डेढ महिनामा ओलीका तीन विवादास्पद बोली

डेढ महिनामा ओलीका तीन विवादास्पद बोली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान् रामको भूमि अयोध्या भारतमा नभई नेपालमै भएको अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भइरहेको छ । भारतसँगको सामाजिक र सांस्कृतिक सम्बन्ध जोड्ने एउटा बिषयमा प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएपछि अहिले नेपाल र भारतका सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादा र छिमेकी मुलुकसँगको सामाजिक सांस्कृतिक सम्बन्धलाई ख्याल नगरी अप्रमाणित कुरा बोलेको आरोप उनीमाथि लागेको छ । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएपछि भारतको भारतीय जनता पार्टीले विरोध गरेको छ । त्यस्तै त्यहाँका सञ्चार माध्यममा फेरि एकपटक ओली समाचारका हेडलाईन बनेका छन् ।

प्रधानमन्त्री ओलीले त्रेतायुगको राम सीताको विवाहको प्रसंगलाई जोड्दै अहिले भारतको उत्तरप्रदेशमा रहेको अयोध्याबाट विवाह गर्नका लागि राम जनकपुर आउनै नसक्ने दाबी गरेका थिए । यही नेपालको पर्सा नजिकको अयोध्यापुरी चाहिँ खासमा अयोध्या हो भन्ने ओलीको दाबी छ ।

रामायण कथामा उल्लेखित कुरामा प्रधानमन्त्री ओलीले आफ्नो तर्क अघि सारेपछि यसले एउटा अनावश्यक बहस भित्रिएको छ । जबकी कथामा उल्लेखित प्रसंगको प्रमाणिकता खोज्ने कुनै अवशेषहरु समेत छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको तर्फबाट आएको अभिव्यक्तिले विवाद मात्र सिर्जना गरेको छ ।

भारत र नेपालबीच सांस्कृतिक सम्बन्ध जोड्ने एउटा सेतुको रुपमा राम र सीता पनि थिए । त्यसैले हरक वर्ष विवाह पञ्चमीको अवसरमा जनकपुरमा भारतबाट जन्ती लिएर जनकपुर आउने चलन छ । दुई बर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अवसरमा सिधै जनकपुर आएका थिए । प्रधानमन्त्री ओलीले नै जनकपुर पुगेर मोदीको स्वागत गरेका थिए ।

त्यो बेलामा ओली र मोदीले सांस्कृति सम्बन्ध जोड्ने एउटा अवसरको रुपमा व्याख्या गरेका थिए । आफै त्यस्तै कार्यक्रममा सहभागी हुने र वर्षौदेखि चलिरहेको यो प्रचलन थाहा पाउँदा पाउँदै ओलीले सोमबार अप्रमाणित कुरालाई तथ्य झै जस्तो गरी बोले यसले प्रधानमन्त्री स्वयं विवादको घेरामा परेका छन् ।

प्रधानमन्त्री ओलीले प्रमाणित कुरा बोल्ने र त्यस्ता कुराले विवाद निम्तिने गरेका यो पहिलो पटक भने होइन । यसअघि पनि ओलीको बेलगाम बोलीले विवाद सिर्जना गर्ने गरेको छ ।

यसै महिनाको सुरुमा प्रधानमन्त्री ओलीले दिएको ‘सरकार ढाल्न भारतीयको चलखेल भएको छ’ भन्ने अभिव्यक्ति पनि त्यस्तै विवादमा  । प्रधानमन्त्रीको पदमा बसेर ओलीले आफ्नै सरकार ढाल्न भारतको भूमिका रहेको राजदूतहरु चलखेल गरिरहेको, होटलमा भेटघाट गरेको दावी गरे । तर, कहाँ कसरी चलखेल भयो त्यसको कुनै प्रमाणित तथ्य छैन । उनले नै पनि त्यो तथ्य सार्वजनिक गरेनन् । जसका कारण ओलीले पदमा बसेर यस्तो कुरा गर्न पदीय मर्यादा अनुकुल हुने कि नहुने भन्ने विवाद सिर्जना भयो ।

