काठमाडौं ।
नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन गरी कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेको हो । समितिका संयोजक डा.प्रकाशशरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानविन गरी कारबाही गर्न माग गरिएको बताए ।
उनले क्वारेन्टाइन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा संक्रमण फैलिनेदर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्न माग गरिएको बताए । पीसीआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । निजी क्षेत्रलाई पनि पीसीआर किट आयात गर्न र परीक्षण गर्न दिन माग गरिएको महतले बताए । देशभित्र पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उत्पादन गर्न प्रोत्साहन गर्न र सम्भावित संक्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्न समेत कांग्रेसले माग गरेको छ । संयोजक महतले स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरुको बीमा गर्न समेत माग गरे । उनले पटक पटक कर्मचारीको सरुवा गर्ने प्रवृतिले पनि कोभिड १९ को उपचारमा समस्या आएकोले सरकारलाई गम्भिर हुन आग्रह गरे ।
सरकार जिम्मेवार नभएकाले कोभिड १९ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले मात्रै लिनु परेको महतले बताए । नेपाली कांग्रेसको नेतृत्व रहेका स्थानीय तहमा सरकारले आफ्ना कार्यकर्ता सम्मिलित उपभोक्ता समिति बनाई सिधै बजेट पठाएर काम गरेको पाइएको उनले बताए । कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउन सरकारले कुनै काम गर्न नसकेको निष्कर्ष पनि कांग्रेसले गरेको छ । आर्थिक संकटमा परेका कृषि, यातायात, पर्यटन, निर्माण, उद्योग, व्यापार व्यवसाय लगायतका साना तथा मझौला व्यवसायलाई सुचारु गरी रोजगारीका अवसरहरु कायम गर्न र राहतको प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको महतले बताए ।
स्वास्थ्य मन्त्रालयले महामारी व्यवस्थापनको नेतृत्व लिन नसकेको निष्कर्ष निस्किएको महतले बताए । समुदायमा गई ट्रेसिङ र ट्रयाकिङ गरी परिक्षणको दायरा बढाउनु पर्नेमा क्वारेन्टाइनमा रहेकाहरुलाई मात्रै परिक्षण सिमित गरेको पाइएको महतले बताए । बढ्दो आत्महत्या र मातृ मृत्युदर, घरेलु हिंसा तथा कोभिड १९ बाहेकका अन्य स्वास्थ्य सेवामा देखिएको समस्या समाधान गर्न समेत कांग्रेसले माग गरेको छ । नियमित खोप कार्यक्रमलाई निरन्तरता नदिंदा बाल मृत्युदर बढेको निष्कर्ष कांग्रेसको छ ।
विदेशबाट बेरोजगार भई फर्केका र देशभित्रै बेरोजगार भएकाहरुलाई गाउँगाउँमा रोजगारी सुनिश्चित गर्न र न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न पनि माग गरेको छ । कोभिड १९ बाट आहत भएका उद्योग व्यवसायहरुलाई बैंकहरु मार्फत ब्याजमा राहत, सावाँ ब्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतका उपायहरु अवलम्बन गर्न समेत माग गरेको छ । भौतिक दुरी कायम गरी सार्वजनिक यातायातलाई सञ्चालन गर्न यातायात व्यवसायीहरुसँगको छलफलको आधारमा आवश्यक सुरक्षा सामग्री, मास्क तथा राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।





























प्रतिक्रिया