खोपमा झेलः भारतबाट आउँदै आउँदैन, सरकार अरु देशसँग पहलै गर्दैन

खोपमा झेलः भारतबाट आउँदै आउँदैन, सरकार अरु देशसँग पहलै गर्दैन


ताहाचल निवासी शैलेन्द्र खत्री अचेल निकै तनावमा छन्। तनावको कारण उनी बिरामी भएर होइन। कोरोनाले पनि छोएको छैन उनलाई। 

व्यापारी खत्रीलाई आर्थिक समस्या पनि छैन। आखिर केही दिनदेखि उनी किन तनावमा छन् त? तनावको कारण हो–‘खोप’।

खत्रीले साथीसंगी र आफन्तलाई तारन्तार आग्रह गर्दै आएका छन्–लौन, खोप लगाउने केही उपाय छ कि! तर, कसैले पनि यसको समाधान दिएका छैनन् अहिलेसम्म। 

चिकित्सकको सहयोगमा कतै खोप लगाउन सकिन्छ कि भनेर पनि पहल गर्दैछन् उनी।  तर, यो पनि कठिन देखेपछि थप निरास बन्न बाध्य छन् उनी। शैलेन्द्रले यसअघि ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएका थिए। अब दोस्रो डोज लगाउने नपाइने भएपछि तनाव सुरु भएको छ।

खत्रीले केही दिनअघि संसद सचिवालयले लगाइदिने खोपमा पनि पहल गरे। तर,  खोप लगाउने सन्दर्भमा विवाद भएपछि उनले खोप पाएनन्। खत्री एक प्रतिनिधि पात्र मात्र हुन्। पहिलो डोज कोभिशिल्ड खोप लगाएका हजारौं व्यक्तिमा तनाव सुरु भएको छ ।

सरकारले भारतबाट खोप आउने आसमा पाका उमेरका वृद्ध समूहलाई खोप दिने अभियान सुरु गर्याे। तर, दोस्रो डोजको जोहो नगरिकन अभियान सुरु गरिदिँदा अहिले उनीहरु पनि खोपबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ।

भारत सरकारले उपहार दिएकोबाहेक २० लाख खोप खरिदका लागि सरकारले भारत सरकारलाई रकमसमेत पठाइसकेको छ। तर, खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरमले ‘कोभिशिल्ड’  खोप दिन नसक्ने जानकारी दिएपछि खोप नपाउने खबरले पहिलो डोज खोप लगाएका व्यक्ति निरास भएका हुन्।

भारत सरकार र खोप निर्माता कम्पनीले आगामी डिसेम्बरसम्म भारतमा उत्पादन भएको खोप निर्यात गर्न नसकिने जनाउ दिइसकेका छन्। अब नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले नपाउने पक्कापक्की भएको छ।

अहिले भारत आफैं महामारीको चरम पीडामा रहेको छ। हरेक दिन लाखौंको संख्यामा संक्रमित र हरेक दिन हजारको संख्यामा मृत्युको खबर आइरहेको छ।

जनता त्रसित छन्। भारतको स्वास्थ्य प्रणाली नै काम गर्न नसक्ने अवस्थामा पुगेको छ। भारतीय जनता र प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेसले ‘प्रधानमन्त्री नरेन्द्र मोदी हराएको’ सूचना जारी गरेको अवस्था छ।

तथ्यांक अनुसार भारतको जनसंख्यामा तीन प्रतिशतले मात्र कोरोनाविरुद्धको दुई डोज खोप लगाएका छन्। अहिले भारत आफैं बेलायत, अमेरिका, रुससँग ग्लोबल टेन्डर गरेर खोप आयात गर्ने अभियानमा लागेको छ। भारतमा खोपको अभाव भएको बेला उसले देला र खोप लगाऔंला भन्ने आशा राख्नु बेकार छ।

भारत सरकार र खोप निर्माता कम्पनीले आगामी डिसेम्बरसम्म भारतमा उत्पादन भएको खोप निर्यात गर्न नसकिने जनाउ दिइसकेका छन्। अब नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले नपाउने पक्कापक्की भएको छ।

