आज चैत २७, सहिद रत्न वान्तवाको ७० औं जन्मजयन्ती तथा ४३ औं स्मृति दिवस ! स्वर्णिम भविष्यको सपना देखिरहेको र त्यसप्रतिको श्रृजनशील लगाव, आलोचनात्मक चेत र अदम्य साहस बोकिरहेको जो कोही क्रान्तिकारी र देशभक्त युवाहरु, जसले महान् सहिद रत्न वान्तववा प्रति जानकार हुनु पर्दछ। त्यसो त विकराल राजनीतिक अवस्थासँगै धेरै मानिसहरुलाई सहिद रत्न वान्तवाले जनवादी क्रान्तिका लागि खेलेको भूमिका, बोकेको विचार र देखेको सपनाहरु आज अमुख पार्टी, नेता कार्यकर्ताहरुलाई मागी खाने भाँडो र जपिखाने मन्त्र सिवाय अरु केही भएको छैन ।
ठिक एक वर्ष अगाडि, सोही गते युवा संघ नेपालको पाँचथर जिल्ला युवा भेला सम्पन्न गरि इलामको बैठकतर्फ बिहान फर्कन लागेका थियौं। युवा संघ नेपालका अध्यक्ष कमरेड नरेश शाहीले इलाम सदरमुकाममा हुन लागेको बैठक सहिद रत्नको घरमा गर्न उपयुक्त हुने सुझाव दिए । मैले संघका केन्द्रीय उपाध्यक्ष कमरेड मुना शर्मा कमरेड भाईचुन लामा (इलाम इन्चार्ज) र कमरेड महेश तिवारी (जिल्ला अध्यक्ष) सँग सम्पर्क छलफल गरि चित्रेगाउँस्थित सहिद रत्नको घरमा बैठक गर्ने निधो गरियो र सोही बमोजिम सबै साथीहरुलाई सर्कुलर गर्यौं ।
यात्राका क्रममा रहेका कमरेड प्रत्युस राना र कमरेड भाइचुंग लामाले घरी सहिदहरुको बारेमा, घरी कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाको बारेमा धेरै कुरा कमरेड नरेश शाहीलाई सुनाई रहनुभएको थियो तर मेरो मन भने कता–कता बिचल्लित र बेचैन भइरहेको थियो। करिव सवा २ घण्टापछि फिदिम राँके रक्से हुँदै चित्रे गाउँस्तिथ सहिद रत्नको घरमा पुग्यौं। हामीभन्दा अगाडि नै एमाले इलामको पटक पटक नेतृत्व गरिसक्नु भएका पूर्वसांसद, कमरेड मणि लिम्बु पुगिसक्नु भएको थियो । हामीले अभिवादन गर्यौं। कमरेड नरेश र मणिबीच सहिद रत्नका बारेमा अनौपचारिक संवादहरु भए। इलामका विभिन्न ठाउँहरुबाट साथीहरु आउने क्रम जारी थियो । कमरेड मुना शर्मा, कमरेड निर्भिक खनाल, कमरेड रमेश बोखिम लगायत हामीहरु एकोहोरो सुनिरहेका थियौं। स्थानीय केही युवा साथीहरुसहित कमरेड महेश बान्तवा (सहिद रत्नका भाई) आईपुग्नुभयो । हामीले हार्दिक अभिवादन गर्यौं। कमरेड महेश बान्तवा सम्बन्धले कोपा (हजुर बा) पर्ने भएकाले म र कोपा कमरेडसँग धेरै वर्षपछिको भेटमा सम्बन्धलाई नविकरण गर्यौं।
कमरेड महेश बान्तवाले नेकपाभित्रको समस्या र पार्टी नेताहरुको कार्यशैली बारे दुःख प्रकट गर्दै सहिद रत्नको घर ढोकाको ताल्चा खोलीदिनु भयो । हामी घरभित्र प्रवेश गर्यौं, त्यसपछि रत्नले खनेको सुरुङ्गभित्र प्रवेश गर्यौं, सुरुङ्गभित्रको बैठक कक्ष हेर्यौं । हुन त सुरुङ्ग अवलोकन भने मेरो तेस्रो पटक हो । सुरुङ्ग असाधारण त छँदैछ। त्यो निरंकुश पञ्चायतकालिन समयमा रत्नको अद्भूत साहस र क्रान्तिकारिताको जति व्याख्या गरे पनि कम हुन्छ। फेरि कमरेड नरेश शाहीले कमरेड महेश बान्तवासँग संवाद गर्न थाल्नुभयो । हामीहरुले हाम्रा जिज्ञासाहरु राख्न थाल्यौं।
कमरेड महेश बान्तवाले नेकपाभित्रको समस्या र पार्टी नेताहरुको कार्यशैली बारे दुःख प्रकट गर्दै सहिद रत्नको घर ढोकाको ताल्चा खोलीदिनु भयो । हामी घरभित्र प्रवेश गर्यौं, त्यसपछि रत्नले खनेको सुरुङ्गभित्र प्रवेश गर्यौं, सुरुङ्गभित्रको बैठक कक्ष हेर्यौं ।