ओलीको यो अभिव्यक्तिको आधिकारिकता र प्रमाणिकताका लागि उनकै दल नेकपाका नेताहरुले चुनौति दिए । स्थायी समितिको बैठकमा भारतले कहाँ, कसरी हस्तक्षेप गर्यो भन्ने बिषयमा नेकपाकै नेताहरुले ओलीसँग जवाफ मागेका थिए । पार्टी भित्रैबाट खोजी हुँदा पनि ओलीले जवाफ दिन सकेनन् । यो अभिव्यक्तिका कारण सिर्जित विवाद मत्थर नहँुदै ओलीले अर्को अप्रमाणित बिषयमा फेरि विवादित अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री ओलीले यस्तै विवादित अभिव्यक्ति कोरोना भाइरसको औषधिको सम्बन्धमा पनि दिएका थिए । कोरोना भाइरसको औषधि पत्ता नलागेर विश्वभर महामारी फैलिरहेका बेला ओलीले ‘बेसार’ लाई त्यसको औषधिको रुपमा लामो व्याख्या गरे, त्यो पनि संसदभित्रै । ‘बेसार खाए कोराना लाग्दैन’ भन्ने खालको सन्देश ओलीको अभिव्यक्तिबाट गएपछि यस्तो अप्रमाणित कुरा बोलेको भन्दै आलोचना भइरहेको छ । अन्य रुघाखोकी जस्तै गरी ओलीले कोरोना भाइरसलाई लिनै बेसारको प्रसंग उठाउदै हिडेपछि उनीमाथि धेरै चिकित्सकहरुले प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले भारतबाट आएको कोरोना भाइरस चीनको भन्दा कडा भएको भन्दै टिप्पणी गरेका थिए । त्यस्तै प्रधानमन्त्रीले दिएको ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी’, ‘कोरोना बोसीय र फ्याटीय तत्व’ लगायतका अभिव्यक्ति पनि विवादित बने ।

प्रधानमन्त्री ओलीले जुनसुकै बिषयमा पनि बोल्छन् । यसरी बोल्ने क्रममा उनलाई आफूलाई लागेको कुरा सत्य असत्य जे हो त्यसलाई स्थापित गर्न खोज्छन् । तर्क कुतर्क गरेर जित्न खोज्छन् । तर उनको पदीय मर्यादाले त्यस्तो गर्न  सुहाउँदैन । जुन काम उनी पटक पटक गरिरहेका छन् ।

जस्तो अहिले राम भूमि अयोध्या, सरकार हटाउने भारतीय चलखेल लगायतका अभिव्यक्तिले उनीमाथि नै उल्टो प्रहार भइरहेको छ । राष्ट्रवादी विचार राख्ने र उनका निकट व्यक्तिहरुलाई त ओलीले गजब कुरा गरे भन्ने लाग्न सक्छ । तर प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्ने कुरा कुनै पनि सामाजिक सञ्जालमा अतिरिक्त टिप्पणी आउने खालको हुनु हुँदैन ।

प्रधानमन्त्रीले बोल्ने हरेक शब्दको अर्थ हुन्छ, त्यसको ख्याल गर्नुपर्छ । तर प्रधानमन्त्री ओली पदीय गरिमा बिर्सेर बोल्न थाल्दा आफै विवादमा परेका छन् । कुनै पनि बिषयमा उनलाई लागेको छ भने त्यसको राज्यबाट प्रमाण संकलन गरेर तथ्य बाहिर ल्याउन सक्छन् । जस्तो रामभूमि अयोध्याकै बिषयमा पनि उनले यस्तो गर्न सक्छन् ।

तर पहिले नै बिषयबस्तुलाई भाषणको रुपमा ल्याउने र त्यसले विवाद सिर्जना गर्ने कुरालाई ओलीले ध्यान पु¥याउनुपर्ने हो । तर, उनले यसको ख्याल गरेका छैनन् । यसले गर्दा उनी बोली पिच्छे विवादमा परिरहेका छन् ।

Logo