सुरुमा भारतले नेपाल सरकारलाई १० लाख खोप अनुदानमा दिएको थियो। सरकारले भारत भरोसामा परेर २० लाख जिटुजी मार्फत खरिद गर्न लागेको हो। कोभ्याक्समार्फत्  पाउने ३ लाख ४८ हजार डोज खोप पनि भारतबाट ल्याउने तयारी भएको थियो।

भारतबाट कूल ३३ लाख ४८ हजार डोप खोप ल्याउनुपर्नेमा अहिले २० लाख खोप मात्र पाएको छ। सरकारले खरिद गरेको १० लाख डोज खोप ल्याउने काममा सेरमको नेपालप्रतिनिधि हुकुम कम्पनीको पहल नगर्दा किनेको खोप ल्याउन ढिलाइ भएको खबर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले घुमाउरो शैलीमा मिडियाबाजी गरेर आफू ओभानो देखिन खोजे।

अब कसैको दबाब र शक्ति लगाए पनि भारतबाट खोप नपाउने निश्चित भएको छ। बेलैमा  योजना र काम नगर्दा नेपालीहरुले कर तिरेको रकमबाट किनेको खोप पनि नपाउने निश्चित भयो। सरकार भारतसँग बढी आशा र भरोसा राख्दा चुकेको अवस्था हो। यसको दोष प्रधानमन्त्री एवं सरकार प्रमुख र मातहतका निकायबीचमा समन्वयको अभावले जनताले खोप लगाउनबाट वञ्चित भए।

अब ‘कोभिशिल्ड’को पहिलो डोज लगाएकाहरुले दोस्रो डोज लगाउन नपाउने निश्चित भएको छ।

यसैबीच, चीन सरकारले उपहारमा दिएको आठलाख ‘भेरोसेल’ खोपलाई दोस्रो डोज अभियान जेठ १५ गतेसम्म लगाउने सूचना अनुसार खोप अभियान जारी छ।

भेरोसेल पहिलो डोज लगाएकाहरुले दोस्रो डोज सहज र निकै सजिलो तरिकाले लगाउन पाएका छन्। चीनबाट आएको भेरोसेल करिव ४ लाख जनताले सहजै लगाउन सक्नेछन्।

नयाँ खोप किन आएन ?

अहिले जनताले गर्ने प्रश्न भनेको यही हो–सरकारले खोप खरिदका किन पहल गरेन? यस प्रश्नको उत्तर सरकारमा बस्नेहरुले दिन सकिरहेका छैनन्।

कोरोना महामारीको रामबाण भनेको कडा गरी लगाइने लकडाउन  र खोप नै हो भन्ने कुरा चीन, अमेरिकाले पाएको सफलताबाट पाठ सिक्नुपर्ने हो।

कोरोना महामारीको लागि पहिलो त लकडाउन गरेर रोग लागेकाको पहिचान गरी उपचार र खोप लगाउँदा मात्र नियन्त्रण गर्न सकिने विज्ञहरुको सुझावलाई हामीले सुन्दै सुनेनौं ।

हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका राजदूतलाई खोप सहयोग दिन गरेको अनुरोध आएको छ। त्यो अनुरोध अनुसार बेलायतले खोप दिने नदिने कुरा छैन तर सरकारले चीन र रुसबाट खोप खरिद गरेर ल्याउने काममा पटक्कै पहल गरेको देखिँदैन।

अहिले आएर खोप दिन खोज्ने चीन र रुससँग कुरा नगर्ने बेलायतसँग अनुरोध गर्नुलाई सरकारको बेइमानी हो।  

राजनीतिक खेलमा तल्लीन सरकारलाई जनताको स्वास्थ्यमाथि कुनै चासो नभएको अभास हुन थालेको छ।

खोप खरिदका लागि पहल गर्ने पहिलो निकाय स्वास्थ्य मन्त्रालय मौन छ। मन्त्रालय बिचौलिया व्यापारीको सल्लाह अनुसार निजीस्तरबाट खरिद गरेर ल्याउने बाटोको खोजीमा छ। 

तर, अहिले निजीस्तरबाट खोप खरिद गरेर ल्याउने अवस्था छैन । खोप बनाएका देशहरुले पनि निजी कम्पनीलाई खोप किनबेचको अधिकार नै दिएको छैनन्।  