कमरेड महेश बान्तवाले सहिद रत्न चैत २७ गते जन्मनु भएको र २७ बर्षको उमेरमा चैत २७ गते नै क्रान्तिका लागि ज्यानको बलिदान गरेको कुरा भावुक हुँदै बताउनु भयो । सिंगो चित्रे गाउँले असाध्यै दुःख र पीडा पाएको भाकानिँदै भन्नु भयो । मेरो मन मस्तिस्कका क्यानभासमा दुम्सिका काँडाहरुले घोच्न थाल्यो -२७ बर्षे रत्न, त्यो चित्रे गाउँ, रत्नका सहयोद्दाहरु र परिवारका सदस्यहरुलाई निरंकुश पन्चायतीहरुले दिएको पीडा र बर्बर यातनाले थिलथिलो परेका ज्यानहरु……तर टल्की रहेको समानता र न्यायका ओजस्वी दीपहरु भने अवश्य बलिरहेका थिए तर त्यो चित्रे गाउँ अझै उजाड र पट्यार लाग्दो छ। व्यवस्था र अवस्था फेरियो तर सास फेर्न सकिएन भने जस्तै गैरकम्युनिष्टहरुको विजय र राज अझै चली रहेको छ।
कमरेड मणि लिम्बु र महेश बान्तवाले हाम्रा जिज्ञासाका उतरहरु दिइरहनु भएको थियो । इलामका विभिन्न ठाउँहरुबाट कमिटीका अधिकांश साथीहरु आइरहनु भएको थियो । सहिद रत्नको घर प्रांगढमा रहेको रत्न स्मृति प्रतिष्ठानको हलमा बैठक सुरु भयो । कमरेड नरेश शाही, क. मणि लिम्बु, क. मुना शर्मा र मैले नेकपाभित्रको संकटबारे चर्चा गर्दै, उपस्थित सम्पूर्ण साथीहरुले महान सहिद रत्न बान्तवाप्रति श्रद्धा सुमन अर्पण गर्यौं।
नेपालको सिंगो कम्युनिष्ट आन्दोलन दक्षिणपन्थ अवसरवादबाट ग्रसित थियो । नेकपा दुई टुक्रा (एमाले धारा र माओवादी धारा ) मा विभक्त भइसकेको थियो भने केपी ओली गुट एमालेलाई व्यवस्थित नगरेर नेकपा फुटको खरानीमा धुलो उडाइरहेको थियो । इलामे लाल युवाहरु क्रान्तिकारी भूमिका चलिरहेको बैठकमा घनिभूत छलफलमा थियो । दिनभरि चलिरहेको बैठकमा तत्कालिन पार्टी नेतृत्व केपी ओलीको दम्भी अहंकारी र स्वेच्छाचारिताका कारण सिंगो आन्दोलन संकटमा परेको, संविधानमाथि बलजफ्ती गरि दुई-दुई पटक संसद भंग गरेको साथै दुई तिहाइ नजिकको संसद भंग गर्ने कदम दक्षिणपन्थ अवसरवादले ग्रसित रहेको ठहर गर्दै महान सहिद रत्न बान्तवा, बम बान्तवा जस्ता सहिदहरुको घोर अपमान र सहिद परिवारहरुको चिरहरण भएका कारण क्रन्तिकारी पार्टी र संगठनले मात्र समाजवादी क्रान्ति सम्पन्न गर्न सक्दछ भन्ने निष्कर्षका साथ हामी सबैले शिर झुकाएर सम्मानका साथ सहिद रत्न बान्तवा र बम बान्तवाको सालिकमा माल्यार्पण गरि बैठक सम्पन्न भयो ।
सन्ध्याकालीन बादलका घुम्टोहरुले सहिद रत्नको सालिकलाई ढाकिरहेको थियो । हामी हाम्रा गन्तब्य तर्फ लग्न थाल्यौं । सहिद रत्नको घर र सुरुङ्ग पस्दा पक्कै पनि मानिसहरुलाई कुनै पावन मन्दिरमा पसे जस्तो अनुभव हुनेछ । कुनै शक्तिपिठको यात्रा गरे जस्तो हुनेछ । सहिद रत्न बान्तवा क्रान्तिकारीहरुका लागि प्रेरणापुन्ज हुन्। कमरेड रत्नले भत्काएका इतिहासलाई जोडेर एउटा नयाँ इतिहास कोर्ने जिम्मा वर्तमानले हामी युवाहरुलाई दिएको छ। फेरि पनि महान् सहिद रत्न बान्तवा प्रति भावपूर्ण श्रदाञ्जली ! हार्दिक श्रदा सुमन !! संग्रामी लालसलाम!
( लेखक: युवा संघ नेपालका उपमहसचिव तथा प्रवक्ता हुन् )
प्रतिक्रिया