‘इतिहासमै भारतसँग औंला ठड्याएर कुरा गर्ने प्रधानमन्त्री ओली नै हुन्’ : नेकपा सांसद घनश्याम खतिवडा (भिडियोसहित)

‘इतिहासमै भारतसँग औंला ठड्याएर कुरा गर्ने प्रधानमन्त्री ओली नै हुन्’ : नेकपा सांसद घनश्याम खतिवडा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सांसद घनश्याम खतिवडाले इतिहासमा नै भारतसँग औला ठड्याएर कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तर्वार्ता दिँदै सांसद खतिवडाले त्यस्तो बताएका हुन् । लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग समावेश गरेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकाले प्रधानमन्त्री ओलीले भारतसँग औला ठड्याउन सफल भएको उनको भनाइ छ । उनले भने–‘सरकारले गरेका एक दुई काममा आलोचना हुन सक्छ । तर सरकारका प्रयत्नहरु धेरै राम्रा छन् । राष्ट्रियताप्रति ओली नेतृत्वको सरकार सचेत छ । अहिलेसम्म भारतीय पक्षले हामीलाई डोमिनेट गर्दै आएको थियो । तर, इतिहासमै पहिलो पटक भारतसँग औँला ड्याएर कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् ।’ केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । जुन नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको ३ सय ३६ वर्ग किमी भूभाग समावेश गरिएको थियो ।

त्यस्तै सांसद खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जन्मजयन्तीको अवसरमा भगवान राम नेपालकै ठोरीमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु सही नै भएको बताएका छन् । भारतमा समेत अयोध्या विवाद सतहमा आउनु, ऐतिहासिक तथ्य र दस्तावेज ठोरी आसपासको क्षेत्रमा हुनुले रामको जन्म नेपालमा भएको होइन भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ । ‘रामको जन्मभूमि भारतीय अयोध्या नै हो भन्ने के प्रमाण छ ? ठोरीको अयोध्या पनि हुन सक्छ । जनकपुर र ठोरी नजिक नजिक छ । हाम्रा पौराणिक तथ्यमा पैदल जन्ती गएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले त्यसैमा आधारित भएर एउटा दृष्टान्त दिनुभयो । त्यो उहाँले मात्र दिनुभएको होइन । कतिपय धार्मिक कुरा पनि मिल्ने रहेछ’–सांंसद खतिवडाले भने–‘ठोरीमा राम जन्मिए भन्दा किन मान्छेहरुको टाउको दुखाइ ? अयोध्या मै जन्मिए भन्दिनु पर्ने ? नेपालको लुम्बिनीमा जन्मिएका भगवान गौतम बुद्धलाई कहिले काही भारतीय लेखकले बुद्ध जन्मिएको भूमि भारतमा छ भन्दा टाउको नदुख्ने ? पौराणिक तथ्य र प्रमाणका आधारमा रामनगर सीता भाँसिएर धर्ती फाटेको पौराणिक तथ्यहरुमा आधारित भएर रामको जन्मभूमि ठोरी हो भन्न नपाइने ?’

प्रधानमन्त्री ओलीले भानु जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भनेका थिए–‘हामी अलि कति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौँ भनेर ठानिरहेका छौँ । भारत हैन अध्योध्याकालाई दिएका हौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन ।’

सांसद खतिवडासँग गरिएको कुराकानीको पूरा अंशः

त्यस्तैगरी सांसद खतिवडाले नेकपाभित्र देखिएको विवाद बेमौसमी बाजा भएको बताएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच एकता गर्दा नै सहमतिका आधारमा महाधिवेशनसम्म दुई अध्यक्षले नेतृत्व गर्ने सहमति भएकाले अहिले नै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ भन्नु बेमौसमी बाजा हुने उनको भनाइ छ । पछिल्लो समय नेकपाभित्र देखिएको विवाद, सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न गरेको प्रयास र पार्टीभित्रको विवाद साम्य उपायमा केन्द्रीत रहेर केन्द्रबिन्दुका सरोज बस्यालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद घनश्याम खतिवडासँग कुराकानी गरेका छन् । हेराैँ उनै सांसद खतिवडासँग गरिएको कुराकानीको पूरा अंशः

 

Skip This
Skip This
Logo