खोप खरिदमा पहल नगर्ने अर्को निकाय हो –कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) । यो केन्द्रको काम केवल लकडाउन थप गर्ने सिफारिस मात्र गरेर बस्छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजक रहेको यो समितिले पनि खोप ल्याउने कुरामा सरकारलाई एकपटक पनि सिफारिस गरेको छैन। त्यही भएर सीसीएमसीलाई सरकारले विघटन गरेको छ।

प्रधानमन्त्री ओली देशमा खोपको आखिरी हाहाकार भइसकेको अवस्थामा पनि बेलायती राजदूतसँग पो खोप अनुदान दिनुस् न भनेर बिन्ती गर्न थालेका छन्।

देशमा कोरोना महामारी भयो सहयोग चाहियो भनेर बेलायतको पत्रिकामा लेख्ने प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतमा चीन, बेलायत, रुसका सरकारप्रमु्खसँग कुरा गरेर अनुदान वा खरिद जे जसरी पाइन्छ, खोप ल्याउने काममा पहल गरेको खबर किन हामीले सुन्न नपाएको? यो पनि जनताले अहिले गर्ने प्रश्न हो।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता र सरकारका अर्थमन्त्री विष्णु पौडेल खोप खरिदका लागि सरकारसँग पर्याप्त रकम रहेको जानकारी दिन्छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सामग्री दिने दाताहरुलाई धन्यवाद पत्रमा हस्ताक्षर गरेको खबरले निरास भएका छन् जनता।

भारतले खोप दिन नसक्ने भनेको पनि महिना दिनभन्दा बढी भइसक्यो। भारत भरोसामा रहेको सरकारले तत्कालै कूटनीतिक पहल गरी रुस, चीन, बेलायतबाट खोप ल्याउने कुरामा किन पहल गरेन ? यो अहँ प्रश्न हो।

स्वास्थ्य मन्त्रालय, सीसीएमसी,  अर्थमन्त्री, पराराष्ट्रमन्त्री र प्रधानमन्त्रीबीच समन्वयको अभावले गर्दा खोप आउन नसकेको जगजाहेर छ। यसमा बिचौलियाको ठूलो योगदान छ। यदि निजी स्तरबाट खोप ल्याउन पाउने र दिने भएको भए एक साताभित्र देशमा खोप आउने थियो।

जसरी चीनबाट निजी कम्पनीले अक्सिजन ल्याएको खबर आएको छ, त्यसैगरी खोप पनि ल्याउने थिए।

अहिले चीन, रुसले खोप निजी कम्पनीमार्फत् ल्याउन दिँदैनन्। सरकारको तर्फबाट जिटुजीमार्फत् नै खोप आयात गर्नुपर्ने हुन्छ।

खोप नआउनुको प्रमुख दोषी त प्रधानमन्त्री केपी शर्मा औली नै हुन्। उनले जनतालाई दिएको धोका र मानवीय अपराधबाट कहिल्यै उन्मुक्ति पाउँदैनन्। ओलीले कठोर निर्णय गरेर भए पनि अहिले खोप ल्याउनुपथ्र्यो। तर, उनले त्यसो गरेनन्।

चीनको केन्द्रीय सरकार, सिचुवान प्रान्तीय सरकार र तिब्बत सरकारबाट स्वास्थ्य सामग्री सहयोग दिएको दिएको छ।

यस्तो अवस्थामा प्रधानमन्त्रीस्तरबाट चीन र रुस सरकारसँग खोपका लागि पहल गर्ने हो भने केही दिनभित्र  चीन, रुसबाट खोप आउनसक्ने थियो। तर, प्रधानमन्त्री यस्तो बेला बेलायतसँग उपहारको खोप मागेर बसेका छन् ।

कोरोना महामारीको रामबाण भनेको कडा गरी लगाइने लकडाउन  र खोप नै हो भन्ने कुरा चीन, अमेरिकाले पाएको सफलताबाट पाठ सिक्नुपर्ने हो।

