेको धक्का पनि हाम्रै आन्तरिक कमजोरीहरूको परिणाम हो भन्ने कुरा स्वीकार गर्नुपर्छ। कमरेड मदन भण्डारीले सुरु गर्नुभएको मुलुक र कम्युनिस्ट पार्टीको पूर्ण लोकतान्त्रीकरण, पुनर्संयोजन र पुनर्व्याख्या गर्ने कार्यभार पूरा हुन पाएको थिएन। त्यसको सुरुवात मात्र भएको थियो, तर बिडम्बना! उक्त कार्यभार पूरा हुन नपाउँदै उहाँको षड्यन्त्रपूर्वक हत्या गरियो।
बितेका ३४ वर्षमा एमालेले जबजलाई ‘गायत्री मन्त्र’ का रूपमा ग्रहण गर्यो र यसका १४ विशेषतालाई कण्ठस्थ बनायो। जबजको थप विकास गर्ने, यसको नयाँ गन्तव्य पहिल्याउने र सोहीबमोजिम पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढाउने सुन्य प्रयत्न भयो ।
अर्को शब्दमा भन्दा, जबजका चौधबुदाको ब्याज खाएर रमाउने काम बाहेक अरु भएन | “सिद्धान्तको निरन्तर पुनरावलोकन र विकास गर्ने, व्यवहारको निरन्तर पुनरावलोकन र रूपान्तरण गर्ने तथा सिद्धान्त र व्यवहारको अन्तरसम्बन्धलाई निरन्तर अद्यावधिक गर्दै लैजाने पार्टी मात्र शसक्त अस्तित्वमा रहिरहन सक्छ” । त्यसैले अब एमालेले आफूलाई दीर्घकालसम्म टिकाई राख्ने हो भने जबजले सुरु गरेका बाँकी कार्यभारहरू पहिचान गरी अघि बढ्नुपर्छ | यसका लागि यो नै उपयुक्त समय हो।
एमालेलाई सही लयमा फर्काउन र जनताको आशा एवं भरोसाको केन्द्र बनाउन यसका विचार, सैद्धान्त, नीति, नेतृत्व, नेतृत्व निर्माणको प्रक्रिया, सङ्गठनात्मक संरचना र कार्यशैलीमा व्यापक पुनर्गठन र परिमार्जन आवश्यक छ। यस सन्दर्भमा अब नेकपा (एमाले)को नाम परिवर्तन पनि एक ऐतिहासिक आवस्यकता बनेको छ । यथास्थितिमा युवा पुस्ताको कुनै सदस्य एमालेमा आबद्ध हुन तयार छैन | यो अवस्था भनेको अस्तित्व रक्षाकोलागि कठिन परिस्थिति हो |
सामान्य अर्थमा, कम्युनिस्ट पार्टी मूलतः सर्वहारा श्रमजीवी मजदुर वर्गको प्रतिनिधि पार्टी हो। तर अभ्यासमा, सर्वहारा वर्गका नाममा कम्युनिस्ट पार्टीको, कम्युनिस्ट पार्टीका नाममा केन्द्रीय समितिको, केन्द्रीय समितिको नाममा पोलिटब्युरोको र कतिपय देशमा त पोलिटब्युरोका नाममा पार्टी अध्यक्ष वा महासचिवको एकदलीय/एकव्यक्ति तानाशाही शासन चलाउने परम्परा बसालियो। जनता शासनमा सहभागी हुन पाएनन्, बरु निरीह दर्शक मात्र बने। जनतामाथि नेताहरूका आकाङ्क्षा लाद्ने काम भयो, जसका कारण विश्वभरि नै कन्युनिस्ट आन्दोलन रक्षात्मक हुन पुग्यो।
नेपालको कुरा गर्ने हो भने यहाँ शास्त्रीय रूपको सर्वहारा वर्ग लगभग छैन। पर्याप्त औद्योगिकीकरण नभएकाले मजदुर वर्गको सङ्ख्या न्यून छ र त्यसको पनि सानो अंश मात्र एमालेमा सङ्गठित छ। व्यवहारमा पार्टीभित्र निम्न-मध्यम वर्ग, मध्यम वर्ग, राष्ट्रिय पूँजीपति वर्ग, व्यापारिक वर्ग, ठूलो सङ्ख्यामा किसान र मार्क्सको भाषामा भन्दा ‘ह्वाइट कलर वर्कर’ (बौद्धिक श्रमजीवी) सङ्गठित छन्। आज यिनै वर्ग पार्टीको निर्णायक स्थान र भूमिकामा छन्। उनीहरूलाई राजनीतिक भूमिका नदिने हो भने यो पार्टी जनसमर्थन प्राप्त शक्तिका रूपमा रहन सक्दैन। यदि भूमिका दिने हो भने, यो पार्टी पुरानो कम्युनिस्ट ढाँचामा रहिरहन सक्दैन | यो स्वतः वामपन्थी पार्टीमा रूपान्तरित हुन पुग्छ। यही अन्तर्विरोधका कारण पनि आज कम्युनिस्ट आन्दोलनले धक्का खाएको हो।
