महामारीले नेपाललाई प्रताडित बनायो, अन्तर्राष्ट्रिय सहयोग चाहियाे

महामारीले नेपाललाई प्रताडित बनायो, अन्तर्राष्ट्रिय सहयोग चाहियाे

केन्द्रबिन्दु
0
Shares

मैले यो लैख्दै गर्दा मेरो देश कोभिड–१९ महामारीको नयाँ एवं निर्मम लहरसँग जुध्दै छ। संक्रमितहरूको संख्या बढेसँगै हाम्रा साहसी डाक्टर, नर्स, नागरिक स्वयंसेवक र बिरामीको रेखदेखमा खटेका अरू मानिसलगायत सिंगो स्वास्थ्य व्यवस्थाअघि गम्भीर चुनौती खडा गरिदिएको छ।  

नेपालको इतिहास परिश्रम र संघर्षले निर्मित छ। तर, यस महामारीले हामीलाई समेत गलाउँदै छ। बढ्दो संक्रमित संख्याले स्वास्थ्य व्यवस्थामाथि दबाब सिर्जना गरिरहेको छ। यस्तो अवस्थामा बिरामीका लागि आवश्यक शैयाको व्यवस्था गर्न गाह्रो भइरहेको छ। 

संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ र, परीक्षण भएकामध्ये संक्रमण पुष्टि हुनेको संख्या पनि बढ्दो छ। विगत केही दिनदेखि दैनिक ८ हजारको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन्। करिब तीन करोड जनसंख्या रहेको देशका लागि यस किसिमको संक्रमण अत्यधिक नै हो। हाम्रोमा मृत्युदर कमै भए पनि यो लेख लेख्दै गर्दा महामारीका कारण ज्यान गुमाएका ३ हजार ७ सय २० जना हाम्रा लागि अमूल्य छन्। 

यो घातक महामारीबाट सर्वसाधारणलाई जोगाउन नेपाल सरकारले रोकथाम र उपचारका लागि सक्दो प्रयास गर्दै छ। भाइरस संक्रमणको चेन तोड्न सहरी क्षेत्रसहित देशभरका विभिन्न ठाउँमा स्पष्ट निषेधाज्ञा लागू भएका छन्। साथै, जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।

 अक्सिजन र आइसियुजस्ता आकस्मिक सेवा आवश्यक पर्ने मानिसलाई त्यस्तो सेवा प्रदान गर्न सक्दो प्रयास हामीले गरेका छौँ। परीक्षण, ट्रेसिङ र उपचार सेवालाई विस्तार गर्न आवश्यक कदम पनि चालेका छौँ। यथेष्ट स्रोत र पूर्वाधारको सीमितताले कारोना महामारीले विकराल  रूप लिँदै छ।

 तसर्थ खोप, परीक्षण मेसिन, अक्सिजन किटका साथै आकस्मिक सेवाका औषधी र मेसिन उपलब्ध गराई सक्दो जीवन जोगाउने हाम्रो प्रयासमा सहयोगी हात बढाउन मैले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छु। हाम्रो तत्कालको उद्देश्य भनेको रोक्न सकिने मृत्युहरूलाई रोक्ने रहेको छ। 

लामो समयदेखि विकास हुँदै आएको ऐतिहासिक सम्बन्धका आधारमा संयुक्त अधिराज्यको तर्फबाट यस संकटको घडीमा ऐक्यबद्धताको उच्च अपेक्ष राखेका छौँ। हामी भौगोलिक हिसाबले हजारौँ मिल दूरीमा रहेका राष्ट्रहरू हौं। तर, हाम्रो सम्बन्ध दह्रो र गहिरो छ। 

राष्ट्रहरूबीचको यस किसिमको सम्बन्धलाई जनस्तरमा रहेको असल सम्बन्धले झन प्रगाढ बनाएको छ। विश्व अहिले एकदमै जोडिएको अवस्थामा रहेकोले यस रोगले सबैलाई असर गर्ने देखिन्छ। सबैजना सुरक्षित नभई कोही पनि सुरक्षित नहुने अहिलेको अवस्थाले देखाउँछ। 

सम्पन्न र विपन्न राष्ट्रहरूबीचको खाडल यस महामारीले अझ प्रष्ट बनाइदिएको छ। खोपका साथै रोग पत्ता लगाउने र उपचार विधि सबैलाई समान रूपले उपलब्ध गराई यस खाडललाई पुर्नुपर्छ।

 भौगोलिक दक्षिणका अर्बौँ मासिलाई कारोनाको खोर्प  कहिले उपलब्ध हुन्छ भन्ने अत्तोपत्तो छैन। ती राष्ट्रहरूसँग पनि ऐक्यबद्धता अत्यावश्यक देखिन्छ।

जी सेभेनका अध्यक्ष र मानव कल्याणको हिमायतिका रूपमा अन्तर्राष्ट्रिय सहयोगको वातावरण संयुक्त अधिराज्यले सिर्जना गर्न सक्छ। संसारभर, विशेषतः आवश्यकता खड्किरहेका देशमा खोप उपलब्ध गराउन जी सेभेनलाई सक्रिय बनाउन बेलायतले आफ्नो शक्ति र सामथ्र्यको भरपूर प्रयोग गर्ने नेपालको अपेक्षा छ। 

कोप २६ को होस्टका रूपमा यस वर्षको उत्तरार्धमा महत्वाकांक्षी जलवायु सम्झौता ल्याउनेछ भन्ने आशा मेरो रहेको छ। जलवायु परिवर्तनमा शून्यसरह भूमिका भएको नेपालले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा सिर्जना हुने बाढीजस्ता समस्याका कारण असमानुपातिक सजाय भोग्नु परिरहेको छ। 

जलवायु परिवर्तन र हिमालबारे बहस चलाउन तय गरिएको सगरमाथा संवादका योजनालाई पछि धकेल्न महामारीले हामीलाई बाध्य बनाएको छ। 

हाम्रा शेर्पाहरू उच्च हिमालमा अप्ठेरोमा परेका पर्वतारोहीलाई अक्सिजन उपलब्ध गराउने मानिसहरूका रूपमा चिनिन्छन्। अहिले कोभिड–१९ ले हाम्रो देशको सास रोकिदिएको छ र हामी अन्तर्राष्ट्रिय समुदायका ‘शेर्पा’हरूको खोजीमा छौँ।

 संसारभरका हाम्रा मित्र राष्ट्रहरूसँग हामीले स्वास्थ्य सामग्री, जीवनप्रदायक औषधी र खोपहरू उपलब्ध गराउन हामीले अनुरोध गरेका छौँ। जलवायु परिवर्तन र यस महामारीबाट उम्कने एउटै बाटो छ, त्यो हो ऐक्यबद्धता। अनि, यसको एउटै तरिका भौगोलिक परिवारको रूपमा सँगै रहेर यी समस्यासँग जुध्नु हो।

(बेलायतको गार्जियनमा प्रकाशित प्रकाशित प्रधानमन्त्री ओलीको लेखको नेपाली अनुवाद) 
अनुवाद: कुशल बस्नेत  

 

Logo