काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले चिकित्सकहरुसँग अन्तर्क्रिया गरेको छ । महामारीको अवस्थामा पहिलो लाइनमा रहेर महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाका बारेमा नेपाल चिकित्सक संघसँग आज राधधानीमा रहेको संघको कार्यालयमा अन्तर्क्रिया गरेको हो ।
कार्यक्रममा चिकित्सक लगायत स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका बिकल्पमा केन्द्रित रही छलफल भएको थियो । उक्त छलफलमा सहभागीहरुले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नु पर्ने चिकित्सकहरुको मनोबल बढाई सेवा सुबिधा समेतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।
उक्त छलफलमा बोल्दै कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टी सहमहामन्त्री डा. प्रकाश शरण महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्न र सोहि अनुरुप सेवा सुबिधा समेत उपलब्ध गराउने बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
साथै डा. महतले सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री नै बेसार खाएर कोरोना सकिन्छ भन्ने जस्ता हल्का टिप्पणीमा लाग्नु दुःखद भएको र स्वास्थ्यकर्मी र बिज्ञहरुले पहिलेदेखि नै सजग गराएका बिषयहरु सरकारले गम्भिर रुपमा नलिएका कारण अहिलेको अवस्था आएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एनपी साउद, डा.प्रभु बुढाथोकी, डा.लक्ष्मी राज पाठक, राजीब बिक्रम शाह, नैनसिंह महर र नेपाल चिकित्सक संघका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।































प्रतिक्रिया