काठमाडौं महानगरले संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै

काठमाडौं महानगरले संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि महानगरभित्र संक्रमण देखिएका र जोखिमयुक्त स्थानहरुमा निसंक्रमण (डिसइन्फेक्टेन्ट) गर्ने कार्यलाई तीव्रता दिने भएको छ ।

महानगरले टेकु, वीर अस्पताल, कालिमाटी फलफूल बजार लगायतका स्थानमा सुरुदेखि नै डिसइन्फेक्टेन्ट गर्दै आएको थियो । यसलाई निरन्तरता दिँदै कोरोना संक्रमण फैलिन नदिन भाइरस देखिएका ठाउँ, अस्पताल तथा सार्वजनिक क्षेत्र र अन्य जोखिमयुक्त स्थानहरुमा निसंक्रमणको कार्यलाई थप तीव्र बनाउने महानगरले बताएको छ ।

निसंक्रमणका लागि अहिले दैनिक १० वटा सवारी तथा उपकरण परिचालन गरिरहेको महानगरका अधिकारीहरुको भनाइ छ । ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि महानगरले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक पाँचवटा टोलीले सो सम्बन्धी जनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न पाँचवटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’

गर्मी मौसममा डेंगु लगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।

‘मुख्य गरेर कालिमाटी, बल्खु तरकारी बजार लगायतका बढी भीड हुने ठाउँ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले भने, ‘एकसरो काठमाडौं महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । यसबाहेक पनि वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’

निसंक्रमण गर्ने प्रचलित मापदण्ड बमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको उनले जानकारी दिए । ‘जनस्वास्थ्य सुरक्षाका लागि भाइरसको संक्रमण निस्तेज नहुञ्जेल यसलाई हामी जारी राख्छौं,’ उनले भने ।

Logo