जनता शासनमा सहभागी हुन पाएनन्, बरु निरीह दर्शक मात्र बने। जनतामाथि नेताहरूका आकाङ्क्षा लाद्ने काम भयो, जसका कारण विश्वभरि नै कन्युनिस्ट आन्दोलन रक्षात्मक हुन पुग्यो।
समयानुकूल परिवर्तन नगर्ने हो भने नेकपा (एमाले) जस्ताको तस्तै अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्दैन। घट्दो कार्यकर्ता पङ्क्तिको परम्परागत परिचालनले मात्र जनमानसमा बढेको निराशा चिर्न, पार्टीप्रतिको नकारात्मक भाष्यलाई बदल्न र राजनीतिको मूल धारमा प्रभावकारी रूपमा फर्कन असम्भव देखिन्छ। समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्धमा निरन्तर परिवर्तन भइरहेको छ। त्यसलाई ठम्याउनु र परिवर्तनमा मद्दत पुर्याउने सबै वर्गको सहयोग लिनु एमालेका निम्ति आजको आवश्यकता हो।
अर्कोतर्फ, कम्युनिस्ट पार्टीको परम्परागत नीति निजी सम्पत्ति र पूँजीको अन्त्य गरी त्यसको राष्ट्रियकरण (राज्यकरण) गर्ने हो। तर एमालेको हालको नीति त्यससँग मेल खादैन। पार्टीले राष्ट्रिय अर्थतन्त्रमा तीनखम्बे नीति (सार्वजनिक, निजी र सहकारी क्षेत्र) अङ्गीकार गरेको छ। यो नीतिले पनि परम्परागत कम्युनिस्ट पार्टीको नाम र चरित्रसँग तालमेल राख्दैन।
त्यसैले सिद्धान्त, कार्यक्रम र पार्टीको नामबीच तादात्म्यता ल्याउनु आवश्यक छ। पार्टीको नाम, केही वैचारिक सन्दर्भ र यसको चरित्रमा परिस्थितिजन्य परिवर्तन गर्नैपर्छ। कमरेड मदन भण्डारी भन्नुहुन्थ्यो- “हामीले छोड्न नहुने कुरा भनेको समाजको तल्लो तथा श्रमजीवी वर्गको उत्थानको एजेन्डा र समाजवाद हुँदै साम्यवादमा पुग्ने ध्येय मात्र हो। बाँकी चिजहरू आवरणमा लगाइने कपडा जस्तै हुन्, जसलाई समयअनुसार बदल्न सकिन्छ र बदल्दै जानुपर्छ। गन्तव्य र दृष्टिकोण भने बदल्नु हुँदैन।”
बदलिँदो विश्व परिवेश र भूराजनीतिक दाउपेचका कारण पार्टीमाथि आइरहने आन्तरिक तथा बाह्य प्रहारलाई रोक्न एउटा बलियो सुरक्षा कवचका रूपमा पनि ‘कम्युनिस्ट पार्टी’को नाम परिवर्तन गर्न आवश्यक देखिन्छ। जबजले मार्गदर्शन गरेका दीर्घकालीन तथा अल्पकालीन लक्ष्य, कार्यक्रम र कार्यदिशा (सार)लाई यथावत् राखेर नै अघि बढ्ने अवसरलाई नाम परिवर्तनले निषेध गर्दैन । मेरो अनुमान छ, यदि आज मदन भण्डारी जीवित हुनुहुन्थ्यो भने उहाँले पनि ‘सार कायम राखेर रूपमा परिवर्तन गर’ भन्नुहुन्थ्यो होला। आजको परिस्थितिमा त्यो भनेको पार्टीको नाम र मार्गदर्शक सिद्धान्तको व्यावहारिक परिमार्जन नै हो।