यदी चीनबाट खोप ल्याउन पहल भएको भए अहिले उपहार दिएकोबाहेक केही लाख थप खोप नेपालमा आउने थियो। खोप नआउनुमा सीसीएमसीले सिफारिस नगर्नु र स्वास्थ्य मन्त्रालयले चासो नैं नदिनु मुख्य कारण हो। रुसले पनि नेपाललाई खोप दिने तयारी गरेको थियो। तर, सरकारीस्तरबाट पहल नभएपछि त्यो पनि सेलाएको छ।

अहिले चीन, रुस, बेलायतले कुनै निजी एजेन्सीमार्फत् खोप दिने अवस्था छैन। सरकारले नै पहल गरेर जिटुजीमार्फत् खोप ल्याउनुपर्छ।

भारतमा उत्पादन भएको भन्दा यी देशमा उत्पादित खोपको मूल्य अलि बढी छ।  तर, यस्तो महामारीका बेला खोपको मूल्य हेरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने कामलाई कसरी माफी दिने भन्ने प्रश्न छ।

चीनबाट स्वास्थ्य सामग्री सहयोग पाएजस्तै अब चीनले थप खोप उपहार दिने अवस्था छैन। किनकी चीनले नेपालजस्तै अन्य देशलाई पनि उपहार दिनुपरेको छ। अहिलेको अवस्थामा सरकार प्रमुख–प्रमुखबीच वार्ता गर्दा केही खोप खरिद गर्ने सम्भावना थियो। यतातिर पनि नेपाल सरकारले पहल गरेको छैन।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बिचौलियाको सल्लाहमा चल्ने भएको भन्दै प्रतिपक्षले खारेजीको माग गरेको थियो।

स्वास्थ्य मन्त्रालयका जिम्मेवार पदाधिकारीलाई खोप खरिदमा के हुँदैछ भन्ने प्रश्न गर्दा रेडिमेड उत्तर आउँछ ‘मन्त्री, सचिवस्तरबाट पहल हुँदै होला’। यस्तो लाचार अवस्थामा रहेको मन्त्रालयको हविगत र सरकार प्रमुखले खोप खरिदका लागि पहल नगरेको देख्दा कोरोना महामारीमा जनताको मनोबल कमजोर हुँदै गएको छ।

राजनीति गर्ने जनताका लागि, भोट दिने जनता तर महामारीबाट जोगिनका लागि लगाउनुपर्ने खोपमा गैरजिम्मेवार सरकार र नेताहरुलाई जनताले के भन्दैछन्, नेतालाई जनताबाट चाहिएको के भोट मात्र हो?

सरकार भन्छ–दोस्रो डोजको खोप व्यवस्था नहुन सक्छ

दोस्रो डोजको खोप व्यवस्था नहुन सक्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति हो सरकारको। पहिलो डोज कोभिशिल्ड लगाएकाहरुले अब दोस्रो डोज पाउँदैनन् भन्ने स्वास्थ्य मन्त्रालयको भनाइले पुष्टि हुन्छ। यसको अर्थ अब दोस्रो डोज खोप लगाउन पाइँदैन।       

सरकारी तथ्याङ्कअनुसार हालसम २८ लाख ४० हजार डोज खोप लगाइएको छ। जसमध्ये सात लाख २८ हजारले मात्र दुवै डोज खोप लगाएका छन्। बाँकी २० लाख मानिसले दोस्रो डोज खोप लगाउने कहिले हो ?

विज्ञ अनुसारका पहिलो डोज खोप कोभिशिल्ड लागएको छ भने दोस्रो डोज पनि सोही कम्पनीको लगाउनुपर्ने हुन्छ।

भारत सरकारले अनुदान दिएको १० लाख, सिरमबाट खरिद गरेको १० लाख, चीन सरकारले अनुदान दिएको ८ लाख र कोभ्यासमार्फत् ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज खोप मात्र नेपालसँग छ।

नेपाल सरकराले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अहिले तत्काल नपाउने निश्चित भएको छ। सो खोपको रकम भुक्तानी भए पनि सिरमले पुस महिनाअघि दिन नसक्ने  जानकारी पठाइसकेको छ।

(करिब डेढ दशक स्वास्थ्य पत्रकारिता गरेका शर्मा अहिले स्वतन्त्र लेखन, प्राध्यापन र अनुसन्धान गर्छन्)

Logo