अब एमाले पछारिएको ठाउँबाट उठ्नुपर्छ र अघि बढ्नुपर्छ; तर पुरानो तरिकाले होइन, नयाँ ढङ्ग र नयाँ वैचारिक–सङ्गठनात्मक परिवर्तनका साथ। अब भ्रम, पूर्वाग्रह, पुराना ‘जार्गन’ प्रतिको मोह वा संशोधनवादी भनिएला कि भन्ने डर त्यागेर नयाँ चिन्तन, नयाँ मान्यता र नयाँ शब्दावलीहरूको प्रयोग गर्दै अघि बढ्नुपर्छ। पार्टीको नाम परिवर्तन भए पनि यो कम्युनिस्ट आन्दोलनकै निरन्तरता र क्रान्तिकारी कडी हो भन्ने बुझ्नुपर्छ। आज पनि हाम्रो देशमा २० प्रतिशत जनता निरपेक्ष गरिएको रेखामुनि बाँचिरहेका छन्। श्रमजीवी जनताको शिरमाथि शोषणको जाँतो घुमिरहेकै छ।
उत्पादनका साधन माथिको अन्यायपूर्ण स्वामित्व कायम छ। सम्पत्तिको असमान वितरणका कारण ‘हुने-खाने र हुँदा-खाने’ बीचको खाडल झनै फराकिलो बन्दै गएको छ | ‘राजाको काम, कहिले जाला घाम’ भन्ने सामन्ती मनोवृत्ति बोकेको राज्यको प्रशासनिक संयन्त्र ज्यूँ का त्यूँ छ। यसैको उपउत्पादनको रुपमा सेवा प्रवाह पट्यारलाग्दो र नागरिकमा निराशा उत्पादन गर्ने मुख्य केन्द्र बनेको छ। भ्रष्टाचारको फैलावट प्रशासनिक संयन्त्रमा मात्र सीमित रहेन, यो राजनीति र नीति निर्माणको मुख्य धमनीमै प्रभाव जमाइरहेको छ। बेरोजगारी अर्को मुख्य समस्या छ। यसको सहउत्पादनको रुपमा युवा पलायन भयावह छ। राष्ट्रिय अर्थतन्त्र तथा राज्यको निर्णायक तहमा दलाल नोकरशाही तथा बिचौलिया तत्त्वको हालीमुहाली कायम छ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूका राजनीतिक स्वार्थका कारण जटिलताहरु थपिएका छन् | यसले हाम्रो सार्वभौमिकता तथा भौगोलिक अखण्डतामाथि नै जोखिमहरू बढेका छन्। जातीय, क्षेत्रीय, लैङ्गिक, धार्मिक जस्ता सामाजिक विभेदको जरो उखेलिएका छैनन्। सामाजिक बेथिति र कुरीतीको अमानवीय जन्जिर तोडिएको छैन। राष्ट्रिय पुँजी निर्माण कमजोर अवस्थामा छ |
राष्ट्रिय अर्थतन्त्र तथा राज्यको निर्णायक तहमा दलाल नोकरशाही तथा बिचौलिया तत्त्वको हालीमुहाली कायम छ।
औद्योगिकरण अपेक्षित गतिमा छैन। यी चिजहरु देशको सामाजिक आर्थिक रुपान्तरण गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने हाम्रो उद्देश्यका निम्ति पर्खालको रुपमा उभिएका छन्। यिनलाई पन्छाउने दायित्वबाट हामी विमुख हुन सक्दैनौँ। साथसाथै उत्पादनका साधनहरू माथि सबैको समान पहुँच पुर्याउने, रोजगारीको अवसर सिर्जना गर्ने र उपयुक्त पारिश्रमिकको व्यवस्था गर्ने, राष्ट्रिय/स्वाधिन अर्थतन्त्रको विकास गर्ने, शिक्षा, स्वास्थ्य, आवास जस्ता आधारभूत विषयहरु आम नागरिकमा ग्यारेन्टी गर्ने, सेवा प्रवाहलाई प्रविधिको समेत प्रयोग मार्फत सर्वसुलभ र अत्याधुनिक बनाउने, सबै खाले विभेदको अन्त्य गर्दै न्यायपूर्ण सभ्य समाजको निर्माण गर्ने, समग्रमा लोक कल्याणकारी राज्यको स्थापना गर्ने | यी कार्यभारहरू पूरा गरेर मात्र हामी समाजवाद निर्माणको चरणमा प्रवेश गर्न सक्छौं | यी एमालेका निम्ति छोड्न नहुने कार्यभारहरु हुन्। यसले आफ्नो क्रान्तिकारी सार र धारलाई कायम राख्दै रूपमा मात्र परिवर्तन गर्नु पर्छ । अन्ततः ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउनु नै पार्टीको/आन्दोलनको मुख्य उद्देश्य र गन्तव्य हो।






























